पछिल्लाे समय दलितमाथि हुने जातीय विभेदकाे विषयमा निकै चर्चा र परिचर्चा भइरहेकाे छ । जातीय विभेद हटाउन सबैले आ-आफ्नै किसिमका उपायहरु सुझाएकाे पाइन्छ । मुख्य दुई उपायहरु मध्ये पहिलाे त समानताकाे मानव चेतना नै भयाे र दाेस्राेमा कानूनी कारवाही हाे । साे बाहेक सब भन्दा पहिले त दलितभित्रकै विभेद हट्नुपर्छ भन्नेहरु पनि छन् । कतिपयले कानूनी अारक्षण समेत हटाउनु पर्ने राय व्यक्त गरेकाे देखियाे ।

उल्लेखित उपायका अतिरिक्त केही विद्वान र बुज्रुकहरुले त “याे दलित भन्ने शब्दै ठिक छैन” अथवा “संविधान र कानूनमै दलित शब्द प्रयाेग गरेपछि दलित भन्ने अवधारणा त सधैं रहिरह्याे नि” भनी तर्कहरु पेश गरिरहेका छन् । यस्ता तर्कहरु आउनु स्वभाविक पनि हाे र कतिपयलाई सही पनि लाग्न सक्छ । तर गहिरिएर हेर्ने हाे भने यी तर्कहरुमा कुनै तुक छैन । दलित शब्द आफैंमा ठिक र बेठिक हाेइन । यसाे त दलित शब्द कुनै जातिलाई अवमूल्यन गर्न सृजित भएकाे हाेइन । याे त समाजमा रहेकाे उपल्लाे वर्गले तल्लाे वर्गलाई गरिआएकाे शाेषण, दमन र अत्याचारलाई जनाउन प्रयाेग गरिएकाे शब्द मात्र हाे । याे शब्द कसले कहिले प्रयाेग गरेकाे हाे भन्ने बारे एकिन गर्न कठिन छ । तर यसकाे प्रयाेग जनबाेलीमा मात्र नभई संविधान र कानून समेतमा गरिँदै अाएकाे पाइन्छ ।

अर्काे कुरा दलित शब्द प्रयाेगले सदाकाल दलितकाे अवस्थालाई कायमै राख्छ भनी साेच्नु नै गलत छ । दलित शब्द प्रयाेग त हुन सक्ला तर दलितकाे रुपमा एउटा मान्छेले अर्काे मान्छेलाई हेप्ने, चेप्ने, हेला, घृणा, शाेषन र दमन गर्ने दिनकाे अन्त्य अवश्यम्भावी छ र त्याे भविष्यमा कुनै दिन अनिवार्यत: हुने नै छ । दलित शब्द कुनै दिन इतिहासकाे पानामा सीमित हुनेछ र हुनु पर्छ ।

यसर्थ दलित शब्द हाललाई मात्र आवश्यकताले प्रयाेग भएकाे शब्द हाे, याे सधैं प्रयाेग हुने हाेइन भन्ने बुझ्नु पर्छ । संविधान र कानूनमा पनि सापेक्षिक रुपमा याे शब्दकाे प्रयाे अस्थायी रुपमा गरिएकाे हाे । दलितलाई दिइने अग्राधिकार र सुविधा वा आरक्षण पनि सधैंकाे लागि नभई दलित वर्गहरु अरुकाे तुलनामा समान हैसियतमा नअाउन्जेलका लागि मात्र हुन् जसलाई सकारात्मक विभेद भनिन्छ । याे कुरा नबुझेर कतिपयलाई यस्ता संवैधानिक र कानूनी व्यवस्थाहरु नपचेका पनि हाेलान् ।

यस्तै दलित शब्द संविधान र कानूनमा प्रयाेग नगर्दा वा प्रचलनमै नल्याउँदा मात्र दलितमाथि जातीय विभेद कम हुन्छ वा हुँदै हुँदैन भन्ने तर्कमा कुनै तुक छैन । एकछिनलाई साेचाैं न, के दलित शब्द प्रयाेगमा आउनु भन्दा अघि जातीय विभेद थिएन त ? छुवाछुत र दमन थिएन त ? तर याे हाेइन र यी सबै भेदभावहरु समाजमा थिए । हाल पनि जुन जुन समाजमा ज-जसले दलितहरुमाथि जातीय विभेद गरिरहेका छन् तिनले दलित शब्दकाे प्रयाेग नगरीकनै विभेद गरिरहेका छन् । कसैलाई तँ कामी, कसैलाई तँ दमाई, कसैलाई तँ सार्की, तँ चमार, तँ च्यामे, तँ पाेडे आदि आदि जातकाे नाम लिएर विभेदकाे सिकार बनाइरहेका छन् । यहाँ शब्दलाई हेरेर हाेइन, जातकाे अनुहार हेरेर विभेद गरिरहेका छन् ।

यसकारण दलित शब्दकाे प्रयाेग नगर्दैमा जातीय विभेदकाे अन्त्य सम्भव छैन । मानवीय चेतनाबाट मात्र यसकाे निर्मूलीकरण सम्भव छ र अन्तत: निजी सम्पत्तिकाे जगमा उभिएकाे असमान वर्गीय सत्ताकाे अन्त्यसँगै यसकाे अन्त्य हुने पक्का छ ।

Comments

comments