महाभारत । काभ्रे जिल्लाको महाभारत गाउँपालिकाको आयोजनामा भएको अन्तर पालिका स्तरीय प्रथम महाभारत अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताका प्रदेश सभा सदस्य सांसद रत्न ढकालले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् । वडा नं. १ गोकुलेमा भएको प्रतियोगिता सोमबार उद्घाटन भएको हो ।
२०७७ चैत्र ३० गतेदेखि २०७८ वैशाख १ गतेसम्म हुने उक्त प्रतियोगितामा विभिन्न पालिकाका गरी ८ वटा टिमबिच प्रतियोगिता हुँदै छ ।
वल सर्भिस गरेर प्रतियोगिताको उद्घाटन गर्नुहुँदै प्रदेश सभा सदस्य सांसद रत्न ढकाल
प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश सभा सदस्य ढकालले खेललाई अहिले तीनै तहका सरकारले प्राथमिकतामा राखेको बताउँदै त्यसै आधारमा महाभारत गाउँपालिकाले पनि प्राथमिकता दिएकोमा धन्यवाद प्रकट गरे ।
खेल अनुशासनसँग जोडेको विषय भएकोले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्नेमा जोड दिए ।
यसैबिच महाभारत गाउँपालिका आफ्नो सबैभन्दा बढी प्राथमिकतामा परेको बताउँदै विकास योजना पनि त्यहीँ अनुसार अगाडी बढाएको उनले दाबी गरे । ‘मेरो निर्वाचन क्षेत्र भित्रको पालिकाहरू मध्यमा महाभारत गाउँपालिकालाई पहिलो प्राथमिकतामा राखेका छु । त्यहीँ अनुसार विकास योजनाहरू यहाँ पहल गर्ने काम भएको छ ।’ सांसद ढकालले भने, ‘नयाँ सडक निर्माण कार्य जहाँ जहाँ आवश्यकता छ त्यहाँ खन्ने काम पनि भइरहेको छ । त्यसै गरी अब गाउँपालिकाको केन्द्र सम्मको सडक पिच हुँदैछ ।’

गाउँपालिका सरकार माथि काँग्रेसका केही नेताहरूले औँला ठटाउँदै गाउँपालिका अध्यक्षलाई धम्की आएको आफूले थाहा पाएको बताउँदै ढकालले काँग्रेस नेतालाई धम्की दिन छुट नभएको बताए । ‘गाउँपालिकाका अध्यक्ष माथि केही काँग्रेसका नेताहरू यहाँ आएर धम्की दिएर गएको मैले थाहा पाएँ । यहाँको विकास देखेर आत्तिएर प्रहार गर्न खोजेको सुनेको छु ।’ उनले भने, ‘धम्की दिन छुट उनीहरूलाई छैन । यहाँको प्रगति देखेर चित्त बुझ्दैन भने महाभारत गाउँ पालिकामा प्रवेश नगरे हुन्छ ।’
यसैबिच कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा संसारले आफूले युवाहरूलाई खेलकुद मार्फत राष्ट्र निर्माणमा जोड्न खोजेकोले प्रतियोगिताको आयोजना गरेको बताए । विकास निर्माण देखि खेलकुदसम्म जिल्लामै उत्कृष्ट गाउँपालिका बनाउन सबै जना हातेमालो गर्दै अघि बढ्न युवाहरूलाई उनले आव्हान समेत गरे ।

कार्यक्रममा १ नं. वडा अध्यक्ष कान्छामान जिम्बा, वाइसिएल जिल्ला इन्चार्ज अभिलास लामा, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, काभ्रेका वरिष्ठ उपाध्यक्ष पदमप्रसाद तिमल्सिना लगायतका सहभागी थिए ।
प्रतियोगितामा बनेपा नगरपालिका र पनौती नगरपालिकाबाट १/१ टिम, खनिखोला गाउँपालिकाको २ टिम, महाभारत गाउँपालिकाको ४ टिम सहभागी रहेको छ ।
प्रतियोगितामा पहिलो हुनेले १ लाख रुपैयाँ नगद पुरस्कार, प्रमाणपत्र शिल्ड, मेटल, ट्रफी, दोस्रो हुनेले ७० हजार रुपैयाँ नगद, प्रमाणपत्र शिल्ड, मेटल ट्रफी, तेस्रो हुनेले ४० हजार रुपैयाँ नगद, प्रमाणपत्र शिल्ड, मेटल, ट्रफी र सान्त्वना हुनेले २५ हजार प्रमाणपत्र, शिल्ड, मेटल ट्रफी पाउने छ । खेल भोलि बुधवार समापन हुने छ ।

Comments

comments