अध्यक्षा दलबहादुर माेक्तन (डिबी) द्वारा प्रस्तुत राेशी गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम

 सभाका आदरणीय सदस्यज्यूहरु तथा अतिथि महानुभावहरु, अहिले हामी कोभिड-१९ को भयानक महामारीको सामना गरिरहेका छौँ । यो काम जटिल र चुनौतिपूर्ण भएतापनि यसलाई व्यवस्थापन गर्दै अगाडि बढ्नुको विकल्प हामीसँग छैन । संविधान प्रदत्त हक अधिकार सहित गठित यस गाउँपालिकाको जननिर्वाचित अध्यक्षको हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष ०७७।०७८ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न उभिएको छु । यस गौरवपूर्ण अवसरमा सर्वप्रथम नेपाली नागरिकहरुको सम्मान, स्वतन्त्रता तथा अमनचैन जस्ता नागरिक तथा राजनीतिक अधिकार प्राप्तिका लागि विभिन्न कालखण्डमा आफ्नो प्राण आहुति गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहीदहरु प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै घाइते र वेपत्ता नागरिकप्रति सम्मान प्रकट गर्दछु । हाल विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ बाट मृत्यु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उपचाररत संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

कोडिभ १९ को संक्रमण न्यूनीकरणमा अग्रपङ्तीमा अहोरात्र खटिनु भएका स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालकहरु, सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु, राजनैतिक दलहरु, जनप्रतिनिधिहरु, कर्मचारीहरु, संघसंस्थाहरु, नागरिक समाजका अगुवाइ गर्ने महानुभावहरु सवैमा हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दै राजनैतिक सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने सबै अग्रजहरुप्रति आदरभाव प्रकट गर्दछु । हामी निर्वाचित भएर यस गाउँपालिकाको विकास र समृद्धिमा लागेको तीन वर्ष वितिसकेको छ । यो तीन वर्षको अनुभव तथा भोगाइको क्रममा विकास र समृद्धिको लागि हामीसँग प्रशस्त अवसरहरु भएपनि विविध समस्या तथा चुनौतीहरु पनि त्यतिकै रहेको हामीले अनुभव गरेका छौं । हामीसँग उपलब्ध सीमित साधन र श्रोतका बावजुद पनि यस क्षेत्रको विकास कसरी गर्न सकिन्छ भन्ने तर्फ हाम्रो सम्पूर्ण रोशी परिवार चिन्तित थियौं, छ र हुने नै छ।

 संघीय लोकतान्त्रिक गणतन्त्रसँगै बढेका जनताका आकांक्षा, चाहना र भावनालाई सम्वोधन गर्ने दृढ संकल्पका साथ आ.व. ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम यस सम्मानित सभा मार्फत समग्र रोशी गाउँपालिकाका नागरिकहरु समक्ष राख्न पाउँदा म आफूलाई गौरवान्दित भएको महशुस गरेको छु । यस अवसरमा हाम्रो कदमलाई सहयोग गर्नुहुने सम्पूर्ण गाउँपालिका बासीहरु, निर्वाचित जनप्रतिनिधिहरु, विभिन्न सरकारी तथा गैर सरकारी निकायहरु, राजनैतिक दलका साथीहरु, नागरिक समाजका अभियन्ताहरु, अहोरात्र खटिने कर्मचारीहरु, शिक्षक, पत्रकार, बुद्धिजीवी तथा समाजसेवीहरु प्रति आभार व्यक्त गर्दछु ।

नेपालको मध्यक्षेत्रमा अवस्थित काभ्रेपलाञ्चोक जिल्लाको यस रोशी गाउँपालिका प्राकृतिक श्रोत, कृषि र पर्यटनमा प्रचुर सम्भवना बोकेको गाउँपालिका हो । संघीय राजधानीको प्रवेशद्धारको रुपमा रहेको वि.पि. लोकमार्गसगै अविरल बग्ने धार्मिक महत्वको रोशी खोला संरक्षण गर्दै साँस्कृतिक डम्फू जीवन्त सङ्ग्रहालय निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । राजधानी नजिक भएको तथा बि.पी राजमार्गमा हुने आवागमनले विभिन्न संक्रामक रोगहरु भित्रिने समेत चुनौती रहेको छ । बेसी देखि पहाड सम्मको सबै प्रकारको प्राकृतिक विविधता बोकेको यस क्षेत्रमा कृषि र पर्यटनलाई नमुनाको रुपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई भित्र्याइ गाउँपालिकाको आर्थिक, सामाजिक तथा पूर्वाधार विकासमा उल्लेखनीय योगदान हुने सम्भावना रहेको हुँदा समग्र गाउँपालिकाको आवधिक विकास योजना बनाई आगामी दिनमा अगाडि बढाइनेछ।

गाउँ सभाका सदस्य तथा अतिथि महानुभावहरु, अब, म यस गाउँपालिकाको आगामी आ.व. २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गइरहेको छु ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व यस गाउँपालिकाको दीर्घकालीन सोच, लक्ष्य र उद्देश्यको बारेमा संक्षिप्त विवरण प्रस्तुत गर्दछु ।

सोच
सुशिक्षित नागरिक, स्वच्छ वातावरण, समृद्ध रोशी, भ्रष्टाचार मुक्त समाज।

लक्ष्य

रोशी गाउँपालिकाका प्रत्येक नागरिकको जीवनस्तरमा सकरात्मक परिवर्तन ल्याउने।

उदेश्य

१. रोशी गाउँपालिकाका सबै नागरिकको घरदैलोमा विकासका पूर्वाधारको सहज पहुँच पुर्याउने ।

२. आधुनिक र व्यावसायिक कृषि प्रणाली तथा उद्योग तथा पर्या पर्यटन मार्फत उद्यमशिलता र रोजगारीको अवसर सिर्जना गरी जनताको आयस्तरमा वृद्धि गर्ने ।

३. संक्रामक लगायत सबै प्रकारका रोग र विपदबाट नागरिकको जीवन रक्षा गर्दै जनजीवनलाई सहज र सुरक्षित बनाउने ।

४. शिक्षामा सबै बालबालिकाको समान पहुँच र गुणस्तरीय शिक्षाको सुनिश्चित गर्ने ।

५ रोशी गाउँपालिकामा जोखिममा रहेका वर्ग र सामाजिक विभेद र उत्पिडनमा परेका नागरिकहरुको दूर्व्यवहार, भेदभाव र  हिंसाको अन्त्यसँगै समतामूलक विकास मार्फत सम्मानपूर्वक जीवन जिउन पाउने वातावरण निर्माण गर्ने ।

६. गुणस्तरीय स्वास्थ्य सेवा तथा सुरक्षित खानेपानी र सरसफाईमा नागरिकको सहज पहुँच पुर्याउने।

७ वन तथा भू संरक्षण एवं फोहोरमैलाको उचित व्यवस्थापन गरी रोशी जलाधारको संरक्षण गर्दै प्रकोप जोखिम न्यूनीकरण  तथा विपद् व्यवस्थापनमा उत्थानशिल र स्वच्छ वातावरणयुक्त समुदाय निर्माण गर्ने ।

८. गाउँपालिकाद्धारा प्रवाह हुने सेवा तथा राजश्व संकलनमा पारदर्शिता, जवाफदेहीता र नागरिकमा सन्तुष्टी कायम गर्ने । ९. स्थानीय श्रोत साधनहरुको परिचालन गरी स्थानीय स्तरमा रोजगारी सृजना गर्ने ।

अब म गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७/७८ को विषय क्षेत्रगत वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछु।

विषय क्षेत्रगत नीतिहरुः पूर्वाधार विकास (सडक, सिंचाई, उर्जा, संचार)

१. रोशी गाउँपालिकाको भवन निर्माण गर्ने कार्य आगामी आर्थिक वर्षमा नै प्रारम्भ गर्ने गरी तयारी गरिनेछ।

२. गाउँपालिका सवै वडाहरु र थप तीन वटा स्वास्थ्य चौकी तथा इकाइ निर्माण एवम् स्थापना कार्य सम्पन्न गरी आफ्नै स्वामित्वमा रहेको आसिसि भवनमा आगामी आर्थिक बर्षको मध्यावधिभित्र नै कार्यालय सार्ने गरी प्रबन्ध गरिनेछ।

३. केन्द्र तथा प्रदेश सरकारसँगको समपूरक एवम् विशेष अनुदाको साझेदारीमा कम्तीमा ६ वठा ठूला आयोजनाहरु सञ्चालन गर्ने जसले गर्दा गाउँपालिकाभित्र देखिने गरी काम हुने र छरिएका र टुक्रे आयोजनाहरुको संख्या न्यूनीकरण भइ आयोजनाको रकमको आकार सानो बनाउने मानसिकताबाट मुक्त हुने अपेक्षा समेत गरिएको छ।

४ स्थानीय सडकहरुको निर्माण तथा उपयोग गर्दा वातावरणीय सन्तुलनलाई ध्यान दिई खास गरी पानीको मुहान, खोला, खोल्सी, वनको संरक्षणलाई प्राथमिकता दिइनेछ ।

५ डोजर जस्ता ठूला मेसिनहरुको जथाभावी प्रयोगलाई नियन्त्रण र निरुत्साहित गरिनेछ। खेती योग्य जमीनमा सिंचाईको सम्भाव्यता अध्ययन गरी खोला तथा थोपा सिंचाई विस्तार योजना मार्फत उत्पादन वृद्धिमा जोड दिइनेछ।

६ गाउँपालिका भित्रका नागरिकलाई सूचनाको हक दिलाउन रेडियो र साप्ताहिक पत्रिका मार्फत सूचना प्रवाह गरिने कार्यक्रमलाई निरन्तरता दिइनेछ।

७ पुनःनिर्माण अन्तर्गतको निजी आवास निर्माणमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग प्रभावकारी समन्वय गर्ने र गाउँपालिकाले निर्माण गरेको कार्यविधि अनुरुप नक्सा पास गरेर मात्र भवन निर्माण कार्य  गरिनेछ।

 ८. पूर्वाधार अन्तर्गतका सबै निर्माण कार्य उत्पादनमुखी, वातावरण मैत्री, अपांगतामैत्री, बालमैत्री,जेष्ठ नागरिकमैत्री र प्रकोप  प्रतिरोधी बनाइने छ।

९ गाउँपालिकाका सबै वस्तीहरु सडक सञ्जालबाट जोडिनको लागि बजेट विनियोजनमा प्राथमिकता दिइनेछ र वडाका  केन्द्रहरु जोड्ने सडकको स्तरोन्नति गरिनेछ।

१०. स्थानीय सडक गुरुयोजना बनाई सडकहरुलाई पर्यटकीय, ऐतिहासिक र हरित लगायतमा वर्गीकरण गर्ने र सोही अनुरुप प्राथमिकताक्रम अनुसार मात्र बजेट विनियोजन गर्ने नीति लिइनेछ।

११. भुकम्प पछिको पुनःनिर्माणमा स्थानीय समुदायको अग्रसरतालाई प्रोत्साहन गरी स्थानीय सामग्रीको प्रयोगलाई बढावा दिइनेछ।

आर्थिक विकास (कृषि, उद्योग, वाणिज्य, पर्यटन, सहकारी, वित्तिय)

१. “रोशीको दृष्टी पर्यटन र कृषि” भन्ने मूल नारालाई सापेक्ष तुल्याउन कृषि उत्पादन वृद्धिको लागि विभिन्न कार्यक्रम तथा पर्यटकीय क्षेत्रको रुपमा रहेका विभिन्न धरोहरहरुको संरक्षण गर्ने नीति लिइनेछ।

२. प्राकृतिक स्रोत व्यवस्थापन तथा आर्थिक विकासका अभियानमा स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गरिनेछ

३. कृषक र उद्यमीहरुका लागि प्रत्येक वडामा लगानीका लागि ब्याज अनुदानको व्यवस्था मार्फत उद्यमशीलता वृद्धिमा जोड दिइनेछ।

४ पशु तथा बालीहरुमा लाग्ने रोगको पहिचान तथा उपचारको लागि रोग निदान तथा डिस्पेन्सरी कार्यक्रम सञ्चालन गरिनेछ

५. व्यावसायिक शिक्षा अन्तर्गगत कृषि विषय पठनपाठन हुने विद्यालयसँग साझेदारी र समन्वय गरी कृषि उत्पादन र कृषकहरुको क्षमता विकासमा सहयोग पुर्याइनेछ।

६ हिउँदे तथा वर्षे फलफुल खेतीलाई प्रोत्साहन दिँदै विभिन्न कृषि उपज उत्पादनको पकेट क्षेत्र घोषणा गरी उत्पादन वृद्धिमा  सहयोग पुर्याइनेछ।

७. स्थानीय तहमा उपलब्ध खानी तथा खनिज पदार्थको तथ्याङ्क संकलन, अभिलेख र व्यवस्थापन कार्य गरिनेछ।

८ खानी  तथा खनिज पदार्थको संरक्षण र उपयोग सम्बन्धी नीति र मापदण्ड तयार गरी कार्यान्वयन गरिनेछ।

९ आन्तरिक पर्यटन प्रवर्धनको लागि डम्फू जीवन्त सङ्ग्रहालय निर्माण गरिनेछ र निलाम्बरी फूलको संरक्षित क्षेत्र र तीन धारे झरना लगायतका पर्यटकीय गन्तव्यहरुको खोजी गरिनेछ।  केन्द्र र प्रदेश सरकारको लागत साझेदारीमा औद्योगिक ग्राम निर्माण प्रारम्भ गरिनेछ।

१०. खेती योग्य जग्गामा बालीनाली र खेती अयोग्य तथा कमसल जग्गामा पशुपालन सञ्चालन गर्ने, खेर गएको भीर पाखामा चिउरी , तेजपात र अन्य बहुवर्षीय घाँस र डालेघाँस लगाउन कृषकहरुलाई प्रेरित गरिनेछ।

११. दातृ संस्था, गैरसरकारी संस्था, प्रदेश र केन्द्र सरकारसँग समन्वय र सहकार्यमा आर्थिक विकाससँग सम्बन्धित कार्यक्रम  सञ्चालन गरिनेछ।

१२. पर्यटन प्रवर्धनको लागि घ्याङडाँडा देखि ताराखसे लेक सम्मको पर्यटकीय पदमार्ग सञ्चालनको लागि पूर्वाधार निर्माणमा जोड दिइनेछ।

१३. महाभारत लेक लगायत उच्च पहाडी क्षेत्रमा उच्च मूल्यका फलफुल वाली, ड्रागन फ्रुट, किवि, कागती, बदाम, अलैची, ओखर जस्ता बालीहरुलाई पकेटको रुपमा विस्तार गरिनेछ।

१४. कृषि फर्म, कृषि सहकारीसँग व्यावसायिक कृषि उत्पादन तथा पशुपालन लागि साझेदारी कार्यक्रम अगाडी बढाइने छ।

१५. तरकारी पकेट क्षेत्रमा यस अघि बनाईएका व्यावसायिक तरकारी डेमो(नमुना) फर्महरुमा युवाहरुलाई समेटी रोजगारीमा आबद्ध गरिने छ।

१६. व्यावसायिक पशुपालन ( बाख्रा, भैसी, गाई) गर्नेहरुको निम्ति जसको मन उसैलाई संरक्षण कार्यक्रम गरी पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।

१७. गैरकृषिजन्य क्रियाकलापमा भूमिको प्रयोगलाई निरुत्साहित गरी कृषि प्रणालीलाई व्यवस्थित गर्न
भू-उपयोग योजना निर्माण गरिनेछ।

१८. “कृषिमा उद्यमशीलता – आजको आवश्यकता” भन्ने नाराका साथ कृषिको आधुनिकीकरण तथा  औद्योगिकीकरणका लागि कृषक तथा उद्यमीहरुको क्षमता अभिवृद्धि गरिनेछ र साना तथा घरेलु उद्योगहरु सञ्चालनको लागि सहजीकरण गरिनेछ।

१९. कृषि-जैविक विविधताको महत्व भएका बाली तथा वस्तुहरुको पहिचान गरी दिगो संरक्षण तथा उपयोग कार्यक्रम संचालन गरिनेछ।

२०. कृषि तथा पशुपालन व्यवसायको जोखिम न्यूनीकरणका लागि बाली तथा पशु विमा कार्यक्रमलाई निरन्तरता दिइनेछ।  कृषक पाठशाला, नयाँ प्रविधिको प्रयोग, लगायतका सिर्जनात्मक कार्य गरिनेछ । पशुपालनलाई आय आर्जनको  आधारको रुपमा स्थापित गरिनेछ । जसका लागि नश्ल सुधार, कृत्रिम गर्भधारण, चरण क्षेत्र विकासमा जोड दिइनेछ।

२१. रोशी खोलाको शुद्धिकरण गर्दै आय आर्जन र पर्यटकीय गन्तव्य निर्माणको आधार तयार गरिनेछ।

२२. वनजंगलमा पाइने जडिवुटि उत्पादन तथा प्रशोधन केन्द्र स्थापनाको लागि लगानीकर्तालाई आमन्त्रण गरिनेछ।

 सामाजिक विकास (शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, संस्कृति, समावेशीकरण)

१) कोभिड-१९को संक्रमणको सन्त्रास (Lockdown/बन्दाबन्दी)बाट अवरोध भएको विद्यालय शिक्षाको शिक्षण सिकाइ तथा पठनपाठनलाई सुचारु गर्न एफ एम रेडियोसँगको सहकार्यमा रेडियो शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

२) विद्यालय शिक्षाको पाठ्यक्रममा आधारित गाउँपालिकास्तरीय श्रव्य तथा दृश्य (Audio-visual) सामग्री निर्माण  तथा प्रयोगमा जोड दिइनेछ।

३) विद्यालय तहमा कोभिड-१९ को सन्त्रासलाई न्यूनीकरण गर्न शिक्षक, विद्यार्थी, अभिभावकमा मनोसामाजिक परामर्श (Psycho-social counselling) कार्यक्रम सञ्चालन गरिनेछ।

४) आधारभूत तथा माध्यमिक तहका सवै विषयका पठनपाठन प्रभावकारी बनाउन मौजुदा संयन्त्रलाई प्रभावकारी परिचालन गरिनेछ।

५) स्वास्थ्य संस्थाहरुको सहयोगमा विद्यालयमा हेल्थ प्रोटोकल पालना गर्न तथा विद्यालयमा स्वास्थ्य र सरसफाइ प्रवर्द्धन गर्न विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

६) पालिकास्तरीय तहगत तथा विषयगत सिकाइ समूह गठन र परिचालन मार्फत् विद्यालय शिक्षाको गुणस्तर सुधारमा टेवा पुर्याइनेछ।

७) विद्यालय शिक्षाको प्रवर्द्धन गर्न “विद्यार्थीसँग जनप्रतिनिधि” कार्यक्रम सञ्चालन गरिनेछ।

८) विद्यार्थीको कक्षागत, तहगत र विषयगत सिकाइ उपलब्धीका आधारमा उत्कृष्ठ विद्यार्थी तथा शिक्षक छनोट तथा सम्मान गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

९) सूचना प्रविधिमैत्री कक्षा व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार कार्यक्रम प्रदेश सरकार र संघीय सरकारको समन्वय र सहकार्यमा अगाडी बढाइनेछ।

१०) तीनै तहका सरकारहरुको सहकार्य र समन्वयमा विद्यालय शिक्षाको कन्टेजिन्सी प्लान निर्माण र कार्यान्वयन गरिनेछ ।

११) विद्यालय तहको शैक्षिक गुणस्तर प्रवर्द्धन गर्न विद्यालयस्तरको रेडियो quiz कार्यक्रम सञ्चालन गरिनेछ।

१२) विद्यालयको संस्थागत निर्णयमा विद्यार्थीको पहुँच सुनिश्चित गर्न विद्यालय व्यवस्थापन समिति लगायत अन्य संयन्त्रमा सहभागी हुने नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिनेछ।

१३) विद्यालय शिक्षाको सिकाइमा टेवा पुर्याउन शिक्षण पेशालाई सम्मानित एवम् मर्यादित बनाउन शिक्षकलाई अधिकत्तम शैक्षिक तथा पेसागत गतिविधिमा संलग्न गराउने नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिनेछ।

१४) संघ/प्रदेश तथा अन्तरपालिकासँग समन्वय गरी शिक्षकको पेशागत उन्नयनका लागि प्रविधिमैत्री अनलाइन तथा अफलाइन तालिम/प्रशिक्षणको व्यवस्था गरिनेछ।

१५) माध्यमिक तथा आधारभूत विद्यालयको सिकाइलाई डिजिटल तथा भर्चुयल प्रविधि उन्मुख गराउन पहल गरिनेछ।

१६) सवै माध्यमिक विद्यालयहरुमा विज्ञान प्रयोगशाला/सूचना प्रविधि प्रयोगशाला/पुस्तकालय स्थापना गर्न समन्वय र सहकार्य गरिनेछ।

१७) विद्यालय उमेर समुहका बालबालिकाहरुलाई सामाजिक विकृतिहरु (धुम्रपान तथा मध्यपान) बाट बचाउन विद्यालय मार्फत् समुदायगत तथ्याङ्क सर्वेक्षण गरी सचेतना कार्यक्रम सञ्चालन गरिनेछ।

१८) विद्यालय तहको शिक्षा देखि नै कृषि श्रमप्रति सकारात्मक सोचको विकास गर्न तथा कृषिको व्यवसायीकरण तथा विविधीकरण र आधुनिकीकरण गर्न स्थानीय पाठ्यक्रमलाई आवश्यकताका आधारमा अध्यावधिक र समसामयिक बनाइनेछ।

१९) प्रदेश सरकारको सहयोग र समन्वयमा विद्यालय स्वास्थ्य तथा पोषण अन्तर्गतको “एक विद्यालय एक नर्स कार्यक्रम”लाई आवश्यकताको अध्ययन गरी साधन स्रोत सम्पन्न र विस्तार गर्न पहल गरिनेछ।

२०) संघीय सरकार, प्रदेश सरकारको समन्वय र सहकार्यमा विद्यालय शिक्षामा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गरिनेछ।

२१) गाउँपालिकाभित्रको विद्यामान शिक्षक दरबन्दीलाई विद्यालय तथा विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलानलाई निरन्तरता दिइनेछ।

२२) बालविकास केन्द्रका शिक्षकहरुको प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिदै गाउँपालिकाभित्रको वालविकास केन्द्रहरुलाई आवश्यकता र औचित्यका आधारमा पुनर्वितरण गरिनेछ।

२३) गाउँपालिकाभित्रको बालबालिकालाई अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षाको पहुँच पुर्याउन भर्ना अभियान  कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।

 २४) कृषि प्राविधिक तथा व्यावसायिक शिक्षामा सवै वडाका बालबालिकाहरुको पहुँच पुर्याउन तथा गुणस्तरीय कृषि प्राविधिक उत्पादन गर्न आवश्यक पहल गरिनेछ।

२५) विद्यालय शिक्षाको गुणस्तर बृद्धि गर्न प्राथमिक तथा आधारभूत तहमा वडास्तरीय र माध्यमिक तहमा गाउँपालिका स्तरीय विविध अतिरिक्त क्रियाकलापहरु सञ्चालन गरिनेछ ।

२६) विद्यालयतहमा सञ्चालन हुने परीक्षालाई अझ मर्यादित, विश्वसनीय, व्यवस्थित गरी गुणस्तर सुधारको अभिन्न अङ्गको रुपमा विकास गरिनेछ ।

२७) विद्यालय शिक्षामा पारदर्शिता, सुशासन, जवाफदेहिता, उत्तरदायित्व प्रवर्द्धन टेवा पुर्याउन विद्यालय अनुगमन तथा मूल्याङ्कन प्रणालीलाई विद्यालय तह, वडागत र पालिकास्तरीय गरी प्रभावकारी बनाइनेछ।

२८) संघीय सरकार र प्रदेश सरकारको सहयोग, समन्वय र साझेदारीमा विद्यालयहरुको भौतिक पूर्वाधार सुरक्षाको दृष्टिले भूकम्प तथा विपद् प्रतिरोधी, बालमैत्री, लैंगिकमैत्री तथा अपाङ्गतामैत्री बनाउन पहल गरिनेछ।

२९) १५ देखि ६० वर्ष उमेर समुहका साक्षर हुन बाँकी व्यक्तिहरुलाई साक्षर बनाउन सामुदायिक सिकाइ केन्द्र, विद्यालयहरु र विभिन्न संघसंस्थाको सहयोग, समन्वय र साझेदारीमा साक्षरता तथा निरन्तर शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

३०) विद्यालय शिक्षामा समन्याय प्रवर्द्धन गर्न अनाथ, टुहुरा, अतिसीमान्तकृत, लोपोन्मुख, अतिविपन्न र दलित बालबालिकालाई विशेष छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिइनेछ।

३१) संस्थागत विद्यालयहरुमा बालमैत्री वातावरण सुनिश्चित गर्न नियमन तथा अनुगमनलाई सहभागीतामूलक बनाइनेछ।

३२) अनुमति प्राप्त गरी सञ्चालनमा रहेका आधारभूत तथा माध्यमिक विद्यालयहरुको शिक्षण सिकाइलाई सहयोग गर्न शिक्षण अनुदान (teaching grants) विद्यार्थी संख्याका आधारमा व्यवस्था गरिनेछ।

३३) बालविकास कक्षाहरुमा बालबालिकाको चाहना, उमेर, क्षमता, सिकाइस्तरका आधारमा सिक्ने र सिकाउने व्यवस्थाका लागि प्रारम्भिक साक्षरता र गणित कार्यक्रमलाई औचित्य र आवश्यकताका आधारमा निरन्तरता दिइनेछ ।

३४) गाउँपालिकाभित्रका युवाहरुमा खेलकुदको माध्यमबाट अनुशासन, गतिशिलता, शारीरिक तथा मानसिक विकास गर्न अन्तर वडास्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगितालाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।

३५) विद्यालय तहका विद्यार्थीहरुमा विकास, अनुशासन र गतिशिलता प्रवर्द्धन गर्न अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता व्यवस्थित र मर्यादित रुपमा सञ्चालन गरिनेछ।

३६) उत्कृष्ट विद्यार्थी छनोट गरी छात्र तथा छात्रा छात्रवृत्तिको व्यवस्था गरीनुका साथै शैक्षिक वेरोजगार युवालाई लक्षित गरी सार्वजनिक सेवा तयारी कक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न आवश्यकता पहिचान तथा प्रोत्साहन गरिनेछ।

३७) खेलकुद क्षेत्रलाई संगठित तथा संस्थागत विकासका लागि गाउँपालिका स्तरीय खेलकुद विकास समिति गठन गर्न पहल गरिनेछ।

३८) गाउँपालिकामा खेलकुद क्षेत्रको प्रवर्द्धन र विकासका लागि गाउँपालिकास्तरीय खेलकुद मैदान/कभर्ड हल तथा खेलकुद ग्राम निर्माण गर्न पहल गरिनेछ ।

३९) प्रत्येक वडाको भौगोलिक आवश्यकता र औचित्यका आधारमा खेलकुद मैदान निर्माण गर्न सहकार्य र साझेदारीको आधारमा पहल गरिनेछ।

४०) सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुँच पुर्याउन “एक गाउँ एक अधिकृत तथा एक गाउँ एक इन्जिनियर” उत्पादन गर्न प्रोत्साहित गरिनेछ।

४१) रोशी गाउँपालिकाको विद्यालय शिक्षालाई व्यवस्थापन तथा नियमन गर्न शिक्षा नीति/ऐन तथा नियमावली तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गरिनेछ।

४२) विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न गाउँपालिकास्तरीय नमूना विद्यालय सञ्चालन गर्न पहल गरिनेछ।

४३) गाउँपालिकाभित्रका विद्यालयहरुलाई विद्यार्थी संख्या तथा आवश्ययकता अनुसार नक्साङ्कन गरी पहुँच, समन्याय र भौगोलिक अवस्थाको आधारमा विद्यालयहरुको स्थापना र समायोजन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।

४४) विद्यालय बाहिर रहेका विद्यालय उमेर समुहका बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्न वैकल्पिक शिक्षा तथा निरन्तर शिक्षाको व्यवस्था मिलाइनेछ।

४५) विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न स्थानीय सरकार र प्रधानाध्यपकवीच, प्रधानाध्यापक र शिक्षकहरुवीच आवधिक कार्यसम्पादन करार गर्न विद्यालयहरुलाई अभिप्रेरित गरिनेछ।

४६) शिक्षा क्षेत्रमा कार्यरत मानवस्रोतको ज्ञान, सीप तथा क्षमता अभिवृद्धि गरी शैक्षिक गुणस्तर सुधारका लागि नमूना विद्यालयहरुको अध्ययन अवलोकन भ्रमण गर्ने व्यवस्था मिलाइनेछ।

४७) स्थानीय भाषाहरुको संरक्षण र प्रवर्द्धन गर्न भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ।

४८) बर्षको कम्तिमा १ पटक हेल्थ क्याम्प र योग शिविर संचालन गरिनेछ ।

४९) रोशी गाउँपालिकाको लैंगिक समता तथा सामाजिक समावेशीकरण नीति निर्माण गरि कार्यान्वयनमा ल्याईनेछ ।

५०) वस्तीस्तर देखि गाउँपालिका तह सम्मको योजना निर्माण प्रकृयामा महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, दलित, लोपोन्मुख आदिवासी जनजातिको सहभागिता सुनिश्चितता गरिनेछ।

५१) “जसको सवाल उसैको संलग्नता र नेतृत्व ” भन्ने नाराको साथमा बाल क्लव, महिला समूह, एकल महिला सञ्जाल, जेष्ठ नागरिक क्लव, दलित समूह, अपांगता भएका व्यक्तिहरुको संस्थाको सशक्तिकरण र सवलीकरणमा जोड दिइनेछ।

५२) बालबालिकाको प्रयोग मार्फत उत्पादित वस्तु तथा सेवाको उपभोगलाई निरुत्साहित गरिनेछ।

५३) परिचय पत्र वितरण र सामाजिक सुरक्षा भत्ता वितरणमा अपांगता भएको व्यक्ति तथा सामाजिक सुरक्षा पाउन योग्य तथा नपाएको व्यक्तिहरुलाई घरदैलोमा पुगेर सेवा उपलब्ध गराइनेछ।

५४) जेष्ठ नागरिक बुबा आमाको संरक्षण नगर्ने छोराछोरी प्रति गाउँपालिकाले कडाइका साथ निगरानी राख्नेछ र गाउँपालिकाद्धारा प्रदान गरिने सेवामा कडाइ गरिनेछ र राम्रो गर्नेहरु मध्ये प्रत्येक वडाका १ जनालाई श्रवणकुमार पुरस्कारबाट पुरस्कृत गर्ने कार्यक्रमलाई निरन्तरता दिईनेछ।

५५) दलितको मुद्धालाई पहिचानको भन्दा अधिकारको मुद्धा बनाइ परम्परागत सीप तथा प्रविधिलाई व्यावसायिकरण गर्न जोड दिइनेछ ।

५६) सामुदायिक स्वास्थ्य तथा सरसफाई प्रवर्धनको लागि महिला स्वास्थ्य स्वयंसेविका र महिला समूहहरु परिचालन गरिनेछ।

५७) स्वास्थ्य सम्बन्धी नीति निर्माण, सेवा प्रवाह र जनचेतनाको लागि निजी तथा गैरसरकारी क्षेत्रसँग समन्वय र साझेदारी गरिनेछ।

५८) खानेपानी तथा सरसफाई सम्बन्धी गुरुयोजना निर्माण गरि कार्यान्वयन गरिनेछ।

५९) मातृ तथा शिशु मृत्युदर घटाउनको लागि “सुत्केरी आमा पोषिलो खाना” कार्यक्रमका अतिरिक्त बालबचाउ कार्यक्रम संचालन गरिनेछ।

६०) गाउँपालिकामा प्रसुती सेवा सहितको १५ शैयाको अस्पताल निर्माण कार्यको थालनी गरिनेछ । यस अस्पताललाई अन्य ठूला अस्पतालको सेवासँग आबद्ध गरिनेछ । सवै वडाका स्वास्थ्य संस्थाहरुको स्तरवृद्धि गर्ने र प्रसुती सेवा उपलब्ध गराउन प्राथमिकता दिइनेछ।

६१) नेपाल सरकारद्धारा सञ्चालित प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्ने कार्यक्रम सञ्चालनमा सहजीकरण गरिनेछ।

६२) आयुर्वेद सेवालाई वैकल्पिक चिकित्साको रुपमा अघि बढाइनेछ।

६३) युवाहरुको सीप र दक्षतामा वृद्धि गरी रोजगारीको अवसरहरु सृजना गर्न एक बहु प्राविधिक शिक्षालय स्थापनाको लागि केन्द्र तथा प्रदेश सरकारलाई अनुरोध गरिनेछ।

६४) बस्ती स्तरमा लोप हुन लागेका साँस्कृतिक मेलाहरुको संरक्षण गर्दै आर्थिक उपार्जनको लागि पर्यटन प्रवर्धन सँग जोडिनेछ । धार्मिक तथा सांस्कृति सम्पदाको संरक्षणमा जोड दिइनेछ । लोपोन्मुख हायु जाती, पहरी जाती उत्थानको कार्यक्रम सञ्चालन गरिनेछ।

६५) दलित समुदायको परम्परागत सीपलाई आधुनिकिरण गर्दै व्यावसायीकरणमा जोड दिइनेछ र महिला तथा बालबालिकाको विरुद्धमा हुने हिंसा र दुर्व्यबहार अन्त्य र सबै नागरिकको सम्मानको लागि लैंगिक तथा सामाजिक समावेशीकरण नीति बनाई लागू गरिनेछ।

वनवातावरण तथा विपद व्यवस्थापन (वन तथा भूसंरक्षण, जलाधार संरक्षण, वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला)

१ वन वातावरण तथा जलाधार संरक्षण नीति एवं विपद व्यवस्थापन तथा जलवायु उत्थानशिल योजनाको निर्माण गरी कार्यान्वयन गरिनेछ।

२ वन वातावरण र विपद व्यवस्थापनलाई प्रभावकारी बनाउन संस्थागत क्षमता बढाउने, जनशक्ति व्यवस्थापन, स्थानीय सहभागिता प्रवर्धन गरिनेछ ।

३ वस्ती अयोग्य स्थानमा बसोबास गर्ने घर परिवारको सुरक्षा र खेती योग्य जमिन संरक्षणको लागि भू-संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिनेछ।

४ राजमार्ग आसपासको बजार क्षेत्रको फोहोर व्यवस्थापनको लागि विशेष कार्यक्रम सञ्चालनको साथमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याइनेछ।

५. विपद व्यवस्थापन कोष वृद्धि गरी प्राकृतिक प्रकोपमा परेका परिवारको संरक्षणमा जोड दिइनेछ।

६. विभिन्न सञ्चारका माध्यम मार्फत प्रकोप जोखिम न्यूनिकरण सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

७ नयाँ बन्ने सबै घर तथा संरचनाहरुलाई भूकम्प प्रतिरोधी बनाइने व्यवस्था गरिनेछ र पुनःनिर्माण अन्तर्गत आवास निर्माण कार्यक्रमलाई सहजिकरण गरिनेछ।

८. गाउँपालिकाद्धारा निर्मित विपद व्यवस्थापन तथा प्रतिकार्य योजनाको आधारमा विपदको पूर्व तयारी गर्ने कामलाई विशेष प्राथमिकता दिनुका साथै गाउँपालिकामा आपतकालीन उद्धार तथा राहत कोष र सामग्रीको व्यवस्था गरिनेछ।

९ सार्वजनिक जग्गा तथा वन क्षेत्रमा वृक्षारोपण कार्यक्रमलाई प्राथमिकता दिदै वन क्षेत्रलाई आर्थिक स्रोतको एउटा प्रमुख आधार बनाइनेछ।

१०. जलवायु परिवर्तन र यसबाट पर्ने असर बारे आम नागरिकहरुलाई सचेत गराउनुका साथै औपचारिक शिक्षामा समेत यी विषय समावेश गरिनेछ।

 ११ उत्पादनमूलक क्षेत्रमा भू संरक्षण तथा जल उत्पन्न प्रकोप नियन्त्रणका कार्यक्रमहरु सञ्चालन गरिनेछ।

१२. “जनताको खुसी सुन्दर र सफा रोशी ” भन्ने नाराका साथ रोशी सफाई अभियान सञ्चालन  गरिनेछ । रोशी खोलालाई प्रदुषण हुनबाट जोगाउन आवश्यक नियम कानुन बनाएर कार्यान्वयन गर्नुका साथै रोशी खोला र वि.पि. राजमार्ग आसपासमा उद्यान तथा पार्कहरु निर्माणमा प्राथमिकता दिइनेछ।

 

संस्थागत विकास तथा सेवा प्रवाह

१ सेवा प्रवाहमा प्रवक्ता एवं सुचना अधिकारीको कार्यविवरण तयार गरी प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ।

२. गाउँपालिका र वडा कार्यालयहरुमा नियमित सार्वजनिक सुनुवाईको व्यबस्था गरिनेछ।

३ समग्र क्षेत्रको सुचना लाई अद्यावधिक र व्यवस्थित गरिनेछ।

४. जनप्रतिनिधि तथा कर्मचारीहरुको आचार संहिता निर्माण गरी कार्यान्वयन गरिनेछ।

५. व्यक्तिगत घटना, जन्म, मृत्यु, विवाह जस्ता महत्वपूर्ण तथ्याङ्कलाई अनलाइन प्रणालीबाट प्रादेशिक तथा केन्द्रीय निकायमा नियमित रुपमा पठाउने व्यवस्था गरिनेछ ।

६ रोशी गाउँपालिकाको दक्षता, जवाफदेहिता, पारदर्शिता, प्रभावकारीता र भ्रष्टाचारमुक्त शासन सुनिश्चित गर्न विभिन्न रेडियो, पत्रिका, अनलाईन र मोवाइल एप्स मार्फत सूचना प्रवाह गरिनेछ।

७ सबै वडा कार्यालयमा ईन्टरनेटको पहुँच पुर्याईनेछ। विद्युतीय हाजिरिको माध्यमबाट सुशासनमा थप जोड दिईनेछ।

८ बि.पि राजमार्गको संबेदनशिल ठाउँहरुमा सि.सि.टि.भि जडान गरिनेछ।

१०. गाउँपालिका भित्र संचालनमा रहेका हरेक उद्योगहरुमा काम गर्ने श्रमीकहरुको जीवन बिमा सम्बन्धित उद्योगले नै गर्नुपर्ने ब्यबस्थालाई कडाईका साथ कार्यान्वयन गरिनेछ।

११. आफ्नै सरकार खुला सरकारको अवधारणालाई मूर्त रुप दिन संकलित राजस्वको विस्तृत सूचना हरेक ६/६ महिनामा सार्वजनिक गरिनेछ।

१२. नागरिक रिपोर्ट कार्ड, सार्वजनिक परीक्षण जस्ता संयन्त्रको प्रयोग गरी जवाफदेही बनाइनछ।

१३. कार्यसम्पादनको आधारमा उत्कृष्ट कर्मचारीलाई पुरष्कृत गरिनेछ।

१४. जेष्ठ नागरिक, अपांगता भएको व्यक्ति, एकल महिला, दलित, लोपोन्मुख आदिवासी जनजातिलाई प्रदान गरिने सामाजिक सुरक्षा भत्ता समयमा सहज रुपमा प्रदान गर्नको लागि पारदर्शी र जवाफदेही वितरण प्रणाली अपनाइनेछ ।

१५. सबै सार्वजनिक पूर्वाधारहरु अपाङ्गमैत्री प्रविधि राखी निर्माण गर्नुपर्ने मापदण्ड जारी गरी कार्यान्वयन तथा अनुगमन गरिनेछ।

१६. दलित, सीमान्तकृत, लोपोन्मुख, आदिवासी जनजाति र अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय प्रचलन अनुरूप सामाजिक सुरक्षाको प्रत्याभूति गरिनेछ।

१७ अपाङ्गताको प्रकृति हेरी उपयुक्त सीपमूलक तालिम प्रदान गरी रोजगारीका अवसरहरूमा पहुँच विस्तार गरिनेछ तथा उक्त वर्गको स्वरोजगारका अवसरहरूको सृजना गर्दै उद्यमशीलताको विकास गरिनेछ।

१८. उद्यमीहरुलाई दोहोरो करको मार नपार्ने मात्र होइन, करको भार पनि न्यूनतम हुने गरी नीतिहरु  ल्याइनेछ।

१९ करको प्रशासनिक प्रक्रियालाई सरलीकृत गरिनेछ । उठ्नुपर्ने सम्पत्ति कर, व्यवसाय कर, विज्ञापन कर, घर बहाल कर, मनोरञ्जन कर, शुल्क र जरिवानाहरु एवं मालपोत जस्ता स्थानीय आम्दानीका व्यापक स्रोतहरुको सूक्ष्म अभिलेख राख्ने काम पारदर्शी र जवाफदेहीपूर्ण बनाउन आधुनिक सूचना प्रविधिको पूर्ण उपयोग गरिनेछ ।

२० कर छली र चुहावट विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।

आदरणीय महानुभावहरु

अन्त्यमा हामी जनताबाट निर्वाचित भएको ३ वर्ष व्यतित भैसकेको अवस्थामा जनताको सेवा प्रवाहमा राजनैतिक समझदारी, नैतिकता, इमानदारीता तथा पारदर्शिता प्रदर्शनमा कतै चुकेको त हैन भन्ने प्रश्न आम रोशी बासीहरुमा कही कतैबाट मुखरित हुनुले हामी हाम्रो जिम्मेवारीबाट विषयान्तर हुन खोजेको होकी भन्ने आशंका खडा भएको सन्दर्भमा यो नीति तथा कार्यक्रमले मात्र गति प्राप्त गर्न सक्दैन बजेट तथा कार्यक्रमको सहयोग विना नीति नाममा सिमित हुन सक्छ। राम्रा नीति तथा लोकप्रिय नीति बन्ने तर कार्यान्वयनमा प्रभावकारीता नहुने कटुसत्य हाम्रो सामु पनि हुन सक्छ। हामी नीति बनाउँदै तर त्यो नीति कार्यान्वयनको निम्ति संस्थागत संरचना र आवश्यक बजेटसँग तालमेल मिलाउन नसक्दा जनतामा निराशा हुने गर्दछ, नियामक निकायहरु र मिडियाहरुका अगाडी हामी फिक्का ठहरिने गर्दछौं जसको लागि बजेट तयारी गर्दा नीतिको अक्षरस विश्लेक्षण गरौं र अंकमा देखिने योजना मात्रै आफ्नो ठान्ने आत्मरतिबाट मुक्त होऔं भनी अनुरोध पनि गर्न चाहन्छु । यसमा तपाई हामी सबैको अथक परिश्रम, लगनशिलता र समर्पण भावको जरुरी हुन्छ । हरेक विषय र ब्यक्तिका बिच विभिन्न बुझाइका अन्तरहरु हुन सक्छन् यद्यपी ती सबै क्षेत्रका विषय र ब्यक्तिको अन्तिम ध्येय राष्ट्रको समुन्नति बन्न सके आपसी द्वन्द्वहरु स्वतहः समाप्त हुनेछन् । विखण्डनले विनाश मात्र निम्त्याउँछ भन्ने सर्वसत्यलाई स्वीकार्दै निशर्त र निश्वार्थ भावले रोशीको समृद्धिमा लागिरहन सम्पुर्ण जनप्रतिनिधि, राजनितिक दल, आम नागरीक, कर्मचारी तथा सरोकारवालाहरु सबैमा अनुरोध गर्दै यही दिशामा आफु पनि लागिरहने प्रण गर्न चाहन्छु ।

रोशीको जय होस्

धन्यवाद।
१० आषाढ ,२०७७

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।