काठमाडौँ । नायक रवि कार्कीले आफ्नै कथा, पटकथा र संवादमा मेरो अदालत नामको नयाँ सिरिज निर्माण गर्ने भएका छन् ।
मेरो अदालतको पोस्टर सार्वजनिक गर्दै कार्कीले देशमा भइरहेका विभिन्न घटनाहरूसँग सम्बन्धित रहेर सिरिज अघि बढ्ने बताए । यो सिरिजमा केही सत्य घटना र केही काल्पनिक कथावस्तु रहनेछ । सिरिजले देशको अवस्था र पीडितलाई कसरी न्याय दिनुपर्छ भन्ने विषयवस्तु समेत उठान गर्ने लेखक कार्कीको भनाई छ ।
सिरिजको निर्देशन रामे कुमार राईले गर्दै छन् भने निर्माताका रूपमा सूर्य जिसी, पर्वत राई र सह निर्माताका रूपमा मालती कार्की रहेका छन् ।
रि एण्ड की फिल्मस्को ब्यानरमा निर्माण हुने मेरो अदालत सिरिजको पोस्टरमा एक युवाले हातमा लालटिन बोकेर न्याय खोजेको देखिन्छ ।
सिरिजका कलाकारहरू भने केही दिनमै अडिसन लिएर छनौट गरिने बताइएको छ । यो सिरिज राष्ट्रिय स्तरको टेलिभिजनबाट प्रसारण हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।