रोशी गाउँपालिकाले कृषकहरुलाई ट्याक्टर र मकै छोडाउने मेसिन वितरण गरेको छ । ‘रोशीको दृष्टि पर्यटन र कृषि’ भन्ने मूल नारालाई सार्थकता दिन रोशीले कृषि समूह मार्फत किसानहरुलाई ट्याक्टर २० थान र मकै छोडाउने मेसिन १० थान वितरण गरेको हो । यससँगै किसानहरुलाई विषादी छर्ने स्प्रे समेत १० थान वितरण गरिएको छ ।

उक्त सामग्रीहरु रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाले एक कार्यक्रमका बीच कृषकहरुलाई वितरण गरेका थिए । वितरण कार्यक्रममा अध्यक्ष लामाले रोशीको विभिन्न सम्भावित क्षेत्रको पहिचान गरी सो स्थानमा पकेट क्षेत्र विकास गर्नको निम्ति कृषकहरुलाई उक्त सामग्री वितरण गरिएको बताए । पकेट क्षेत्र विकास गर्ने कार्यक्रम अन्तर्गत वडा नम्बर ७, ९ र ११ को तल्लो भेगलाई मकै पकेट क्षेत्र निर्माण गर्न कृषकहरुलाई उक्त कृषि उपकरण वितरण गरेको लामा बताए ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत डम्बरु दाहालले रोशीमा अन्नबालीको मात्र नभई फलफूल तथा पशुपालनको अत्यन्त सम्भावना रहेको र ती तीन ओटै क्षेत्रलाई समेटेर कार्यक्रम तय भएको जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।