धुलिखेल । काभ्रे जिल्लाको धुलिखेल नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८।२०७९ मा आगामी आर्थिक वर्ष भित्र १ सय प्रतिशत खानेपानी उपलब्ध गराउने शहरका रुपमा धुलिखेललाई चिनाउने गरी बजेट ल्याएको छ । सोमबार नगरसभामा नगर प्रमुख अशोक व्याञ्जुले प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा उक्त कुराको घोषणा गरेका हुन् ।

आर्थिक वर्ष २०७८।७९ का लागि १ अर्ब १५ करोड १५ लाख रुपैयाको बजेट प्रस्तुत गरेको छ । बजेटले कोभिड महामारीको नियन्त्रण तथा ब्यवस्थापन र नागरिकहरुको उपचार, स्वरोजगार, आयआर्जन बृद्धी तथा गरिवी न्यूनिकरणलाई प्राथमिकता दिएको छ । कुल विनियोजन बजेट मध्ये चालू खर्च तर्फ ५७ करोड ४५ लाख ७४ हजार अथार्त ४९.९० प्रतिशत र पूँजिगत खर्च तर्फ ५७ करोड ५४ लाख २६ हजार अथार्त ४९.९७ प्रतिशत र वित्तीय ब्यवस्था तर्फ १५ लाख अथार्त ०.१३ प्रतिशत रकम विनियोजन भएको छ ।

‘आगामी आर्थिक वर्ष भित्र १ सय प्रतिशत खानेपानी उपलब्ध गराउने शहरका रुपमा धुलिखेललाई चिनाउने गरी बजेट विनियोजन भएको छ’–नगर प्रमुख ब्याञ्जुले भने, ‘५ हजार ५ सय ८५ घर धुरीमा खानेपानी सेवा उपलबध भई सकेको छ भने १ हजार १ सय ६७ घर धुरीमा निर्माण कार्य भईरहेको छ । बाँकी ३ सय घरधुरीका लागि आगामी आर्थिक वर्ष ३ करोड ६० लाख बजेट विनियोजन भएको छ ।’

हरेक नागरिकहरुको परिवारमा एक घर एक बैक खाता नीति अनुरुप बैक खाता खोल्न नगरपालिकाले प्राथमिकतामा राखेको छ । ‘धुलिखेल नगर, धुँवामुक्त शहर’ भन्ने कार्यक्रम मार्फत दाउरा बालेर खाना बनाउने घर परिवारमा दाउरा विस्थापन गरी बैकल्पिक उर्जा प्रवद्र्धन गर्न विद्युत्तिय चुलो वितरण गरिने बजेटमा उल्लेख छ ।

‘दाउरा प्रतिस्थापन गर्ने, विजुलीको मिटर जडान गर्न नसक्ने परिवारका हकमा मिटर खरिद गर्न नगरपालिकाले अनुदान उपलब्ध गराउने, रोजगार गर्न चाहनेहरुका लागि १२ महिना नै रोजगार दिने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम तथा मेयर गरिवी निवारण कार्यक्रम मार्फत रोजगारी उपलब्ध गराउने, सहस्राब्दी विकास लक्ष्य हासिल गर्न सबै नागरिकहरुको आर्थिक अवस्थाका बारेमा सर्भे गरी यकिन विवरण तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा २ शैया र २ वटा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने, स्वस्थ शहर अभियानलाई साकार बनाउन विभिन्न कार्यक्रम गर्ने छौं ।’ ब्याञ्जुले भने ‘कोभिडबाट थलिएका उद्यमी ब्यवसायीहरुलाई सहज हुने गरी करमा छुट तथा मिनाहा गर्ने, कृषि तथा पशुपालन क्षेत्रलाई सहुलियत प्रदान गर्ने, अपाङ्गता भएर परिचयपत्र मात्रै प्राप्त गर्ने ब्यक्तिहरुको निशुल्क स्वास्थ्य विमा गरिदिने र पेशा ब्यवसाय गरेको हकमा ब्याजमा अनुदान उपलब्ध गराउने, सरुवा रोग तथा डाईलोसिस अस्पतालको स्थापना गर्ने गरी बजेट विनियोजन भएको छ ।’

‘बजेटमा रोग विरुद्धको चेतना ब्यक्ति ब्यक्तिमा, रोगको उपचार बस्ति बस्तिमा’, कोरोना योद्धा पुरस्कार, स्वास्थ्य बीमा नगरको जिम्मा, पोषण स्वास्थ्यमा नगरको अग्रता, बालबालिका र महिलाको सहभागिता, निशुल्क एम्बुलेन्स सेवा, विपदमा नगरपालिकाको साथ, समुदायमा कोरोना नियन्त्रण कार्यक्रम, कोभिड १९ नियन्त्रण सहकार्य, पोषण विशेष कार्यक्रम, विशेषज्ञ घुम्ति सेवाहरु, कोरोना विरुद्धको खोप, मानसिक रोग तथा मानसिक परामर्श, स्वास्थ्यका लागि ब्यायाम, हाम्रो स्वास्थ्य हाम्रो सरोकार रेडियो कार्यक्रम, आयुर्वेद सेवा विस्तार, स्थानीय जडिबुटी तथा औषधीजन्य खाद्य पदार्थको प्रर्वद्धन गर्ने गरी बजेट विनियोजन भएको छ ।

कोभिडका कारण घरमै अध्ययन गर्नु पर्ने बालबालिकाहरुको बाध्यतालाई सहज बनाउने उदेश्यले रेडियो पाठशाला कार्यक्रम र सियुजी सिम मार्फत फोनईन कार्यक्रम संचालन गरी नियमित सिकाई सहजीकरण गर्ने, बहुकक्षा बहुस्तर शिक्षण पद्धती विस्तार गर्ने, शैक्षिक गुणस्तर सुधार कार्यक्रमलाई अझै सुधार गर्ने, यात्री शिक्षकको ब्यवस्था, विद्यार्थीसँग मेयर कार्यक्रमको निरन्तरता, स्नातक तहसम्मको शिक्षालाई नगरका नागरिकहरुलाई पूर्ण रुपमा निशुल्क र अन्य जिल्लाका नागरिकहरुका लागि ५० प्रतिशत शुल्क मिनाहाको ब्यवस्था गर्ने गरी बजेट विनियोजन गरेको नगर प्रमुख ब्याञ्जुले बताए ।

शैक्षिक क्षेत्रका कार्यक्रमहरु कार्यान्वयनका लागि १ करोड ५ लाख रकम विनियोजन भएको छ । नगरमा बसोबास गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुका लागि १ लाख बराबरको दुर्घटना बीमा गर्ने, युवाहरुलाई आत्मनिर्भर, स्वावलम्वी र चरित्रवान बनाउन स्वयसेवी संस्कृतिको विकास र श्रमको सम्मान जस्ता कृयाकलापलाई अघि बढाउन बजेट विनियोजन गरिएको छ ।

महिलासँग उपमेयर कार्यक्रम, उपमेयर सुत्केरी तथा गर्भवति पोषण कार्यक्रमको निरन्तरता, टुहुरा संरक्षण कार्यक्रम, अभिभावक शिक्षा कार्यक्रम, अग्रजको अनुभव विकासको जग अवधारणा, ब्यक्तिगत घटना दर्ता सम्वन्धमा देशकै नमूना सिकाई तथा ब्यवस्थापकिय केन्द्रको रुपमा विकास, धुलिखेलको आवाजः छुवाछुतमुक्त समाज अभियान शुरु गरिएको छ । सामाजिक क्षेत्रका कार्यक्रमहरुका लागि १ करोड ८० लाख रकम विनियोजन भएको छ । सडक पूर्वाधारका लागि १५ करोड रकम विनियोजन भएको छ ।

धुलिखेल चक्रपथ रेखांकन, अपाङ्गमैत्री ट्रेल निर्माण, माउन्टेन स्पोट्स ट्रेनिङ्ग सेन्टर निर्माण, विना धितो कृषि ऋणका लागि समन्वय गर्ने, १० वर्ष देखि बाँझो रहेका जमिनमा खेति प्रारम्भ गर्ने कृषकलाई सम्पती करमा छुट, नगरलाई दुधमा आत्मनिर्भर बनाउन ब्यवसाय प्रर्वद्धन कार्यक्रम, कृषिमा आधुनिकिरण र ब्यवसायीकरणका लागि कृषक लाभान्वित हुने कार्यक्रम बजेटमा समेटिएको छ ।

१ हजार भन्दा धेरै ब्यक्तिलाई सीप र उद्यमशिलता प्रदान गरी स्वरोजगार सिर्जना गरी गरिवी न्यूनिकरण गर्ने, पार्कहरुको निर्माण र निर्माण भईरहेका पार्कहरुको निर्माण कार्य सम्पन्न गरी पर्यटकिय पूर्वाधार निर्माण कार्यमा जोड दिने, धुलिखेल मनोरञ्जन पार्कमा जू निर्माण गर्ने, हरेक वडामा खेलमैदान, पोखरी, नर्सरी र बाल उद्यानको अवधारणालाई निरन्तरता दिने, बालमैत्री नगर घोषणा भईसके पछिको अवस्थालाई अझै ध्यान दिने, अनलाईन मार्फत सबै वडाबाट राजश्व बुझाउन सक्ने गरी प्रविधिको विकासलाई सबै वडामा पु¥याउने, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्वन्ध विस्तार गर्ने लगायतका कार्यक्रम बजेटमा समेटिएको छ ।

यसैबीच नगर सभामा उपप्रमुख विमला कुमारी शर्मा चौलागाईले आर्थिक वर्ष २०७७।२०७८ को स्थिति समिक्षा प्रस्तुत गर्दै चालु वर्षमा भएका विकास निर्माण तथा कोभिड नियन्त्रणमा नगरपालिकाले गरेका गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।

त्यस्तै नगरपालिकाको आगामी आर्थिक वर्षको आर्थिक विधेयक तथा विनियोजन विधेयक प्रस्तुत गरेका थिए । बजेटले समग्र क्षेत्रमा नागरिकहरुको अभिभावक नगरपालिका भएको महसुस हुने गरी समेटिएको प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।