काभ्रे जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ५ का किसानहरुलाई बाख्रा वितरण गरेको छ । किसानको आयआर्जनमा वृद्धि गर्ने उदेश्यले ८० प्रतिशत अनुदानमा किसानलाई बाख्रा वितरण गरेको हो ।
बाख्रा वितरण गर्न वडा नं. ९ का वडा अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका कृषि शाखा संयोजक मेलबहादुर तामाङ, वडा नं. ५ का वडा अध्यक्ष बुद्धसिं तामाङ, नगरका पशु शाखा चिकित्सक चिरञ्जीवी शर्मा लगायतका व्यक्तिहरु पुगेका थिए ।
बाख्रा वितरणमा एकल महिलालाई प्राथमिकतमा राखेको वडा अध्यक्ष तामाङले जानकारी दिए ।
आर्थिक वर्ष २०७७।०७८ मा नगरपालिकाको बाख्रा पकेट क्षेत्रमा लागत साझेदारी कार्यक्रम अन्तर्गत ५ नं वडा कार्यलयले किसानलाई ८० वटा बाख्रा वितरण गरेको वडा सचिब रामचन्द्र श्रेष्ठले जानकारी दिए ।
वितरण कार्यक्रमको प्रमुख अतिथि वडा नं. ९ का वडा अध्यक्ष एवं पशु शाखा संयोजक तामाङले कानपुरमा बाख्रापालनको लागी उपयुक्त ठाउँ रहेको निर्वहामुखी होइन निर्यातमुखी अर्थात व्यबसायिक बाख्रा पालन गर्न अग्रसर हुनु पर्नेमा जोड दिए । ‘आज वितरण गरेको सबै बाख्राको बिमा समेत गरिएको छ । नगरपालिकाले कुनै बेला उत्कृष्ट किसानको छनौट समेत गर्ने र उचित सम्मान गर्ने भएको हुँदा तपाईहरु नगरपालिकाभित्रका उत्कृष्ट किसानमा पर्नको निमित्त शुभकामना व्यक्त गर्दछु ।’
बाख्रा वितरण कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष तामाङले अनुदानमा दिइएको बाख्राबाट किसानको जिवनस्तर माथि उकास्न थोरै मात्र भए पनि टेवा पुग्ने बिस्वास व्यक्त गरेका थिए । अनुदानमा पाएको बाख्राको राम्रो स्याहारसुसार गरि बर्षेनि राम्रो आयाअर्जन गर्दै उदाहरणीय किसानको रुपमा चिनाउन समेत वडाध्यक्ष तामाङले किसानहरुलाई अनुरोध गरेका थिए ।
वडाले ८० प्रतिशत अनुदानमा बाख्रा वितरण गरेपछि स्थानीय किसानहरु खुशी भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























