रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशी–६ सिपालीको हिमालय माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ । आइतबारदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले हामी शैक्षिक रूपमा अगाडि बढ्नुपर्ने बताउँदै शिक्षा हाम्रो आधारभूत माध्यम भएकोले जीवन उपयोगी सीपको विकास गराउन मदत गर्ने बताए । ‘साथै स्वस्थ शरीरका निम्ति खेलकुदको पनि उत्तिकै आवश्यकता पर्दछ । त्यस कारण विद्यालय स्तरदेखि अभ्यस्त भएर, अनुशासित भएर राष्ट्र र स्वास्थ्यको निम्ति महत्त्वपूर्ण पक्ष रहन्छ ।’
त्यसै गरी कार्यक्रमका सभाध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष डिबी लामाले प्रतियोगिता सौहार्दपूर्वक, उत्साहपूर्ण तरिकाले सम्पन्न भएको बताउँदै जित सबैको भएको र आगामी दिनमा जिल्ला स्तरीय राष्ट्रिय स्तरको प्रतियोगितामा अगाडि बढ्ने प्रतियोगीहरूलाई अनुरोध गरे ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको प्रमुख आतिथ्यता, जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी नायव उपरीक्षक हरि खतिवडाको विशिष्ट आतिथ्यताका साथै रोशी गाउँपालिकाको अध्यक्ष डिबी लामाको सभाध्यक्षतामा कटुन्जे स्थित रोशी माध्यमिक विद्यालयको प्राङ्गणमा प्रतियोगिता भएको थियो ।
प्रतियोगितामा ४ ओटा विधा अन्तर्गत १६ ओटा गोल्ड मेडल, १६ ओटा सिल्भर र १६ ओटा ब्राउन मेडल गरी जम्मा ४८ ओटा मेडलहरू प्रदान गरिएको शिक्षा शाखा प्रमुख राम तामाङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।