काभ्रे जिल्लाको मण्डनदेउपुरमा औद्योगिक ग्राम निर्माण कार्य शुरु भएको छ । १८ करोड लगानीमा बन्न लागेको उक्त औद्योगिक ग्राम वडा नं. ६ को गैरीचौरमा बन्न लागेको हो ।
‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ स्थापना गर्ने सरकारको योजना अनुसा बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागेको नगर प्रमुख टोकबहादुर वाइबाले जानकारी दिएका छन् । नगर प्रमुख वाइबाका अनुरा साविक गैह्रीबिसौना गाविस–३ हाल मण्डनदेउपुर ६ स्थित गैरीचौरमा रहेको कित्ता नम्बर ४४७, ५२३ र ५२४ को करिब दुई सय रोपनी जमिनमध्ये हाल ७० रोपनी क्षेत्रफलमा ग्रामको लागि आवश्यक पूर्वाधार निर्माणको काम सुरु भएको छ ।
‘प्रदेश सरकारले उपलब्ध गराएको एक करोड ५० लाख रुपियाँमध्ये ७७ लाख रुपियाँको काम भएको छ । प्रदेशबाट प्राप्त रकमबाट ग्रामको लागि छुट्याइएको जग्गामध्ये ७० रोपनी जमिनमा तारबार लगाउने, दुई कोठे पाले घर निर्माण र जग्गाको बनोट अनुसार जग्गा सम्याउने काम सम्पन्न भएको छ ।’ वाइबाले भने, ‘औद्योगिक ग्राम निर्मणको लागि नगरपालिकाले गैरीचौरमा रहेको ७७१ रोपनी जग्गा उपलब्ध गराएको छु ।’
चालु आर्थिक वर्षको लागि भने सरकारले ग्राम निर्माण गर्न ५० लाख रुपियाँ रकम विनियोजन गरेको र उक्त रकमले ग्रामको लागि उपलब्ध भएको जग्गा सम्याउने काम गरिने वाइबाले जानकारी दिए ।
नगरपालिकाले हाल बनिरहेको क्षेत्रलाई तीन सय रोपनीमा बिस्तार गरी बहुवर्षिय योजनामा समावेश गरी ग्रामको लागि आवश्यक पूर्वाधारको काम सम्पन्न गर्न आग्रह भएकोले प्रदेश सरकारलाई जानकारी गराएको छ । मण्डनदेउपुरमा निर्माण भईरहेको औद्योगिक ग्राममा एक सयदेखि दुई सय वटासम्म उद्योग स्थापना गर्न सकिने बताइएको छ ।
उक्त औद्योगिक ग्राम नेपालमा नै धेरै क्षेत्रफल रहेको ठुलो औद्योगिक ग्राम हुने दावी रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























