उपप्रमुख लक्ष्मी दनुवारद्वारा प्रस्तुत पाँचखाल नगरपालिकाको आ. व. २०७८/७९ को बजेट बक्तव्य
आदरणीय नगरसभाका अध्यक्ष तथा नगरसभाका सदस्यज्यूहरु,
संघ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्र भित्रको आर्थिक अधिकार सम्बन्धी विषयमा कानुन बनाउने, बार्षिक बजेट बनाउने, निर्णय गर्ने, नीति तथा योजना तयार गर्ने र त्यसको कार्यान्वयन गर्ने व्यवस्था भए अनुसार पाँचखाल नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्न यस गरिमामय सभामा उभिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना सँगै स्थानीय तहका सार्वभौम जनताले अनुमोदन गरी पठाएका जनप्रनिनिधि का हैसियतले सम्मानित नगरसभा समक्ष आर्थिक बर्ष ०७८।०७९ को बजेट प्रस्तुत गर्न पाउँदा गर्वको महसुस गरेको छु ।
यस महत्वपूर्ण अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने ज्ञात अज्ञात सहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै विभिन्न आन्दोलनमा घाईते, अपाङ्ग तथा बेपत्ता नागरिकहरुप्रति सम्मान प्रकट गर्न चाहान्छु । लोकतन्त्र, गणतन्त्र र संघीयता प्राप्तीको अभियानमा नेतृत्व गर्ने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुले पुयाउनुभएको योगदानप्रति आभार व्यक्त गर्दछु ।
हामी अत्यन्त संकट र प्रकोपको घडीमा उभिएका छौं । विश्व नै कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले आक्रान्त भएको वर्तमान परिवेशमा नेपालले पनि अत्यन्त संकटको सामना गरिरहेको छ । हाम्रो पाँचखाल पनि संकटको घडीमा छ । यस विषम परिस्थितिमा पनि जनताको सेवा र सुरक्षाका लागि अग्रपंक्तिमा रहेर काम गर्नुहुने सम्पूर्ण जनप्रनिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतप्रति उच्च सम्मान प्रकट गर्न चाहान्छु । पाँचखाल नगरका कोरोना संक्रमित लगायत सम्पूर्ण देशका कोरोना संक्रमित हुनुभएकाप्रति सिघ्र स्वास्थ्य लाभको कामनाका साथै कोरोनाबाट मृतक हुनुभएकाहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । यो विषम परिस्थितिमा कोभिड विरुद्धको लडाई हामी सबैको साझा लडाई हो यसमा एकजुट भएर अगाडी बढ्नु नै अहिलेको आवश्यकता हो।
नेपालमा वैशाख १६ गतेबाट शुरु भएको निशेधाज्ञाका कारण लामो समयसम्म देश सँगै पाँचखाल पनि ठप्प रह्यो । अहिले पनि मुलुकले यो अवस्था भोगिरहेको छ । हामीले स्थानीय सरकारको दायित्व बोध गरेर कोरोना कहरको घडीमा जनताका दुख र पिडा सँगै जोडिने प्रयत्न गयौ । यो अवधिमा हामीले निशेधाज्ञाको मारमा परेका जनतालाई विभिन्न संस्थाहरुको सहयोग समेत लिई स्वास्थ्य सेवा, खोप, स्वास्थ्य सामाग्री एवं खाद्यान्न सामाग्री वितरण गन्यौँ । क्वारेन्टाईन, आइशोलेसन निर्माण देखि विभिन्न देशवाट धुलिखेल सम्म आउनुभएका हाम्रा जनताहरुलाई उद्धार लगायतका काम ग-यौ । हामीले गरेको प्रयत्नकै कारण कोरोनाले पाँचखालमा ठुलो रुप लिन सकेको छैन।
नगरपालिकाको आर्थिक, सामाजिक, शासकीय व्यवस्थामा प्रभावकारिता ल्याउन नीतिगत मार्गदर्शन गर्ने, लगानीको माध्यमबाट विकासका आयामहरु थप फराकिलो बनाई आर्थिक विकासमा टेवा पुऱ्याउने कडीको रुपमा बार्षिक बजेटलाई लिइएको हुन्छ । हामीलाई थाहा छ, साधन र श्रोत अत्यन्त सिमित छन् तर हाम्रा इच्छा, आकांक्षाहरु श्रोत र साधनको क्षमता भन्दा निक्कै गहन छन् तथापि श्रोत, साधन र आपूर्तिको बीचमा तालमेल गराई कार्यक्रमलाई प्रभावकारी, पारदर्शी, अर्थपूर्ण बनाउनु आजको आवश्यकता हो । यस कार्यमा नगरप्रमुख लगायत सम्पूर्ण सदस्यज्यूहरुको सहयोग र समर्थनको आशा गरेको छु ।
आदरणीय नगरसभाका अध्यक्ष ज्यू
अव म यस नगरपालिकामा ०७७/७८ मा भएका मुख्य मुख्य कामहरुको समिक्षा गर्न चाहान्छु । पाँचखाल नगरपालिकाको आठौं नगरसभाले चालु आ.व. २०७७/७८ का लागि ९८ करोड ९६ लाख बार्षिक बजेट विनियोजन गरिएको थियो । जसमध्ये चालु तर्फ कूल बजेट ४० करोड ६ लाख ७५ हजार विनियोजन गरेकोमा हालसम्म २२ करोड ३४ लाख ३१ हजार २११.७९ रुपैंया खर्च भई जम्मा ५५ दशमलब ७६ प्रतिशत प्रगति देखिएको छ। त्यस्तै पुँजीगत तर्फ कूल बजेट ५८ करोड ८९ लाख २८ हजार १६ रुपैया रहेकोमा खर्च रु १८ करोड ५९ लाख ३६ हजार ४९१.०९ भएको जसमा ३१ दशमलब ५७ प्रतिशत प्रगति देखिएको छ । संघ र प्रदेश सरकारबाट बाहेक आन्तरिक रुपमा नगरको विभिन्न वडा र नगरमा रु ३ करोड ३६ लाख ६ हजार ८०४ दशमलब २ पैसा राजस्व उठेको छ। नगरपालिकाले विभिन्न क्षेत्रमा बजेट विनियोजन गरी कार्यान्वयन गरेको छ । अव म गत आर्थिक बर्षमा विषयगत र क्षेत्रगत रुपमा कार्यहरुको समिक्षा पेश गर्न चाहन्छु ।
(क) आर्थिक क्षेत्र
पाँचखाल नगर कृषि शहरको अवधारणा अनुरुप पाँचखाल नगरपालिका कृषिमा आत्मनिर्भर मात्र होईन संघीय राजधानी काठमान्डौ र अन्य ठाउँमा समेत कृषि उपज निर्यात हुने गरेको छ । कृषि मार्फत यस नगरपालिका अन्तर्गतका कृषकहरुले मनग्य आम्दानी गरिरहेका छन् ।
नगरविकास कोषले तयार गरेको कृषि उपज संकलन, प्रशोधन तथा विक्री केन्दको डि.पी. आर. बमोजिम निर्माण गर्न मसलाबालि विकास केन्द्रको केही जग्गा प्राप्तिका लागि प्रदेश मन्त्रालयमा पत्राचार गरिएको छ । तीन वटा कृषि उपज संकलन केन्द्र निर्माण भएका छन् । नगरपालिकामा माटो परीक्षण प्रयोगशाला स्थापना भई ८५३ स्याम्पल माटो परिक्षण कार्य सम्पन भएको छ र प्रत्येक वडामा माटो परीक्षण शिविर सञ्चालन गर्ने लक्ष लिईएको छ । कोपोमिस (सफ्टवयर) कार्यान्वयनको लागि कर्मचारीलाई तालिम दिइनुका साथै सहकारीहरुलाई कोपोमिसमा आवद्ध गराउन डाटा संकलन कार्यलाई निरन्तरता दिईएको छ । यस चालु आ.व. मा कृषकहरुलाई १०० प्रतिशत अनुदानमा ८०० थान मिनिकिट र बेमौसमि प्याज खेति को लागि २,१०५ प्याकेट प्याजको बिउ वितरण गरियो । विपत व्यवस्थापन अन्तर्गत ७०० थान (बाँदर / बँदेल धपाउने यन्त्र) वितरण गरियो । कोभिड राहत वितरण अन्तर्गत भि सि डि पी आयोजनाले तोकेका कृषक समुहमा १०० प्रतिशत अनुदानमा गोलभेडा, काउली, भेडेखुर्सानी को बिउ वितरण गरीयो ।
आ.व ०७७/०७८ मा पशु नश्ल सुधारका लागि ३५०० गाईभैसीमा कृत्रिम गर्भाधान गर्ने कार्य गरिएको छ । विभिन्न रोगबाट ग्रसित १२,५०० पशु पक्षिको उपचार गरिनुको साथै विभिन्न सरुवा रोगहरुबाट सुरक्षा गर्न १३,००० पशुहरुलाई खोप लगाइयो । पशुहरुको पोषण सुरक्षा गर्न करिब २,००० किलो हिउँदे घाँस जै वितरण गरीयो । रेबीज रोगलाई न्यूनिकरण गर्न ८० वटा सामुदायिक कुकुरहरुलाई स्थायी बन्ध्याकरण गरीएको छ । बाखामा प्राकृतिक गर्भाधानको लागि ३ वटा बोयर बोका वितरण गर्न लागिएको छ । व्यवसायीक पशुपालन र गरिबी निवारणको लागि ५८ वटा बाखा र १५४ वटा पाडिहरु तथा विभिन्न डाले घाँसका बिरुवाहरु कृषकहरुलाई वितरण गर्ने प्रक्रियामा छ । देशकै प्रमुख तिर्थस्थल मध्ये पर्ने पलाञ्चोक भगवतीको मन्दिर, द्ग्देश्वर मन्दिर, भकामदेविको मन्दिर जस्ता धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरुले यस क्षेत्रको विषेश महत्व बढाएका छन । दनुवार जातीको बाहुल्य रहेको यस क्षेत्रमा दनुवार जातीको सामाजिक तथा सांस्कृतिक पहिचानले समेत पाँचखालको महत्वलाई बढवा दिएको छ ।
सहकारी डिभिजन कार्यालयबाट यस नगरपालिका अन्तर्गतका सहकारीहरुको विवरण तथा सहकारीका फाईलहरु समेत हस्तान्तरण भईसके पश्चात सहकारीहरुको विवरण अध्यावधिक गर्ने कार्य भएको छ । सहकारी तथा अन्य वित्तिय क्षेत्रको संचालन तथा नियमनको लागि नगर सहकारी ऐन तर्जमा भएको छ । यस नगरपालिकामा प्रस्तावित विशेष आर्थिक क्षेत्र (सेज)को लागि कम्पाउन्ड निर्माण लगायत अन्य पूर्वाधार निर्माणका कार्यहरु अगाडि बढेका छन । सेजका विषयमा नगरस्तरीय समिक्षा भएको छ । सेजको कारणले यस क्षेत्रको विकासमा ठूलो टेवा पुर्याउने विश्वास गरिएको छ । देशको पहिलो महिला औद्योगिक ग्राम स्थापना गर्नको लागि प्रक्रिया अगाडी बढेको छ ।
(ख) सामाजिक क्षेत्रः
पाँचखाल नगरपालिकामा सामुदायिक तथा निजी गरी जम्मा ४९ वटा शैक्षिक संस्था संचालनमा रहेका छन् । अधिकांश शैक्षिक संस्थाहरुमा शिक्षक विद्यार्थीको अनुपातमा ठूलो भिन्नता रहेको छ भने कतिपय विद्यालयहरुमा विद्यार्थीहरुको कमीका कारण विद्यालय नै संकटमा रहेका छन् । यसको व्यवस्थापनका लागि नगरपालिकाले विद्यालय मर्ज तथा तह घटाई विद्यालय व्यवस्थित गर्ने कार्य अन्तर्गत १ वटा विद्यालयलाई मर्ज गरीएको छ ।
शैक्षिक गुणस्तरको सवालमा अधिकांश विद्यालयहरुको स्थिति निकै सुधार्नु पर्ने देखिन्छ । शिक्षकको नियमिततामा सुधार गर्न सबै सामुदायिक विद्यालयहरुमा हाजिरी मेशिन जडान गरिएको छ । नगरमा मदनभण्डारी विश्वविद्यालय र काठमाण्डौ विश्वविद्यालयको कृषि तथा बन विज्ञान संकायको स्थापनाका लागि वडा नं २ मा काम अगाडी बढेको छ । बालविकास शिक्षक अनुदान अन्तर्गत नगरपालिका स्रोतबाट २९ शिक्षकलाई मासिक रु. २,००० का दरले १३ महिना सम्म र ६ शिक्षकलाई मासिक रु. ६,००० का दरले १३ महिना सम्म वितरण गरीयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ५ विद्यायलयहरुसँग संझौता गरिएको छ ।
विद्यालय खाजा खर्च कार्यक्रम अन्तर्गत ३८ विद्यालयमा रकम निकासा गरीएको छ । वैकल्पिक सिकाई सहजिकरण कार्यविधि निर्माण र कार्यान्वयन गरिएको छ । स्थानिय विषयवस्तुलाई समेट्नेगरी हाम्रो पाँचखाल र नागरीक शिक्षा पाठ्यसामाग्री तयारी गरिएको छ । युवा प्रतिभाको खोजी तथा प्रोत्साहन कार्यक्रम संचालन भएको छ । पाँचखाल शैक्षिक बुलेटिन २०७७ प्रकाशन गरीएको छ । विद्यालयमा कक्षा ६-१२ सम्मका छात्राहरुलाई सेनेटरी प्याड खरिद गरी वितरण गरीयो । लकडाउनको समयमा बैकल्पिक शिक्षा प्रवन्ध कसरी गर्न सकिन्छ भन्ने बारेमा वरिष्ट शिक्षाविदहरुसँग छलफल गरी अनलाईन तथा रेडियो शिक्षण कार्यक्रम संचालन गरीयो । कक्षा २ देखि ८ सम्मका विद्यार्थीहरुलाई स्वअध्ययन सामाग्री छपाई र वितरण गरीयो।
यस नगरपालिका अन्तर्गत एक वटा प्राथमिक स्वास्थ्य केन्द्र, ६ वटा स्वास्थ्य चौकी, ५ वटा शहरी स्वास्थ्य केन्द्र, एउटा आयुर्वेद अस्पताल, एउटा सामुदायिक हस्पिटल, २३ वटा क्लिनिक, २८ वटा खोपकेन्द्र, आठ वटा फार्मेसी संचालनमा रहेका छन् । त्यस्तै यस नगरपालिका अन्र्तगत जम्मा ८१ जना महिला स्वस्थ्य स्वयंसेविका परिचालित छन् । निशुल्क USG PROGRAM र मानसिक स्वास्थ्यका लागि मनोपरामर्श सेवा सुरु गरिएको छ । कोभिड १९ को नियन्त्रण र रोकथामको लागि समाजकल्यण प्राविमा क्वारेण्टीन तथा आईसोलेसन वार्डको स्थापना गरिएको छ । त्यसलाई अस्थायी अस्पतालको रुपमा विकास गर्न लागेका छौ । स्थानीय तहको घोषणा पश्चात भएको निर्वाचन र सोही निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको चौथो बर्ष बितिसकेको छ । यस बर्ष नगरपालिकामा रहेको स्वच्छ खानेपानीको समस्यालाई समाधान गर्न प्रमुखताका साथ अगाडी बढाईएको विभिन्न खानेपानीको आयोजनाहरुलाई सफल कार्यान्वयन गरियो । सम्भव भए सम्म प्रकृतिक मुहानको पानीलाई व्यवस्थापन गरियो भने धेरै ठाउँहरुमा डिप बोरिङ गरी खानेपानीको व्यवस्था गरियो । त्यस्तै जमिनको तल्लो तटीय क्षेत्रमा रहेको पानीलाई लिफ्टिङको माध्यमले खानेपानीको समस्यालाई समाधान गर्ने कार्य गरियो ।
पाँचखाल सुनकोशी खानेपानी आयोजनाको ठेक्का सम्झौता भई काम शुरु भैसकेको छ । नगरपालिकाले यस आर्थिक वर्षमा विभिन्न समयमा समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमहरु तथा सीपमूलक तालिमहरु संचालन गरी महिला, बालवालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ती, दलित, आदिवासी, अल्पसंख्यक आदि जस्ता समुदायको जनजीवनलाई प्रत्यक्ष फाईदा प-याई आर्थिक आयआर्जनमा सघाउ पु-याउने जस्ता कार्यहरु गरेको छ । यस नगरपालिका भित्रका अपाङ्ग, ज्येष्ठ नागरिक, संरक्षण विहिन बालबालिकाको विवरण संकलन गरी बागमति प्रदेश सरकार बाट प्राप्त अनुदान बाट संरक्षण बिहिन ङ्केबालबालिकालाइ वैशाखदेखि असारसम्म मासिक. स. २००० का दरले वितरण गरिएको छ । नेपाल सरकारको शसर्त अनुदानमा स्थानीय तहको लैंगिक हिंसा निवारण कोष स्थापना भएको छ।
(ग) पूर्वाधार विकासः
कोबिड – १९ संक्रमण को कारणले गत आ. व. २०७६ मा सम्पन्न हुन्न ०७७/नसकी यस आ व मा दायित्व सरेका योजनाहरु सम्पन्न भएका छन् चालु | आ. व. २०७७को सुरुवात ०७८/देखि नै पूर्वाधार बिकास सम्बन्धि योजना तथा कार्यक्रम संचालनको लागी युद्धस्तरमा कार्य सुरु गरेको हुँदा २०७७ भाद्र १५ गते १६ ओटा तथा २०७७ आश्विन १८ गते १४ ओटा गरि जम्मा ३० ओटा योजनाको करीब २२ करोड रकम बराबरको ठेक्का सुचना प्रकाशित गरिएको थियो |
प्रथम चरणमा ठेक्का सुचना भएका १६ ओटा योजनाको ठेक्का सम्झौता प्रथम चौमासिक भित्रै कात्तिक) २७सम्पन्न (गरेको तथा सो कार्यहरु निर्माण सम्पन्न भैसकेका छन् त्यसपछि विभिन्न समयमा प्राप्त भएका शसर्त योजनाहरुको ठेक्का एवं उपभोक्ता समिति मार्फत कार्यान्वयन भैरहेको र यसै आ .व .भित्र सम्पन्न गर्ने लक्ष लिईएको छ तथापि यस आ .व. को अन्तिम चौमासिकको सुरु देखि नै पुनः कोबिड १९- को दोस्रो लहरले नेपालमा समेत असर गरेको हुँदा त्यसको असर निर्माण कार्यमा समेत परेको र निर्माण कार्य सम्पन्न गर्ने लक्ष चुनौतीपूर्ण हुँदै गएको छ ।
हालसम्म नगरपालिका क्षेत्र भित्र पर्ने राजमार्ग, फीडर रोड तथा जिल्ला सडक बाहेक जम्मा ११.५ कि मि सडक कालोपत्रे भएकोमा यस चालु आ. व. मा मात्र ८.५ कि मि कालोपत्रे भएको छ । त्यसैगरी करीब ३० कि मि भन्दा बढी सडक पक्कि नाली सहित स्तरोन्नति भएको छ । पाँचखाल गरपालिकाको प्रत्येक वडामा कालोपत्रे सडक पुर्याउने उद्येश्य अनुरुप यसै आ. व. मा वडा नं. ४,५,६,७,९,१०,११,१२ र १३ मा नगरपालिकाबाट पहिलो पटक कालोपत्रे गर्ने कार्य भएको तथा वडा नं. २,३ र ८ मा यस अघि नै कालोपत्रे सडक पुगेको तथा वडा नं. १ मा हालसम्म पनि कालोपत्रे सडक पुग्न नसकेको हुँदा उक्त वडामा अबको आ. व. मा कालोपत्रे सडक पुर्याउने तथा हाल कालोपत्रे सडक पुगेका वडाहरुमा थप गर्ने गरि बजेट तर्जुमा गरेको छु ।
नगरपालिका तथा १३ वटा वडाहरुमा इन्टरनेटको राम्रो व्यवस्था गरिएको छ । नगरको सुरक्षाको लागि बजार क्षेत्रमा सिसिटिभि जडान गरिएको छ । राजश्व बुझाउन आउने सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागु गरिएको छ । सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई पूर्णतया बैकिङ प्रणालीमा समाहित गरि सकिएको छ । सामाजिक सुरक्षा भत्तालाई बैंकमार्फत Forward feed/Reverse Feed मा लैजाने कार्य सम्पन्न भएको छ।
(घ) वन, वातावरण तथा विपद व्यवस्थापन.
नगरपालिकाले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुसँगको सहकार्यमा विभिन्न अवसरमा नगर सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरी समाजलाई नयाँ सन्देश दिने कार्य गरेको छ । पाँचखाल नगरपालिका पानीको अभाव भएको नगरपालिका हो । यहाँ खानेपानीको लागि प्रशस्त पानीको श्रोत नभएको व्यहोरालाई सम्बोधन गर्नका लागि बृक्षारोपण कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाई पानी संचय गर्ने प्रजातीका विभिन्न विरुवाहरुको बृक्षरोपण र रिचार्ज पोखरीहरु निर्माण गरिएको छ र यसलाई निरन्तरता दिईनेछ । नगरभित्र सञ्चालित उद्योग तथा ईटाभट्टालाई मापदण्डमा ल्याउने प्रयाश स्वरुप पाँचखाल नगरपालिका वातावरण संरक्षण ऐन २०७५ र वातावरण संरक्षण नियमावली २०७५ अनुसार ईटा उद्योग संचालन गर्न निर्देशन दिइएको छ । विपद व्यवस्थापनका लागि विपद व्यवस्थापन कोष खडा गरिएको छ । दमकल तथा एम्वुलेन्स सेवा सञ्चालन गरिएको छ । कोभिड नियन्त्रणका लागि क्वारेण्टीन सञ्चालन गरिएको छ । भू तथा वातावरण विज्ञको परामर्शमा भू तथा वातावरण नीति बनाई कार्यान्वयन गर्ने कार्यक्रम रहेको छ । पाँचखाल न.पा. को समन्वय र निजी क्षेत्रको साझेदारीमा घर घरको फोहोर संकलन गरी प्राङगारीक मल उत्पादन तथा प्रशोधन गर्ने कार्यको लागी जग्गा भाडामा लिइ निर्माण कार्यलाई अघि बढाइएको छ । पाँचखाल न.पा. मा पेश भएका ११ वटा संस्था दर्ता गरिएको छ । वडा नं ४ र ७ भित्रका विपद परेकाहरुलाई राहत उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला रेडक्रसको आयोजनामा जनप्रतिनिधी, कर्मचारीहरुलाई विपद सम्बन्धि तालिम दिइएको छ।
(ङ) सुशासन तथा संस्थागत विकास.
नगरपालिकाको कार्य प्रकृति अनुसार जनशक्ति र साधन श्रोत व्यवस्थापनमा सुधारको आवश्यकता रहेको छ । संगठन तथा व्यवस्थापन सर्भे (इ ७ :)गरेर कार्यबोझको आधारमा जनशक्तिको दरवन्दी तथा संगठन संरचना स्वीकृत नहुँदा दैनिक प्रशासनिक तथा विकासका क्रियाकलापहरु संचालन कठिनाई भएको छ । बढ्दो कामको चाप र त्यसको व्यवस्थापनको लागि विभिन्न शाखाहरुमा सिमित समयको लागि लिईएका सेवा करारका कर्मचारीहरुलाई यस बर्ष पनि निरन्तरता दिईएको छ । कर्मचारीहरुको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्ने कार्यक्रम रहेको छ । खरिद प्रकृयालाई प्रभावकारी वनाउन सार्वजनिक खरिद तालिम सञ्चालन भएको छ ।
पाँचखाल नगरपालिकालाई कार्यक्षेत्र बनाएर कार्यक्रम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु मार्फत सार्वजनिक सेवा प्रवाहका कार्यक्रहरु संचालन गरियो । आन्तरिक तथा अन्तिम लेखापरीक्षण गर्दा देखिएको बेरुजु फछ्र्यौट गरिएको छ । यस कार्यालयको प्रत्येक वडाहरुमा राजश्व संकलनलाई प्रभावकारी, विश्वसनीय र पारदर्शी बनाउन आय लेखा र सम्पत्तिकर सफ्टवेयर लागु गरिएको छ।
यसरी संकलित आन्तरीक राजश्व अन्तरसरकारी वित्तिय हस्तान्तरणबाट प्राप्त रकम र अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अन्तर्गत राजश्व बाँडफाँडबाट प्राप्त राजश्वको समयावधि लेखांकन साथै यस नगरपालिकाको ङ्केआर्थिक लेखांकन आय र व्ययको सम्पूर्ण प्रतिवेदन महालेखानि यन्त्रक कार्यालय द्वारा संचालित सचिात कोष व्यवस्थापन प्रणाली(SUTRA)बाट गरीएको छ । VERSP-MIS online तालिम सञ्चालन गरी सबै वडामा online प्रणालीबाट घटना दर्ता र राजस्व संकलनको काम सम्पन्न भइसकेको, प्रत्येक वडाहरुमा भएको हस्तलिखीत घटना दर्ता किताबको डिजीटाइजेसन कार्य सुचारु भइरहेको छ ।
सबै कारोवारलाई बैंकिङ प्रणाली अपनाईएको, पलाञ्चोक भगवति मन्दिरमा Cc Camera जडान, PUBLIC LIAISON OFFICER को व्यवस्था, HELP DESK को स्थापना, सबै विद्यालयमा विद्युतीय हाजिरी मेशीन जडान, वडामा समेत वडा नागरिक सुनुवाई कार्यक्रमको सुरुवात, सेवा प्रवाहमा विद्युतीय सूचना प्रविधिको प्रयोग गर्ने क्रममा लिड डिस्प्ले बोर्ड, कार्यालयको सुरक्षा तथा निगरानीको लागि सिसिटिभि जडान गर्नुका साथै यस नगरपालिकाको दोस्रो तलामा networking को व्यवस्था गरिएको छ । पुरातात्विक सम्पदाको संरक्षणका लागि पाँचखाल पुरातत्व संरक्षण समिति गठन, जग्गा खण्डिकरण सम्बन्धि प्राविधिक समिति गठन, भारी बर्षाको कारण गएको प्राकृतिक प्रकोप पीडितहरु एवं दीर्घरोग, कडारोग लागेका गरिव व्यक्तिलाई राहत तथा सहयोग प्रदान गर्ने, फोहरमैला व्यवस्थापनका लागि सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत रिसाइक्लर्स प्रा. लि. सँग सम्झौता भएको, हरित महिला उद्यमी औधोगिक ग्राम सञ्चालन सम्भौता, सुनकोसी खानेपानी आयोजनाको लागि सहजिकरण गर्ने सम्बन्धमा विभिन्न निर्णयहरु, बारुणयन्त्र व्यवस्थापन सशस्त्र प्रहरी बल नेपाल १५ नं गण हे. क्वा. सँगको साझेदारीमा गर्ने निर्णय, पाँचखाल नगरलाई २ बर्षभित्रमा बिजुलीका काठेपोल मुक्त गराउने लगायतका विषयमा पाँचखाल वितरण केन्द्रसँग सम्झौता, ईटा उद्योगीसँग ईटा भट्टालाई वातावरण मैत्री रुपमा सञ्चालन गर्ने सहमति जस्ता कार्यपालिकाबाट भएका नीतिगत निर्णयहरुले नगरपालिकामा सुशासन प्रवर्धनमा सहयोग गर्ने देखिन्छ।
अन्तरनिकाय समन्वय गर्दै पाँचखाल नगरपालिकाले आफ्नो सेवा प्रवाह तथा अन्य विभिन्न कार्यहरु सम्पादनमा आधुनिक शैली अपनाउने गरेको छ । आफुले नगरपालिकाबाट सेवा सुविधा प्राप्त गरेवापत तिर्नुपर्ने कर, दस्तुर तथा राजश्व बुझाउनु पर्छ भन्ने भावना तथा बानीको विकास आम मानिसमा नभएकोले आन्तरिक आयमा नगरपालिकाले सोचे जस्तो नतिजा हासिल गर्न सकेको अवस्था छैन । विस्तारै शहरीकरण हुदै गएको पाँचखाल नगरपालिकालाई निश्चित नीति तथा योजना बनाई व्यवस्थित शहरको रुपमा विकास गर्न सकिने अवस्था रहेको छ । भौतिक संरचनाहरुको निर्माण गर्दा नगरपालिकाले मापदण्ड भन्दा बाहिर गएर बनाउन निषेध गर्नुको साथै प्रत्येक नयाँ घर निर्माणको लागी नक्सा पास गर्दा एक घर दुइ बिरुवा अनिवार्य रुपमा रोप्नुपर्ने व्यवस्था गरेका कारण व्यवस्थित तथा आकर्षक ढङ्गबाट विकासका क्रियाकलापहरु संचालन गर्न सकिने अवस्था रहेको छ । प्राकृतिक श्रोत तथा साधनहरु प्रचुर मात्रामा रहेको कारण सोको व्यवस्थित तवरले उपभोग गर्न सकिने र स्थानीय आवश्यकता अनुसारको विकास गर्न सकिने अवसर रहेको छ । नगरपालिकामा कर्मचारी तथा भौतिक साधनको उपलब्धतामा समेत विस्तारै सुधार हुदै गएकोले समग्र संस्थागत क्षमतामा समेत सुधार हुदै गएको छ । आगामी दिनमा नगरपालिकाले निर्धारण गरेको लक्ष्य तथा उद्देश्य प्राप्तीमा नगरपालिका सफल हुने कुरामा विश्वास गरिएको छ।
नगरपालिकामा उपलब्ध सिमित श्रोत र साधनबाट जनताको बढ्दो जन आकाँक्षाको सम्बोधन गर्न कठिन हुने कुरामा सदैव नगरपालिका चनाखो रहेको छ । बजार क्षेत्रमा उत्पादन हुने फोहोर जन्य वस्तुहरुको व्यवस्थित व्यवस्थापन गर्नको लागि डम्पिङ् साईटको व्यवस्था गरि फोहोर व्यवस्थापन गर्ने कार्य गरिएको छ । नगरपालिकाबाट निकासी हुने कृषि जन्य उपजहरुको निकासी कर, प्राकृतिक श्रोत साधनको उत्खननमा लागु गर्न नसकिएको कारण नगरपालिकाको आन्तरिक आय बढाउन सकिएको छैन । अधिकांश क्षेत्र भौगोलिक आधारमा विकट रहेको हुँदा समयमा नै उक्त क्षेत्रहरुमा व्यवस्थित सडक लगायतका विकासका पूर्वाधारहरु निर्माण गर्न कठिनाई रहेको छ तापनि नगरपालिकामा उपलब्ध स्रोत र साधनको उपयुक्त योजना प्रयोग र परिचालन गरि विकासको प्रतिफल आम समुदायमा पुर्याउन नगरपालिकाले योजनावद्ध रुपमा कार्य गरि रहेको छ।
नगरसभाका अध्यक्ष एवं सदस्यज्यूहरु
आगामी आर्थिक बर्ष ०७८/७९ मा केन्द्र, प्रदेश सरकार एवं पाँचखाल नगरपालिकाको कुल 895,628, 543 अक्षेरुपी रुपैयाँ) ८९ करोड ५६ लाख २८ हजार ५४३ मात्र | ) व्यय हुने अनुमान गरेको छ । जसमध्ये चालु खर्च १४ करोड ६ लाख २८ हजार ५४३ र पुँजीगत तर्फ ७५ करोड ५० लाख रुपैंया विनियोजन गरेको छु ।

अन्तमा,
नगरपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा क्रममा सहभागितामुलक योजना तर्जुमा प्रकृयाका सबै चरणहरुमा सहभागी हुनुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु । साथै यस कार्यलाई सफल र प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि संबद्ध सबै पक्षबाट गत बर्ष झै निरन्तर सल्लाह सुझाव, सहयोगको अपेक्षा गर्दै बार्षिक योजना तर्जुमा कार्यमा सक्रिय एवं रचनात्मक सहयोग पुयाउनुहुने सबै पदाधिकारी, विषयगत निकाय, नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीहरुमा धन्यवाद दिन चाहान्छु । साथै गरिमामय सभामा उपस्थित सबै महानुभावहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा भएका कमी कमजोरी प्रति क्षमा याचना माग्दै पाँचखाल नगर कृषि शहर को अनुभूति सबै क्षेत्रबाट हुने आशाका साथ पाँचखाल नगरपालिकाको सातौ नगरसभामा बजेट तथा कार्यक्रमको प्रस्तुती यहीं अन्त्य गर्दछु । धन्यवाद।
लक्ष्मी दनुवार
उपप्रमुख
२०७८ असार १० गते
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























