‘एमालेका अध्यक्ष त टोकबादुर वाइबा हो भन्ने हामीलाई थाहा छ । अरू कस कसले विज्ञप्ति निकाल्छ थाहा छैन । अशोक व्याञ्जु नेकपा हुँदा स्वघोषणा गरेको अध्यक्ष हुन् भन्ने सुनेको हुँ ।’ -सांसद लम्साल
‘टोकबहादुरलाई कारबाही गरेर निकालेको थाहा छैन ? माधव नेपालको पो कारबाही फिर्ता लिएको त टोकबहादुरको छैन नि ।’ -ब्याञ्जु
काभ्रे । नेकपा (एमाले) काभ्रेको अधिवेशनबाट निर्वाचित उपाध्यक्ष तथा विघटित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष बनेका अशोक ब्याञ्जु आफू कुन पार्टीको अध्यक्ष हो भन्नेमा ‘कन्फ्युजन’ मा परेका छन् । शनिवार र व्याञ्जुले अध्यक्षको हैसियतमा हस्ताक्षर गरेर बागमती प्रदेश सभा सदस्य सांसद बसुन्धारा हुमागाईँलाई एउटा पत्र लेखेका छन् भने एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।
सांसद हुमागाईँलाई विघटित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नामबाट पत्र काटिएको छ भने प्रेस विज्ञप्ति नेकपा (एमाले)को नामबाट जारी गरेको छ । दुवै पार्टीको नामबाट छुट्टा छुट्टै ‘लेटर प्याड’ प्रयोग गरेर लेखिएको पत्र र प्रेस विज्ञप्ति बाहिरिएसँगै व्याञ्जुमा भएको यो ‘कन्फ्युजन’ पनि बाहिरिएको हो ।
ब्याञ्जुले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को लेटर प्याड प्रयोग गरेर आगामी जेठ ६ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेका बादललाई मत हाल्न सांसद हुमागाईँलाई निर्देशन दिएका छन् भने नेकपा एमालेको लेटर प्याड प्रयोग गरी जारी गरेको प्रेस विज्ञप्तिमा पनि प्रदेशदेखि स्थानीय तहसम्मका जनप्रतिनिधिहरूलाई सोही अनुसारको निर्देशन जारी गरेको छ ।
दुवै पत्र व्याञ्जुले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका थिए । पहिला सांसद हुमागाईँलाई लेखेको पत्र सार्वजनिक गरेका थिए भने त्यसपछि प्रेस विज्ञप्ति सार्वजनिक गरेका थिए । हुमागाईँलाई लेखेको पत्र भने केही बेरमै उनले डिलिट गरेका छन् ।
लेटर प्याड नेकपाको भए पनि भित्रको सामाग्रीमा भने पार्टीको नाम नेकपा एमाले नै उल्लेख छ । यस विषयमा तेमाल अनलाइनसँग प्रतिक्रिया दिँदै ब्याञ्जुले दुई वटा लेटर प्याड प्रयोग भएकोमा गल्ती स्विकार्दै आफूले सच्याएको बताएका छन् ।
सांसद हुमागाईँलाई लेखिएको पत्रमा भनिएको छः ‘नेकपा एमालेको आधिकारिक उम्मेदवार क. रामबहादुर थापा बादल बाहेक अन्य उम्मेदवार छैनन् । त्यस्तै कथित प्रचारबाजीको भ्रममा नपरी पार्टीका उम्मेदवार क. रामबहादुर थापा बादल लाई सूर्य चिन्हमा मतदान गरी विजय गराउन सूर्य चिन्हबाट निर्वाचित तपाई माननीय वसुन्धरा हुमागाईँ प्रदेश सभा सदस्यलाई निर्वाचनमा सक्रियतापूर्वक सहभागी भई मतदान गर्न नेकपा एमाले जिल्ला कमिटी काभ्रे हार्दिक अनुरोध गर्दछ ।’
ब्याञ्जुको निर्देशन मान्दैनौँ, उनलाई हामी चिन्दैनौँ
प्रेस विज्ञप्ति र पत्रको बारेमा बागमती प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्सालले यो कार्यलाई अराजक र पार्टी एकता विरोधी हरकत भनिएको छ । साथै लम्सालले टोकबादुर वाइबा बाहेक अरूलाई अध्यक्षको रूपमा आफूहरूले नचिनेको बताए ।
‘एमालेका अध्यक्ष त टोकबादुर वाइबा हो भन्ने हामीलाई थाहा छ । अरू कस कसले विज्ञप्ति निकाल्छ थाहा छैन । अशोक व्याञ्जु नेकपा हुँदा स्वघोषणा गरेको अध्यक्ष हुन् भन्ने सुनेको हुँ । उहाँ एमालेको अध्यक्ष हो भन्ने कुरा मलाई थाहा छैन ।’ लम्सालले भने, ‘यो पार्टी एकता विरोधी गतिविधि हो । केन्द्रमा पार्टी एक हुने भन्ने सन्देश गइरहेको बेलामा अरू जिल्लामा यसरी निर्देशन गरेको भन्ने सुनिएन । यहाँ चाहिँ गरेको पाएको छ । यो एकता विरोधी गतिविधि हो । यो भन्दा अराजकता के हुन सक्छ ?’
त्यसै गरी ब्याञ्जुको निर्देशन आफूहरूले नमान्ने लम्सालले प्रतिक्रिया दिए । ‘उहाँ एमालेको अध्यक्ष पनि होइनन् त्यही पनि प्रदेश सांसदलाई जिल्ला अध्यक्षले निर्देशन दिन मिल्दैन । प्रदेश कमिटीले दिने हो निर्देशन हामीलाई । अनधिकृत ढङ्गले नेकपा हुँदा एक गुटको स्वघोषित अध्यक्षको तर्फबाट निर्देशन जारी गरेको छ । यो अराजनीतिक कार्य हो ।’ उनले भने, ‘केन्द्रमा पार्टी मिलाउने भन्ने अनि तल चाहिँ एकता विरोधी हरकत ?’
टोकबहादुरको कारबाही फिर्ता लिएको छैन, त्यसैले मै हुँ अध्यक्ष
यसैबिच हालको लागि आफू नै एमाले काभ्रेको अध्यक्ष भएको व्याञ्जुले बताए । टोकबहादुर वाइबाको कारबाही फिर्ता नलिएको र केन्द्रदेखि जिल्लासम्मको निर्णयमा आफू नै अध्यक्ष रहेकोले आधिकारिक अध्यक्ष आफू नै भएको उनको तर्क छ ।
‘टोकबहादुरलाई कारबाही गरेर निकालेको थाहा छैन ? माधव नेपालको पो कारबाही फिर्ता लिएको त टोकबहादुरको छैन नि ।’ तेमाल अनलाइनसँगको कुराकानीमा ब्याञ्जुले भने, ‘प्रदेशको निर्णयमा पनि मै अध्यक्ष छ, केन्द्रको निर्णयमा पनि मै अध्यक्ष छ । जिल्लाको निर्णयमा पनि मलाई नै अध्यक्ष चयन गरेको निर्णय छ । केन्द्रमा सहमति भए, अर्कै विषय हो । हालको लागि चाहिँ विकल्प छैन ।’
त्यसै गरी नेकपा एमाले काभ्रेका नेता इन्द्र तामाङले पनि ब्याञ्जु नै आफ्नो पार्टीको आधिकारिक अध्यक्ष रहेको बताए । जिल्लामा समानान्तर कमिटी रहुन्जेल ब्याञ्जु नै अध्यक्ष रहने उनको तर्क छ । ‘समानान्तर कमिटी रहुन्जेल अशोक ब्याञ्जु नै हाम्रो पार्टीको आधिकारिक अध्यक्ष हुनुहुन्छ ।’ तामाङले भने, ‘त्यसैले उहाँले पार्टीको गतिविधि सञ्चालन नगरे कसले गर्ने त ?’
वाइबालाई अध्यक्ष मान्न सकिन्न
एमाले ओली पक्षका एक जिल्ला नेताहरूले भने वाइबालाई अध्यक्ष मान्न नसकिने बताए । पार्टी अनुशासन र सरकारको विरुद्ध गतिविधि गरेकोले वाइबालाई पार्टीले कारबाही गरेको र अशोक ब्याञ्जुलाई अध्यक्ष बनाएकोले वाइबालाई अध्यक्ष मान्नै नसकिने उनको तर्क छ । ‘पार्टी अनुशासन र सरकारको विरुद्ध गतिविधि गर्ने व्यक्तिलाई कसरी अध्यक्ष मान्ने ?’ उनले भने, ‘पार्टीले वाइबालाई कारबाही गरिसकेको छ । विधि सम्मत एमालेको आधिकारिक अध्यक्ष अशोक व्याञ्जु हो ।’
व्याञ्जुले अध्यक्षको हैसियतबाट निर्देशन जारी गर्न सकिने उनले जिकिर गरे ।
ब्याञ्जुद्वारा फरक दुई लेटरप्याड प्रयोग गरेर जारी गरेको पत्रः
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।

















