चौंरीदेउराली गाउँपालिकाको आठौँ गाउँसभामा आ.व. 2078/079 बजेट वक्तव्य

चौंरीदेउराली गाउँपालिकाको आठौं गाउँसभाका श्रद्बेय सभाध्यक्ष एवम् यस गाउँपालिका अध्यक्ष महोदय,प्रमुख अतिथि संघीय प्रतिनिधि सभाको माननीय सांसद् गंगाबहादुर तामाङ ज्यू,विशेष अतिथि एवम् वागमती प्रदेशका प्रदेश माननीय सांसद् रत्न ढकालज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सम्पूर्ण सदस्यज्यूहरु, गाउँ सभाका सम्पूर्ण सदस्यज्यूहरु, पत्रकारहरु, कर्मचारी मित्रहरु, लगायत यो ऐतिहासिक सभामा उपस्थित सम्पूर्ण महानुभावहरु सबैमा न्यानो अभिवादन सहित हार्दिक स्वागत गर्दछु।कोभिड १९ ले मुलुकलाई थिलथिलो पारिएको यो विषम परिस्थितिका बीच आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्न म यहाँ उभिएकी छु । यस घडीमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएको आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु तथा निरंकुशताको विरुध्द जीवन पर्यन्त संघर्ष गरी दिवंगत नेताहरु, कोभिड १९ महामारीका कारण मृत्यु वरण गरेका नेताहरु कमान सिं लामा र लेखराज गौतम लगायत अन्य सम्पूर्ण व्यक्तिहरु प्रति भावपूर्ण श्रद्धाञ्जी साथै कोरोना संक्रमितहरु सबैमा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

श्रद्बेय अध्यक्ष ज्यू,

विश्वव्यापी रुपमा फैलिएको कोरोना रोगका कारण संसारले एकै पटक मानवीय र आर्थिक संकट सामना गर्नु परेको छ ।जसबाट हाम्रो गाउँपालिका पनि अछुतो रहेन ।यसले हाम्रो अर्थतन्त्रको प्रमुख क्षेत्रहरुमा समेत गम्भीर असर पारिएको  छ ।यस गाउँपालिकाको न्युन आन्तरिक स्रोत र नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण,राजस्व बाडँफाड तथा सशर्त अनुदानबाट गाउँपालिकाको बजेट निर्माणको प्रक्रिया देखि कार्यान्वयनको स्तरसम्म आईपुग्दा गत आ.व. को नीति, कार्यक्रम तथा बजेट सफलता पूर्वक कार्यान्वयन भएको कुरा गौरवका साथ यस उल्लासमय  सभामा राख्‍न पाँउदा हर्षित भएकी छु।

विभिन्‍न कठिनाई र चुनौती बिचबाट गत वर्ष प्रक्षेपण गरिएको आन्तरिक स्रोतलाई आ.व. को अन्तिमसम्म आईपुग्दा गत आ.व. को प्रक्षेपण रु 64 लाख 90 हजार मध्ये कुल आन्तरिक राजस्व तथा ठेक्का आय रु. 51 लाख भएको सम्मानित सभालाई जानकारी गराउन चाहन्छु। वित्तिय समानिकरण, राजस्व बाँडफाड तथा आन्तरिक श्रोत सशर्त अनुदान समेतबाट 73% कुल खर्च भई बजेटको कार्यान्वयनमा भएको व्यहोरा जानकारी गराउदछु। विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड-19 को कारणले पुर्ण रुपमा विकास खर्च गर्न समस्या भएको ब्यहोरा जानकारी गराउन चाहन्छु ।

विगत वर्षको अनुभव र हाल पारिचलन भएका साधन र स्रोत लाई सहि ढंगले संचालन गर्न सकियो भने यस आ.व. मा राजस्व संकलन तथा विकास खर्चमा उत्साह पुर्ण सफलता प्राप्‍त हुने विश्वास लिएकी छु।आ.व. 07८/7९ मा ९१ लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखिएको छ। गत वर्षको राजस्व दर रेट हरुलाई प्राय यथावत कायम गरेको छु।

अध्यक्ष महोदय, अब म यस चौरीदेउराली गाउँपालिकाको आ.व. ०७8/७9 को अनुमानित वजेट पेश गर्न गइरहेको छु। आदरणीय अध्यक्षज्यू, गाउँ सभाका सम्पुर्ण सदस्यज्यूहरु म यस सम्मानित गाउँ सभामा २०७8 आषाढ १० गतको दिन पेश गरेको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि विनियोजित रकम र सो को स्रोत व्यवस्थापनको लागि अनुमान पेश गरेकी छु। जनताका माग तथा आवश्यकताहरुलाई दृष्‍टिगत गरि यस आर्थिक वर्षमा समाविष्‍ट योजनाहरुको कार्यान्वयनमा सवै राजनितिक दलहरु, विषयगत कार्यालयहरु, संघ संस्थाहरु र निजि क्षेत्रबाट पूर्ण सहयोग र सक्रियताको अपेक्षा गर्दछु। आर्थिक वर्ष 2078/079 को लागि नीति तथा कार्यक्रम लागु गर्न कुल वार्षिक बजेटरु. 52 करोड ११ लाख २६ हजार विनियोजन गरिएको छ। उक्त रकम तपसील बमोजिमका स्रोतहरुबाट आम्दानी प्राप्‍त गरिने छ।

आदरणीय सभाध्यक्षज्यू, म व्यय तर्फको अनुमान तपसिल अनुसार पेश गर्न चाहन्छु।

विकास खर्च (प्रशासनिक तथा कार्यालय संचालन र आन्तरिक श्रोत परिचालन बाहेक) खर्च रु. 10 करोड 20 लाख 59 हजारको क्षेत्रगत व्यय अनुमान देहाय बमोजिम पेश गरेकी छु।

तपसिल 

आर्थिक विकास रु. 2 करोड 23 लाख (23%)

सामजिक विकास रु. 4 करोड 65 लाख 09 हजार (45%)

पुर्वाधार विकास रु. 1 करोड 92 लाख (19%)

सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र रु. 1 करोड ४० लाख ५० हजार (13%)‍

कुल विकास बजेट 10 करोड 20 लाख 59 हजार (१००%)

आन्तरिक श्रोत परिचालन रु. 1 करोड 74 लाख 79 हजार मध्ये गतका क्रमागत योजनाको दायित्व भुक्तानी गर्न विकास कुल खर्च 1 करोड 41 लाख 25 हजार

जम्मा कुल विकास खर्च ११ करोड ९५ लाख ३८ हजार

यस गाउँपालिका योजनाबद्व विकासको पाँचौ वर्षमा पुगेको यहाँहरुलाई सर्वविदितै छ। विगत चार वर्षको अवधिमा तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनबाट सामजिक विकास तथा पुर्वाधार विकासमा प्राथमिकता अनुसार उल्लेखनीय प्रगति भएको जानकारी गराउन चाहान्छु। विगत वर्षका गाउँ सभाबाट पारित भएका निति, कार्यक्रम र बजेट कार्यान्वयनको मुल्याङ्कन र समीक्षा गर्दा प्रगतिउन्मुख रहेको छ। विगतका गाउँ सभाबाट पारित नीति, बजेट तथा कार्यक्रमको कार्यान्वयनको अनुभव र सिकाईबाट गाउँपालिकाको दिगो र सन्तुलित विकासका लागि ठोस र योजनाबद्व रुपमा अगडि बढ्ने पृष्‍ठपोषण प्राप्‍त भएको छ।

अन्त्यमा, आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथि, आदरणीय गाउँ सभाका सम्पूर्ण सदस्यज्यूहरु एवम् दिदी बहिनी तथा दाजुभाईहरु कोभिड १९ को जोखिमबाट सुरक्षित रहँदै सबल समृध्द र न्यायपूर्ण गाउँपालिका निर्माणमा योगदान गर्न आव्हान गर्दछु । यस गाउँ सभामा उपस्थित भई आफ्नो अमूल्य समय प्रदान गरी दिनु भएकोमा यहाँहरुलाई हार्दिक धन्यवाद अर्पण गर्दै प्रस्तुत बजेट तथा कार्यक्रम पारित गरिदिनु हुनेछ भन्‍ने विश्‍वास लिएकी छु।

      धन्यवाद !

 ताराकुमारी चौंलागाई

      उपाध्यक्ष

चौंरीदेउराली गाउँपालिका

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।