गत वर्षको संक्षिप्त समीक्षा

गत वर्षको गाउँसभा हामीले कोरोना कहरकै बिचबाट सामान्य तवरले गरेका थियौँ । अघिल्लो वर्षको झण्डै आधा-आधीबाट सुरु भएको कोरोना महामारी र बन्दाबन्दीको बिचबाट हामीले हाम्रा योजनाहरूलाई सफलतापूर्वक कार्यान्वयन गरेका थियौँ । यस वर्ष पनि योजना कार्यान्वयन गर्नेमध्ये समयदेखि नै कोरोनाको दोश्रो भेरियन्टले निक्कै प्रभावित बनाएको सबै जनप्रतिनिधिहरू र कर्मचारी संयन्त्रसमेत मुख्य त कोरोनाको रोकथाम नियन्त्रण र उपचारमा नै बढी केन्द्रित हुनुपर्नाले साना तथा वडा स्तरमा रहेका कतिपय योजनाहरू कार्यान्वयनमा जति गतिका साथ हुनुपर्थ्यौ, त्यो हुन सकेन । यद्यपि यो आर्थिक वर्ष 077/078 को अन्तसम्ममा सम्पन्न हुने प्रक्रियामा रहेका छन् । चालु आर्थिक वर्षमा भएका योजनाहरूलाई कार्यान्वयनको तहमा भएका प्रगति बारे संक्षिप्त समीक्षा राख्न गइरहेको छु ।

आर्थिक विकास तर्फः

कृषि, सिँचाई तथा पशु विकासका क्षेत्रमा अघिल्लो आ.व. 076/77 मा केही प्रगति हासिल गरिएको थियो भने 077/78 मा अझै प्रगति भएको छ । ठाउँठाउँमा सिँचाई पोखरी र कुलोहरूको निर्माण गरी कृषियोग्य भूमिहरु र बाँझो रहेका कतिपय जमिनहरूमा खेतीपाती लगाउने कार्य भएका छन् । कोरोनाको संक्रमण रोकथामका लागि देशैभर भएका लकडाउनको कारणले पनि केही जनशक्ति गाउँमै फर्किएर खेतीपातीतिर लागेका हुनाले थोरै भएपनि प्रगति भएको छ ।

कृषिलाई आधुनिकीकरण तथा व्यवसायी बनाउनका लागि गाउँपालिकाले अनुदानमा तथा लागत सहभागितामा हाते ट्याक्टर लगायतका कृषि औजारहरू वितरण, रासायनिक मल ढुवानीमा लाग्ने पूरै भाडा रकम अनुदान, अन्न तथा तरकारीका बिउ बिजन, बिषादी, फलफूल तथा बोट विरुवा, फलफूल तथा तरकारीका बिउ बिरुवाहरूमा अनुदानमा वितरण गर्ने र उन्नत बिउ उत्पादनका लागि पकेट क्षेत्र निर्माण गरी उत्पादनको सुरुवात आदि कृषि क्षेत्रका महत्वपूर्ण उपलब्धी भएका छन् । चिया खेतीको परीक्षण आदि कार्यहरू राम्रैसँग कार्यान्वयनमा रहेका छन् ।

कृषि योग्य बेसी तथा फाँटका जमिनहरूमा कृषि सडक संजाल पुर्‍याउने कार्य निरन्तरतामा नै रहेका छन् । चालु आर्थिक वर्षमा तय गरी पारित गरिएका योजना तथा कार्यक्रमहरूलाई यो वर्ष पनि निरन्तरतामा लगिने छ र धान, गहुँ र मकैका उन्नत बिउ उत्पादन कार्यलाई अझै प्रभावकारी ढंगले कार्यान्वयन गरी बिउमा आत्मनिर्भर बनाउने लक्ष्यलाई निरन्तरता दिइने छ ।

भैंसी तथा गाई पालन गर्ने किसानहरुलाई पशु खुराकका लागि दिइने सुत्केरी भत्ताले किसानहरूलाई आकर्षित गरेको छ भने कृतिम गर्भधान तथा बोयर जातका बोका बिउका लागि अनुदानमा बिउका बोका वितरण गर्ने कार्यले प्रभावकारी उपलब्धी हासिल गरेको छ । यो सँगै बाख्रापालन किसानहरूको बृद्धि भइरहेको छ भने व्यावसायिक किसिमले बाख्रा तथा बंगुरका फर्महरू स्थापना तथा सञ्चालनमा आइरहेको छन् ।

कुखुरा पालन किसानहरूको पनि बृद्धि भइसकेको छ । समग्रमा पशु व्यवसायबाट किसानहरूको आय-आर्जनमा बृद्धि मात्रै भएको छैन, सिंगो गाउँपालिका मासुमा आत्मनिर्भर भएको छ र खसीबोकाहरू शहर-बजारतिर निर्यात पनि भइरहेका छन् । यस वर्ष कोरोनाका कारण उन्नत जातका बोयर बोका, पाठीहरु ल्याएर वितरण गर्न भने सकिएको छैन ।

पर्यटनः

पर्यटन पूर्वाधार निर्माणका योजनाहरू कार्यान्वयनमा गइरहेका छन् । भञ्ज्याङ्गदेखि वाङथली, नाग्रे, दुती, खाँडादेवीसम्मका १७ कि.मि. लामो युद्ध पर्यटन पदमार्गको ट्रयाक ओपन भइसकेको छ । लौरेमा पिकनिक स्पोट, कात्तिके देउराली पाथिभरा मन्दिर, विर्ता देउरालीमा बुद्ध मुर्ति निर्माण र वाङ्थलीमा छोर्तेन निर्माण कार्य सम्पन्न भइसकेका छन् भने आरुबोटछा पमा बुद्ध मूर्ति निर्माण कार्य भइरहेको छ। मादन कुँडारीमा होम स्टे सञ्चालनमा छ । त्यसैगरी वडामा विभिन्न देवी देवताका मन्दिरहरू निर्माण तथा पुननिर्माण कार्यहरू सन्तोषजनक ढंगले भइरहेका छन्।बिभिन्न वडामा सहीदका शालिकसहितका सहिद स्मृति पार्कहरु पनि निर्माण भईसकेका छन् भने कतिपय सम्पन्नको अन्तिम चरणमा रहेका छन् । युद्ध पर्यटन पदमार्ग क्रमागत रुपमा बनिरहेको छ ।

शिक्षाः

हाम्रो गाउँपालिका भित्र रहेको ३९ वटा विद्यालयहरू नियमित रुपमा सञ्चालन भइरहेकामा कोरोनाका कारण लामो समयको बन्दाबन्दीले विद्यार्थीहरूले प्रत्यक्ष रुपमा विद्यालय गएर पठन पाठन गर्न सकेका छैनन् । वैकल्पिक विधिबाट सञ्चालित पठन पाठन त्यति धेरै प्रभावकारी बन्न सकिरहेको छैन । सबै मा.वि. हरूका भौतिक पूर्वाधारहरू आधुनिक खालका भवनलगायत आवश्यक शैक्षिक सामग्रीहरु प्रायः उपलब्ध भइरहेका छन् र अझै कतिपय उपलब्ध हुने प्रक्रियामा छन्। विद्यालय नर्सहरु भएका विद्यालयका विद्यार्थीहरूको स्वास्थ्यमा गुणात्मक सुधार देखिएको छ ।

प्राविधिक विद्यालय र विज्ञान संकायका विद्यार्थीहरूलाई दिँदै आइरहेको ५० प्रतिशत छात्रवृत्ति प्रभावकारी भइरहेको छ । गत वर्षका शैक्षिक योजनाहरूलाई निरन्तरता दिँदै लानुपर्नेछ । शैक्षिक गुणस्तरमा विकास गर्नका लागि आवश्यक योजना निर्माण गर्न जरुरी छ ।

स्वास्थ्यः

प्रदेश सरकारको लगानीमा १५ शैया अस्पतालको नयाँ भवन निर्माण कार्य सम्पन्न भइसकेको छ । खाली रहेको ४ नं. वडाको स्वास्थ्य चौकीको भवन पनि निर्माण भई हाल सबै वडाका स्वास्थ्य संस्थाहरू संचालनमा छन् । रिक्त रहेका स्वास्थ्यकर्मीहरूको दरवन्दीमा करार सेवामा कर्मचारीहरू पदपूर्ति गरी स्वास्थ्य सेवा प्रवाह भइरहेको र आवश्यक औषधी उपकरणहरु, सबै संस्थाहरूलाई उपलब्ध गराई रहेको छ ।

हाम्रो गाउँपालिकामा रहेको ४ वटा अस्पतालहरु DCWC सामुदायिक हस्पिटल, चौंरीदेउरालीको अस्पताल, धुलिखेल अस्पतालका आउट्रिच शाखा देउराली र सलम्बुले मेडिकल अफिसरसहितको दरवन्दी राखेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । कोरोनाको दोश्रो भेरिएन्टको संक्रमणको रोकथाम नियन्त्रण तथा उपचारका लागि DCWC सामुदायिक हस्पिटलमा ३ वेड र चौंरीदेउरालीको अस्पतालमा १५ वेडको आइसोलेसन वार्डहरू निर्माण गरी बिरामीहरुको गुणस्तरीय सेवा प्रदान गरिएको छ ।

गाउँपालिकाभरि ५ जना MBBS डाक्टरहरूलगायत स्वास्थ्यकर्मीहरूले २४ सै घण्टा संक्रमितहरूको उपचारमा खटिइरहनु भएको छ । PCR र एन्टिजेन्ट प्रविधिबाट संक्रमणको परीक्षण टोलटोलमै गएर गरिएको र भर्ना गर्नुपर्ने बिरामीहरूलाई अस्पतालमै ल्याएर उपचार कार्यहरू सन्तोषजनक ढंगले भएको छ ।

विभिन्न दाता, महानुभाव तथा संघसंस्थाहरूबाट अक्सिजन सिलिन्डर कन्सन्सट्रेटर लगायतका स्वास्थ्य सामग्रीहरु समय समयमा उपलब्ध गराइदिनु भएकाले उपचारको प्रक्रियामा निकै सहज हुन पुग्यो। अहोरात्र खटी उपचार सेवा दिनुहुने स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्रीहरू सहयोग गर्नुहुने सबै महानुभावहरूप्रति यो गाउँसभा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु । अब छिट्टै नयाँ भवनबाट सेवा प्रदान गर्ने गरी योजना निर्माण गरिनेछ। ४ वटा एम्बुलेन्सहरूले सन्तोषजनक आकस्मिक सेवा प्रदान गरिरहेका छन् ।

सडक पूर्वाधारः

सबै वडाहरूबाट गाउँपालिका जोड्ने सडकहरूलाई स्तरोन्नति गर्ने क्रममा फराकिलो पारी कटिङ्ग गर्ने कार्य सम्पन्न भइसकेको र नाला बनाई पानी कटाउने कार्य क्रमश हुँदै गएका छन् । ADB को आयोजना सदरमुकाम जिल्ला सदर मुकाम जोड्ने मुख्य सडक कालो पत्रे गर्ने कार्य सम्पन्न भई सकेको र मध्यपहाडी जोड्ने लिङ्क रोडहरु बनिसकेका छन् १, 2, 3 र ४ वटा बाहेक अरु सबै वडाहरू प्रत्यक्ष र अप्रत्यक्ष गरी सबै वडाहरू मध्यपहाडी रोडसँग जोडिसकिएका छन् । कृषि सडक विस्तार गर्ने कार्य निरन्तर रुपमा बढिरहेको छ । सबै वडाका प्रत्यक्ष टोलटोलसम्म बाटोको ट्रयाक जोड्ने कार्य सम्पन्न भइसकेको छ ।

स्तरोन्नति गर्दै सबै सडकहरू १२ महिना चल्ने बनाउने कार्य निरन्तरतामा नै हुने छ। वर्षाद पछि अवरुद्ध भएका सबै सडकहरूलाई सञ्चालन गर्न आवश्यक व्यवस्था निरन्तर गरिरहनु पर्दछ । चौबास हुँदै मादन कुँडारीसम्म जाने बाटो पनि कालो पत्रेको क्रमागत योजनामा भइरहेको छ ।

खानेपानी तथा सरसफाईः

अघिल्लो आर्थिक वर्षदेखि गाउँपालिकाले प्राथमिकतामा राखेको एक घर एक धारा खानेपानीको व्यवस्था गर्ने कार्यक्रम तीव्रतामा सम्पन्न हुन गइरहेको छ । वडा नं. ६ को पाथिभरा लिफ्ट खानेपानी सम्पन्न भई सञ्चालनमा आएको छ । चौरी खोला डोकाडाँडा लिफ्ट खानेपानी सम्पन्नताको अन्तिम चरणमा छ भने मादन कुँडारीको लिफ्ट योजना निर्माण कार्य निरन्तर जारी भइरहेको । डिपबोरीङबाट वडा नं. ५, 6 र ९ मा खानेपानी  सेवा उपलब्ध भई रहेको छ । आगामी वर्षमा हामी ९०% घरमा शुद्ध पिउने पानीको व्यवस्था गर्न सकिन्छ ।

नाग्रेमा निर्माण भइरहेको लिफ्ट खानेपानी र गोठपानीको लिफ्ट खानेपानी सम्पन्न भई सकेपछि हामी एक घर एक धाराको अभियानलाई सम्पन्न गर्न सक्ने छौँ । वडा नं. १, 3 र ४ खानेपानी सम्पन्नताका चरणमा रहेका छन् । यस वर्ष पनि खानेपानी प्राथमिकताको सूचीमा नै रहेको छ ।

युवा तथा खेलकुदः

वडा नं. 1, 2, 3, 4 र ५ मा रहेका खेलकुद मैदानहरूको क्रमशः स्तरोन्नति गर्ने कार्य निरन्तर भइरहेका छन् । साथै गाउँपालिका स्तरीय अध्यक्ष गोल्डकप प्रतियोगिता, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न भइरहेका छन् । युवाहरुलाई खेलकुदप्रति आकर्षित गर्ने पुरस्कारको व्यवस्था गरिएका कारण खेलकुदको विकास क्रमशः भइरहेको छ ।

गाउँपालिका स्तरमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रायः सबै विद्यालयबाट सहभागिता भइरहेको र विद्यालय क्षेत्रमा समेत खेलकुदका माध्यमबाट विद्यार्थीहरू सर्वाङ्गीण विकासमा सहयोगी भूमिका भइरहेको छ । जिल्ला स्तरका खेल प्रतियोगिताहरूमा पनि गाउँपालिकाको तर्फबाट विद्यालयहरूले प्रतिनिधित्व गरिरहेका छन्।

भवन तथा आवासः

भूकम्प पीडितहरूका सुरक्षित आवास निर्माण कार्य लगभग सम्पन्न भइसकेका छन् । जोखिममा रहेका टोल बस्तिका समुदायहरुलाई एकीकृत रुपमा सुरक्षित बस्ति निर्माण गर्ने र स्थानान्तरणको कार्यलाई सुरु गरिएको छ । यद्यपि यसले गति पक्रन भने सकेको छैन । हालसम्म गाउँपालिकाको प्रशासनिक भवन निर्माण भएको छैन । आवश्यक जग्गा व्यवस्थापन गर्न प्रयत्न भइरहेका छन् भने वडा नं. ५, 6, 8 र ९ मा नयाँ वडा कार्यालय भवनहरू निर्माण सम्पन्न भइरहेका छन् ।

वडा नं. 1 र २ का वडा भवनहरू बन्न सकेका छैनन्, बन्ने प्रक्रियामा छन् भने वडा नं. 3, 4 र ७ मा पुरानै भवनहरूलाई मर्मत संभार तथा स्तरोन्नति गरी सेवाप्रवाह भइरहेका छन् । यस सँगै वडा नं. ४ मा स्वास्थ्यको भवन निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आएका छ्न् । कृषि उपज सङ्कलन केन्द्रको भवन निर्माण कार्य सम्पन्नको अन्तिम चरणमा रहेको छ र वडा स्तरमा साना सङ्कलन केन्द्र, महिला सामूदायिक भवनहरू रहेका छन् । मा.वि. तहका विद्यालयहरूमा आधुनिक किसिमका सुविधा सन्पन्न भवनहरु निर्माण कार्य सम्पन्न भई प्रायः सबै सञ्चालनमा आएका छन् ।

उर्जा लघु तथा साना जलविद्युतः

यस गाउँपालिकाका सबै वडाहरूमा विद्युतीकरण सम्पन्न भइरहेका छन् । सामुदायिक विद्युतीकरण भएका कतिपय वडाहरूमा काठका पोल विस्थापित गर्ने कार्य निरन्तरतामा रहेका छन् । लघु जलविद्युत आयोजनाहरूको उचित व्यवस्थापन र उपयोग गर्न भने सकिएको छैन । सबै लघु जलविद्युत आयोजनाहरू लगभग बन्द हुने स्थितिमा रहेका छन् । सौर्य उर्जाको प्रयोग गाउँपालिका र विद्यालयहरुमा भइरहेको छ भने गाउँपालिकाका बिभिन्न

 फाँटहरुमा सोलार पम्पिङ सिंचाई कार्यक्रमहरु संचालनमा छन। सूचना र सञ्चारका लागि इन्टरनेट सेवाका लागि पानी तान्ने, इन्टरनेट सेवा चलाउने कार्य भईरहेका छन् । यद्यपि मौसमको प्रतिकूलता र उचित व्यवस्थापन गर्न नसक्दा भर पर्दो किसिमले उर्जा सेवा लिन सकिएको छैन । वडा नं. २ र ३ मा रहेको हाइड्रोपावरहरू निर्माण कार्य सुरु भइरहेको छ ।

सूचना, सञ्चार र राजस्व परिचालनः

इन्टरनेट सेवालाई भरपर्दो र परिमाणमुखी बनाउन सकिएको छैन । वायरलेस प्रविधिलाई विस्तापित गरी फाइवर केबुल मार्फत सेवाप्रवाह गर्ने प्रक्रियाको थालनी भएको छ । सम्भवतः आ.व. 078/79 मा यो प्रक्रिया सम्पन्न हुनेछ र सबै वडा कार्यालयहरू, स्वास्थ्य चौकीहरू र विद्यालयहरूमा फाइवर केबुल जडान गरी भरपर्दो सेवा प्रदान गरिनेछ ।

चालु आ.व. मा ठेक्का लागेको २ वटा दहत्तर बहत्तरहरू बाहेक मालपोत र सिफारिस दस्तुर बाहेक अन्य स्रोतहरू हाम्रो गाउँपालिकामा रहेका छैनन् । हामीसँग रहेका खोला बगरहरूबाट गुणस्तरीय बालुवा गिट्टी उत्पादन नहुनु र भएका ठाउँहरूबाट पनि ढुवानीका लागि दूरीका हिसाबले अरुसँग प्रतिस्पर्धा गर्न नसक्नुले असाध्यै थोरै मात्र २ स्थानहरूमा ठेक्का लागेका छन् । ढुङ्गा खानी, गिट्टी र क्रसर उद्योग स्थापनाको सम्भावना पनि हामीसँग रहेको छ । यद्यपि जेजति भएको छ, राजस्व सङ्कलनको प्रक्रिया असाध्यै न्यून छ, यसले हाम्रो आन्तरिक स्रोत असाध्यै कमजोर रहेको छ।

(नीति तथा कार्यक्रममा गरिएको समिक्षा)

Comments

comments