काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काभ्रेले जिल्ला पार्टी कार्यालय स्थापना गरेको छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युताइदिएपछि बिहिवार माओवादी केन्द्रले पार्टी कार्यालय स्थापना गरेको हो।
सर्वोच्चले साविककै पार्टी कायम गरेपश्चात पार्टी कार्यालय विहिन बनेको माओवादी केन्द्रले जिल्लाको बनेपा ८ स्थित परिवार नियोजन चोकमा पार्टी कार्यालय स्थापना गरेको हो । पार्टी एकताअघि माओवादी केन्द्रको कार्यालय बनेपाको तीनदोबाटोमा रहेको थियो ।
माओवादी केन्द्र काभ्रेका नेता तथा कार्यकर्ताले पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को बोर्डसँगै झण्डा समेत राखेका छन् । पार्टी कार्यालय सञ्चालनमा आएसँगै अब नेकपा माओवादी केन्द्र, काभ्रेको नियमित काम कारबाही सोही कार्यालयबाट सुचारु हुने जनाइएको छ ।
पार्टी कार्यालय उद्घाटन गर्दै साविक माओवादी केन्द्रका जिल्ला संयोजक रुकु चौलागाईं (रचना) ले सर्वोच्च अदालतको निर्णय नेकपामाथिको कानुनी ‘कू’ भएको बताइन् । अनावश्यक निर्णय राजनीतिक पुर्वाग्रह र कम्युनिस्ट आन्दोलनलाई विघटनतिर लैजाने र जनताको इच्छा आकाक्षामाथि कुठाराघात गर्ने निर्णय भएको उनले टिप्पणी गरिन ।
त्यस्तै, माओवादी केन्द्र काभ्रेका कार्यालय सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ)ले पार्टी र पार्टीका जनवर्गीय संगठनहरुले कार्यालय स्थापना भएसँगै पहिलेकै नाममा पूर्ववत् रुपमै आफ्ना गतिविधी सुरु गरिसकेको बताए । सर्वोच्चको फैसलाले एमाले र माओवादी भनेर यकिन गरिदिँदै दुवै दललाई पूर्ववत् अवस्थामा पुर्‍याइदिएका कारण कानुनी रुपले माओवादी केन्द्रको नाममा फिर्ता भएको उनको भनाइ छ । त्यसैगरी अर्का कार्यालय सदस्य दैवलाल घिसिङ (अनुशील)ले केन्द्रले अब आफ्नो पहिलो कार्यालय सञ्चालन गरेर माओवादी संस्थागत रुपमा अगाडि बढेको बताए ।
कार्यालयमा पार्टीको बोर्ड राख्न संयोजक चौलागाईं, संविधानसभा सदस्य तेजबहादुर मिजार, कार्यालय सदस्य छिन्ताङ, अनुशील, ज्वाला लामा, कल्पना लामा, मिना तामाङ , होमबहादुर खुलाल, अविरल जिम्बा लगायतका नेता तथा कार्यकर्ताहरु पुगेका थिए ।
पार्टी एकताको समयमा बनेपा –५ स्थित भिमसेनमार्गमा रहेको साविक नेकपा एमालेको कार्यालयबाट नेकपाको नियमित काम कारबाही सञ्चालन गर्दै आएको थियो । तर अदालतको फैसला लगतै नेकपा एमालेका नेता तथा कार्यकर्ताले कार्यालयबाट नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बोर्ड राखेका थिए ।
व्यवहारिक र राजनैतिक रुपमा पार्टीमा विभाजन आएपछि दुवै समूहले आआफ्नै हिसाबले पार्टी कार्यालय प्रयोग गर्न थालेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।