काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका वडा नं. ५ मा वडा स्तरीय फूटबल प्रतियोगिता आइतबार सम्पन्न भएको छ । तिर्थ स्मृति खेलमैदानमा भएको उक्त फूटबल प्रतियोगितामा साविक ९ वटै वडाबाट प्रतियोगिहरुको सहभागीता रहेको थियो ।

भदौ १८ गतेबाट शुरु भएको उक्त प्रतियोगिता २० गते आइतबार एक सम्पन्न भएको थियो । वडा कार्यालयको सहयोगमा भएको उक्त प्रतियोगिता श्री महाकाली युवा क्लबको आयोजनामा भएको थियो ।

प्रतियोगितामा साविकको वडा नं. ७ प्रथम, साविकको वडा नं. ९ द्वितिय र वडा नं. २ तृतीय भएको थियो ।

प्रतियोगिताको समापन गाउँपालिका अध्यक्ष दिननाथ गौतमको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच सम्पन्न भएको थियो ।

वडा स्तरीय उत्कृष्ट खेलाडीहरुको छनौट तथा खेलको विकासको लागि उक्त प्रतियोगिताको आयोजना गरेको वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतम आयुुषले बताए । ‘विभिन्न स्तरको प्रतियोगितामा यस वडाले खेलक्षेत्रमा उत्कृष्टता हासिल गर्न हामीले यो प्रतियोगिताको आयोजना गरेका हौं ।’ वडा अध्यक्ष गौतमले भने, ‘वडा भित्रको प्रतिभा पहिचान, उत्कृष्ट खेलाडीको छनौट तथा खेल विकासको लागि पनि यो प्रतियोगिताको आयोजना गरेका हौं ।’

प्रतियोगितामा प्रथम भएका टिमलाई नगद रु. २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टिमलाई रु. १५ हजार नगद शिल्ड, मेडल र प्रमाणपत्र र तेस्रो हुने टिमलाई रु. १० हजार नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले गरेका थिए ।

यस वडामा गाउँपालिका स्तरीय तिर्थ स्मृति खेल मैदानको निर्माण चरण अन्तिम अवस्थामा पु्गेको वडा अध्यक्ष गौतमले जानकारी दिए । खेल मैदान तयार भएपनि अब कबड हल, प्याराफिट, शौचालय आदि निर्माण गर्न आवश्यक रहेको समेत उनले बताए । यसको लागि पहल भइरहेको उनको भनाइ रहेको छ ।

Comments

comments