बनेपा । काभ्रे जिल्लाको बनेपामा बागमती प्रदेश स्तरीय कराँते प्रतियोगिता हुने भएको छ । आयोजकले आज बनेपामा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको जानकारी दिएका छन् ।
प्रतियोगिताको आयोजना काभ्रे कराँते एकेडेमीले गरेको हो भने संयोजन नेपाल सितोरियो कराँते सङ्घ, काभ्रेले गरेको हो ।
ऐतिहासिक एवं सांस्कृतिक सहर बनेपा नगरपालिकालाई केन्द्र बनाई खेलकुद प्रेमी युवाहरूको सक्रियतामा प्रतियोगिता गर्न लागेको नेपाल सितोरियो कराँते सङ्घ, काभ्रेका अध्यक्ष प्रताप वैद्यले जानकारी दिए ।
काभ्रेमा आबद्ध रहेका प्रशिक्षक, खेलाडी र रेफ्रिहरुले स्थापना काल देखि नै कराँते खेल सम्बन्धी विभिन्न प्रतियोगिता, तालिम, गोष्ठीहरू सफलतापूर्वक सञ्चालन गरी कराँते खेलको माध्यमबाट युवाहरूलाई कुलत र दुर्व्यसनी बाट टाढा राखी सामाजिक उत्तरदायित्व बोध गराउने, नेतृत्व र व्यक्तित्व विकासमा अग्रसर राखी अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको नाम समेत राख्न प्रेरित गर्दै काभ्रे जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा रेफ्रिहरु उत्पादन गरी जिल्ला र राष्ट्रको नाम समेत राल सफल प्रशिक्षक, खेलाडी र रेफ्रिहरुले देशमा लोकतन्त्र, गणतन्त्र स्थापना पश्चात् यस कराँते खेल मार्फत समय अनुकूल अझ सबल, सक्षम खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको वैद्यले प्रस्ट पारे ।
प्रतियोगिता २०७७ साल चैत्र १ र २ गते हुने आयोजकले जानकारी दिएको छ । साथै प्रतियोगितामा विभिन्न व्यक्तित्वलाई सम्मान समेत गर्ने बताएको छ ।
प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका २ सय १० जना खेलाडीहरू सहभागी हुने अध्यक्ष वैद्यले जानकारी दिए । प्रत्येक जिल्लबाट १७ जना खेलाडी सम्मिलित हुनेछ । आयोजक एकेडेमीको समेत एक टिम गरी १४ वटा टिम हुने उनले जानकारी दिए ।
प्रतियोगिताको लागि काभ्रेबाट २ वटा टिम छनौट भइसकेको आयोजकले बताइएको छ ।

Comments

comments