विघटित प्रतिनिधि सभा सदस्य गङ्गाबहादुर तामाङ (बमध्वज)ले आफूहरू सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सधैं रहेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्न संविधान मिचेर संसद् विघटन गरेको आरोप लगाउँदै सांसद बमध्वजले उक्त कुरा बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै बमध्वजले सङ्घीयता, समावेशी समानुपातिक, धर्मनिरपेक्षता, सामाजिक न्याय सहितको आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता समेत औल्यएका छन् ।

सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणका कारण निक्कै भयावह बनिरहेको बेला गरेको संसद् विघटन र निर्वाचनको घोषणा बेमौसमी कार्य रहेको सांसद बमध्वजले टिप्पणी समेत गरेका छन् ।

उनले लेखेकाछन्ः

सवाल प्रतिगामी र निरङ्कुशताको होइन । सवाल अग्रगामी र प्रगतिको हो । सवाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको हो । सवाल समावेशी समानुपातिकको हो, सवाल धर्म निरपेक्षताको हो, सवाल सामाजिक न्याय सहितको आर्थिक समृद्धि र उन्नति प्रगतिको कुरा हो ।

हामीलाई थाहा छ, सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको सङ्घर्ष, क्रान्ति, आन्दोलनको मैदानमा को थियो ? को थिएन भन्ने कुरा । हजारौँ नेपाली आमाका छोरा छोरीहरूले त्याग बलिदान दिएर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनि समाजवाद उन्मुख संविधान हजारौँ सपुतहरूको बलिदानबाट लखौँ नेपालीको दुःख कष्ट, त्याग तपस्या र पसिनाको मेहनतबाट उपलब्ध भए र गरे ।

आज त्यही उपलब्धिलाई कुपुतहरुले मास्न सुरु गरिसक्यो । गर्न बाँकी केही छ, त्यो पनि कोर्स पूरा गरेर सिध्याउन खोजिएको छ । यसलाई जोगाउने संरक्षणको दायित्व र जिम्मेवारी पनि फेरि जसको क्रान्ति, सङ्घर्ष, आन्दोलन बलिदानबाट प्राप्त भएको र गरेको थियो । त्यसैको काँधमा आएको छ । हामी बेलैमा होस खुलौँ, जस्तो सुकै परिस्थिति आए पनि कुपुतहरुको प्रतिगामी, स्वेच्छाचारी, निरङ्कुश चरित्र, सोज र शैलीको डटेर प्रतिरोध गरौँ । होइन भने देशलाई अधोगति तिर होइन अधोगति तिर लान खोज्दैछ ।

आज मुलुक भयावह स्थितिमा कोरोना महामारीमा रहेको अवस्था छ । जनताले हस्पिटलमा उपचार गर्न बेड पाइरहेको छैन, अक्सिजन सिलिन्डर पाएको छैन । औषधिमा कालोबजारी हुन्छ, धिक्कार छ सरकार, जनता कोरोनाको उपचार नपाएर दिन दुगुना रात चौगुनाका दर मृत्युबरण गरिरहेको यो अवस्थामा बेमौसममा चुनाव बेमौसममा संसद् विघटन ।

हे नालायक सरकार धिक्कार छ, धिक्कार छ कपुत, म भन्छु, एक चोटि मात्र होइन हजार चोटि भन्छु, सुन्ने गरी भन्छु नालायक सरकार –मुर्दावाद । कमिसन खोर सरकार–मुर्दावाद । कालो बजारीय सरकार मुर्दावाद । प्रतिगामी सरकार –मुर्दावाद । स्वेच्छाचारी सरकार मुर्दावाद । निरङ्कुश सरकार मुर्दावाद । असंवैधानिक सरकार मुर्दावाद ।। भ्रष्टाचारी सरकार मुर्दावाद ।

अनि भन्छु म एकचोटी मात्र होइन शरीरमा एक थोपा रगत र एकमुठि सास रहुन्जेलसम्म भनिरहन्छु, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल–जिन्दाबाद । सङ्घीयता –जिन्दाबाद । समावेशी समानुपातिक –जिन्दाबाद । धर्म निरपेक्षता जिन्दाबाद । महान् जनयुद्ध –जिन्दाबाद । महान् ऐतिहासिक जनआन्दोलन –जिन्दाबाद । वीर सहिद लाल सलाम । महान् सहिद अमर रहुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।