चौंरीदेउराली । काभ्रे जिल्लाको चौंरीदेउरालीमा भएको पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ को शिल्ड वडा नं. ६ मा रहेको प्रभा माविले हात पार्न सफल भएको छ । चैत्र ११ गतेदेखि १४ गतेसम्म भएको प्रतियोगितामा प्रभा माविले स्वर्ण पदक ८, रजत पदक ३ र कांस्य पदक ४ गरी १५ पदक हात पार्न सफल भापछि राष्ट्रपति रनिङ शिल्ड आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
भलिबल प्रतियोगितामा प्रथम हुन सफल वडा नं. ३, बुद्ध हिमालय माविका छात्रा टिम
त्यसैसरि द्वितीय भने वडा नं. ३ मा रहेको बुद्ध हिमालय मावि भएको छ । उक्त विद्यालयले स्वर्ण पदक ५, रजत पदक ५ र कांस्य पदक ५ प्राप्त गर्न सफल भएको थियो । त्यस्तै तृतीय पुरस्कार सृजनाशील जनता माविले प्राप्त गरेको थियो । सो विद्यालयले ५ स्वर्ण, ३ रजत र १ कांस्य पदक हात पार्न सफल भएको थियो ।
समापन कार्यक्रमको उद्घाटन बागमती प्रदेश सभा सदस्य रत्न ढकालले गरेका थिए । विशेष अतिथि समेत रहेका गाउँपालिका अध्यक्ष दिननाथ गौतम र सांसद ढकाल भलिबलमा सहभागी भई ३ चरण सम्म खेलेर फाइनल भलिबल प्रतियोगिताको उद्घाटन भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद ढकालले चौंरीदेउरालीले हिजो भन्दा आज गरेको प्रगति निक्कै प्रशंसायोग्य रहेको बताए । भोलिका दिनको लागि आजको खेलले सबैलाई एउटा हौसला प्रदान गरेको बताउँदै ढकालले गाउँपालिकामा सबै विधामा आफ्नो विद्यालयलाई उत्कृष्ट बनाउन प्रयत्न गरेकोमा सबै विद्यालयलाई धन्यवाद समेत दिए ।
त्यसैसरि गाउँपालिका अध्यक्ष दिननाथ गौतमले सबै खेलमा उत्कृष्टता हासिल गरेका खेलाडी विद्यार्थीहरू र विद्यालयहरूलाई बधाई ज्ञापन गरे । गाउँपालिकाका विद्यार्थीहरूमा भएको प्रतिभा प्रतिस्पर्धाबाट प्रस्फुटन गर्न सफल भएकोमा अध्यक्ष गौतमले खुसी व्यक्त गरे । जिल्ला स्तरमा हुने प्रतियोगितामा अनिवार्य उपस्थितिको लागि समेत उनले अनुरोध गरे । ‘आज हामी यहाँ आफ्नो प्रतिभाहरू प्रस्तुत गरेका छौँ । हामी प्रतिस्पर्धामा पुगेका छौँ । जिल्ला स्तरीय प्रतियोगिता हुँदै छ ।’ अध्यक्ष गौतमले भने, ‘विजेताहरू जिल्लाको प्रतिस्पर्धी भएर त्यहाँ पनि श्रेष्ठता हासिल गरेर फर्किनु हुनेछ । अब चाँडै जिल्ला स्तरमा पनि प्रतिस्पर्धा हुँदै छ, आफ्ना विद्यार्थीहरूलाई अनिवार्य रूपमा सहभागी गराउनुहुन म अनुरोध गर्दछु ।’

कुन माविले कति पदक ?
प्रतियोगितामा सूर्योदय माविले रजत २, खाँडादेवी माविले स्वर्ण १, बुद्ध हिमालय माविले स्वर्ण ५, रजत ५ र कांस्य ५, सरस्वती माविले स्वर्ण २, रजत ३ र कांस्य ५, जागृति माविले स्वर्ण २, रजत ५ र कांस्य ७, अरनिको माविले रजत १, प्रभा माविले स्वर्ण ८, रजत ३ र कस्य ४, सृजनाशील जनता माविले स्वर्ण ५, रजत ३ र कांस्य १, देउराली माविले स्वर्ण १, रजत २ र कांस्य २ हात पार्न सफल भएको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ वटा खेल विधामा छात्र–छात्रा गरी २४ वटा टिमले भाग लिएको थियो । सो प्रतियोगितामा ३ सय १६ जना विद्यार्थीले भाग लिएका थिए ।

त्यसैगरि प्रतियोगितामा विद्यार्थी प्रतिभा पहिचान अन्तर्गत २३ वटा विद्यालयका ४६ जना विद्यार्थीले भाग लिएका थिए । सो क्रममा १५ वटा विद्यालयले नृत्य र १० वटा विद्यालयले गायनमा भाग लिएको थियो ।
प्रतियोगिताको उद्घाटन संघीय सांसद गङ्गाबहादुर तामाङ (बमध्वज)ले गरेका थिए ।
समापन कार्यक्रममा संविधान सभा सदस्य रेणुका चौंलागाईं, उपाध्यक्ष ताराकुमारी चौंलागाईं, प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडा अध्यक्ष विनोद घिसिङ, वडा नं. ७ का वडा अध्यक्ष बिरबल तामाङ, वडा नं. ८ का वडा अध्यक्ष धनबहादुर तामाङ, नेकपा एमालेका युवा नेता दीपक गौतम लगायतका सहभागी रहेका थिए ।

Comments

comments