धुलिखेल । काभ्रे जिल्लामा ‘काभ्रे जिल्ला लिग–२०७७’ आजबाट सुरु भएको छ । खेल जिल्ला फुटबल सङ्घ, काभ्रेको आयोजनामा धुलिखेल सामुदायिक खेलमैदानमा मङ्गलवार देखि सुरु भएको हो ।
प्रतियोगितामा जिल्ला भरिका १४ वटा क्लबले भाग लिएको जिल्ला फुटबल सङ्घ, काभ्रेका कोषाध्यक्ष प्रभात श्रेष्ठले जानकारी दिए ।
प्रतियोगिताको पहिलो चरणको खेल आजबाट सुरु भएको छ । आजको खेलमा ४ वटा क्लबबिच प्रतिस्पर्धा भएको थियो । सो क्रममा बनेपा फुटबल क्लब र ताङलिङ युवा क्लब रोशी बिच प्रतिस्पर्धा भएको थियो । सो खेलमा बनेपा फुटबल क्लबले ताङलिङ युवा क्लब, रोशीलाई ४ः१ गोलले विजय गरेको छ । दोस्रो खेल अन्तर्गत कुशादेवी युवा क्लब र बनेपा झिगु फुटबल क्लबबिच भएको प्रतिस्पर्धामा कुशादेवी युवा क्लब १ः० गोलले विजय हुन सफल भएको छ ।

पहिलो चरणको दोस्रो र तेस्रो खेल भेली (बुधवार) हुने जिल्ला फुटबल सङ्घ, काभ्रेका कोषाध्यक्ष श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा पहिलो र दोस्रो चरणमा गरेर १४ क्लबले भाग लिने श्रेष्ठ बताए ।
‘प्रतियोगितामा विजय भएका टिमले शिल्ड, मेटल, प्रमाणपत्र र नगद पुरस्कार पाउनेछ । जिल्ला फुटबल सङ्घ, काभ्रेले यो वर्ष देखि क्लबहरूलाई एक खेल जिते बापत म्याच मनी समेत व्यवस्था गरिएको छ ।’ जिल्ला फुटबल सङ्घ, काभ्रेका कोषाध्यक्ष श्रेष्ठले भने, ‘पहिलो र दोस्रो चरणको गरेर ३० वटा खेल हुने छ ।’
प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य रवीन्द्रनाथ श्रेष्ठले एक कार्यक्रमका बिच गरेका थिए ।