धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाको पनौती ४ मा मुख्य कार्यालय रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि., ले धुलिखेलमा सेवाकेन्द्र शुभारम्भ गरेको छ । काभ्रेपलाञ्चोक र काठमाडौ उपत्यकाका तिन जिल्ला (काठमाडौ, भक्तपुर र ललितपुर) गरि चार जिल्ला कार्यक्षेत्र रहेको र २९ हजार शेयर सदस्य आवद्ध रहेको सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को ११ औ सेवाकेन्द्र जिल्ला सदरमुकाम धुलिखेलमा समुद्घाटन गरि सदस्य सेवा सुरुवात गरेको छ ।
धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक कुमार ब्यञ्जुको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभाध्यक्षतामा सेवाकेन्द्र उद्घाटन भएको थियो । कार्यक्रमममा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवसराज खड्का, जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकका अध्यक्ष दिलिप शर्मा, काभ्रेपलाञ्चोक जिल्ला बचत संघका अध्यक्ष रामहरी के.सी., धुलिखेल न.पा. वडाध्यक्षहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना लगायतका उपस्थिति रहेका थियो ।
मुख्य कार्यालय पनौती ४, टौखालमा रहेको सामुदायिक सहकारीले २०५१ सालदेखि निरन्तर सहकारीका मूल्य, मान्यता र सिद्धान्तहरुलाई आत्मसाथ गर्दै समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर परिवर्तनका लागि सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराउँदै आईरहेको र सन् २०१२ देखि अन्र्तराष्ट्रिय स्तरको एक्सेस ब्राण्ड प्राप्त गर्न सफल संस्था हो । संस्थाले प्रदान गर्ने वित्तिय तथा गैर वित्तिय सेवाप्रति सदस्य र कार्यक्षेत्र भित्रका आम जनसमुदायको “सवल र सुरक्षित संस्था” भन्ने विस्वास तथा भरोषालाई उजागर गर्दे वित्तीय सक्षमता, सदस्यहरुको सन्तुष्टी, सुशासनको प्रत्याभुतीका साथ समुदायको आय र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने कार्यक्रमहरुका माध्यमबाट समुदायमा गरेको योगदानको कदरस्वरुप विभिन्न समयमा उत्कृष्ट सहकारीको रुपमा पुरस्कृत हुँदै आएको यस संस्थाले स्थानीय स्तरमा नै सहज र सरल रुपमा सदस्य सेवा प्रदान गर्ने लक्ष्यका साथ सेवाकेन्द्रहरु विस्तार गर्ने क्रममा धुलिखेलमा पनि सेवाकेन्द्र स्थापना गरि सुरुवात गरेको हो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष लामिछानेले नव वर्षको शुभकामना सहित स्वागत मन्तब्य राख्दै उपस्थित सवैमा स्वागत गर्नु भएको थियो भने संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले संस्था २७ औं वर्षमा चलिरहेको जानकारी गराउँदै स्थापना देखि बर्तमान सम्मको अवस्थाको चर्र्चा गर्दै सहकारी एकीकरण लगायत संस्थागत संरचना र संस्थाका बस्तु तथा सेवाको वारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नगर प्रमुख ब्याञ्जुले सेवाकेन्द्रको पूर्ण सफलताको कामना सहित तीन खम्वे अर्थनीतिमा सहकारीको भुमिका, छरिएर रहेका पूँजी एकीकृत गरि समाज र राष्ट्र निर्माणका लागि आवश्यक पूँजि निर्माणमा महत्वपूर्ण भुमिका निर्वाह गरिरहेको धारणा राखे । गाउँदेखि सहर र सहर देखि गाउँसम्म सहकारी अभियानलाई सफल रुपमा सञ्चालन गर्नुपर्ने, अब ग्रामिण सहकारीको अवधारणा अघि सार्नुपर्नेमा उनले जोड दिए ।
काभ्रे वार एसोसेसनका अध्यक्ष देवकुमार मोक्तानले सहकारी संस्थाहरु राष्ट्रिय अन्तर्राष्ट्रिय सिद्धान्त र सहकारी ऐनको पूर्णपालना गर्दे सामाजिक न्यायका साथ आर्थिक सामाजिक क्षेत्रमा कार्य गर्नुपर्ने बताए ।
संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेको कार्यक्रममा संस्थाका तर्फवाट संचालक सदस्यहरु जमुना सापकोटा, मुकुन्द प्रसाद अर्याल, कृष्ण थापा र लेखा सुपरिवेक्षण समिति सदस्य मिना श्रेष्ठ, विभागिय प्रमुखहरु, सेवाकेन्द्र प्रमुखहरु लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Comments

comments