भकुण्डबेशीे (नमोबुद्ध)– शेयर बजारमा सर्वसाधारणको रुचि बढेसँगै सर्वसाधारणलाई यसबारे आवश्यक तालिम प्रदान गर्न थालिएको छ ।
सोही क्रममा शेयर बजारका लगानीकर्ताहरूका लागि सचेतना कार्यक्रम शनिवार भकुण्डेबेशीमा सम्पन्न भएको छ ।
भकुण्डेबेशी जेसीज, जनक एलुम्नाई एसोसिएसन भकुन्डे, भिजन सेक्युरिटिज प्रालि र पे–वाल नेपालको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल धितो पत्र बोर्डले गरेको थियो । पछिल्लो समय शेयर बजारमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि शेयर किनबेच प्रक्रिया, यसका फाइदा र बेफाइदा लगायतका विषयमा धेरै सर्वसाधारण अन्योलमा रहँदै आएका छन् । यसैलाई मध्यनजर गर्दै शेयर बजारबारे जानकारी लिन इच्छुक २ सय भन्दा बढी व्यक्तिको सहभागितामा सचेतना कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमको उद्घाटन नमोबुद्ध नगरपालिकाका नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले गरेका थिए । कार्यक्रममा तिमल्सिनाले सहरी क्षेत्रमा केन्द्रित शेयर बजारको अवधारणलाई ग्रामीण भेगसम्म ल्याउन पहल गरेकोमा आयोजकलाई धन्यवाद दिए । उनले विद्यालय स्तरदेखि नै नयाँ पुस्तालाई शेयर बजार र यसका फाइदा बेफाइदाका विषयमा ज्ञान दिनुपर्ने आवश्यकता औँल्याउँदै निकट भविष्यमै धितो पत्र बोर्ड लगायतका सम्बन्धित संघसंस्थासँग मिलेर विद्यालय स्तरमा कार्यक्रम आयोजना गर्ने बताए ।
कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले बचत बढाउन सकिएमा मात्रै लगानी बढाउन सकिने भन्दै पहिला बचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । लगानीकर्ताहरू सहर केन्द्रित बनेको र यसलाई ग्रामीण भेगसम्म पुर्‍याउनुपर्नेमा पौडेलले जोड दिए । ग्रामीण भेगसम्म इन्टरनेटको पहुँच पुगेमा शेयर बजारमा ग्रामीण क्षेत्रका बासिन्दाको पहुँच वृद्धि हुने पौडेलको भनाई थियो ।
जनक एलुम्नाई एसोसिएसनका अध्यक्ष रामहरि खनालको सभापतित्व तथा भकुण्डेबेसी जेसीजका पूर्व अध्यक्ष हरिहर अधिकारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पे–वेल नेपालका सञ्चालक भिमप्रसाद तिमल्सिना र आर्थिक विज्ञ विपी तिमल्सिनाले शेयर बजारका विषयमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा नेपाल धितो पत्र बोर्डका निर्देशक निरञ्जय घिमिरे र भिजन सेक्युरिटिज प्रालिका अध्यक्ष राजकुमार तिमल्सिनाले शेयर बजार, लगानी गर्दा अपनाउनुपर्ने प्रक्रिया, कानुनी प्रावधान तथा अपनाउनुपर्ने सचेतनाबारे प्रस्तुतीकरण दिएका थिए ।
भकुण्डेबेसी जेसीज वर्ष २०२१ का महासचिव श्रीहरि अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा बैङ्क तथा सहकारी कर्मी, जनप्रतिनिधि, स्थानीय विद्यालय तथा सङ्घसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।