राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो छुट्टै पहिचान बनाउन सफल विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काभ्रेमा मुख्य कार्यालय भएको यस साकोसको साधारणसभा आज सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष प्रदिप थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बागमती सहकारी विकास बोर्डका सदस्य रामशरण घिमिरे, ज्ञान बहादुर तामाङ र उद्धव सापकोटाको विशेष आतिथ्यता रहेको थियोे ।

कोभिड–१९ बाट जोखिमको विषम परिस्थितिमा नेपाल सरकार, नियमन निकाय एवं छातासंघहरुको निर्देशन तथा मार्गदर्शनलाई समेत मध्यनजर गरी २०७८ असोज २ देखि ९ गते सम्म सदस्यलाई पायक पर्ने सेवा कार्यालय, सेवा केन्द्र एवं विभिन्न ठाउँबाट सदस्य उपस्थिति भेला गरेको थियो । सोही स्थानबाट क्षेत्रगत साधारण सभा प्रतिनिधि चयन गरी २०७८ असोज ११ गते सम्पूर्ण सेवा कार्यालयमा एकै दिन क्षेत्रगत साधारण सभा संचालन गरी सोही सभाबाट निर्णय प्रमाणिकरणका लागि प्रतिनिधि छनौट भएका प्रतिनिधिहरुको उपस्थितिमा २८ औं साधारण सभा समापन गरिएको थियो ।

कार्यक्रममा आ.व. २०७७र०७८ को वार्षिक प्रतिवेदन तथा आ.व. २०७८।७९ को संशोधित र २०७९।८० को प्रस्तावित कार्यक्रम, आ.व. २०७७।०७८ को आर्थिक प्रतिवेदन तथा चालु आ.व. २०७८।७९ को संशोधित र आगामी आ.व. २०७९।८० को प्रस्तावित बजेट तथा कार्यक्रम, आ.व. २०७७।०७८ को लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, आ.व. २०७७।०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन, आ.व. २०७८।०७९ को वार्षिक लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक, पाँचौ त्रिवर्षिय व्यवसायिक रणनीतिक योजना, विनियम तथा नियमावली र कार्यविधि संशोधन, सहकारी एकिकरण र संरक्षित पूँजी फिर्ता कोष निर्देशिका २०७७ संशोधन २०७८ लाई सर्वसम्वत परित गरिएको थियो ।

साधारण सभा समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा बागमती सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाले संस्थाले संचालन गरेका वित्तीय तथा गैह्रवित्तीय सेवाका बारेमा प्रशंसा गर्दै संस्थाले सदस्यहरुबाट उत्पादित कृषि सामाग्री संकलन गरी सोको ब्रान्डिङ् एवं उद्यमशिलता गर्नुपर्ने र विकास बोर्ड पनि त्यसमा सहयोग गर्न तत्पर भएको प्रतिवद्धता व्यक्त गरे ।

संस्थाले साधारण सभाको अवसरमा वागमती प्रदेश सहकारी विकास बोर्डको उपाध्यक्ष पदमा मनोनित भएका उपाध्यक्ष नारायण प्रसाद देवकोटा लगायत सहकारी बोर्डका सदस्यहरु रामशरण घिमिरे, उद्धब सापकोटा, शान्ती अधिकारी र ज्ञान वहादुर तामाङलाई कार्यकाल सफलताको शुभकामना सहित बधाईपत्र प्रदान गरिएको थियो ।

१० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष

समूहगत र क्षेत्रगत अवधारणामा संचालित विन्धवासिनी साकोसले सामाजिक तथा सामुदायिक कार्यक्रम संचालन गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरि काभ्रेपलाञ्चोक तथा काठमाडौ जिल्ला भित्र १८९३ वटा समूह मार्फत ४१ हजार सात सय ४४ जना शेयर सदस्य र ८ हजार २ सय ९४ जना शैक्षिक बाल बचतकर्ता गरी कुल ५० हजार ३८ जना सेवाग्राहीलाई सहकारी सेवा प्रदान गरी रु. ३८ करोड ५७ लाख १२ हजार शेयर पूँजी, रु. २ अर्व ८१ करोड ८७ लाख ४८ हजार बचत तथा निक्षेप र रु. २ अर्व ८७ करोड ९८ लाख ६२ हजार ऋण लगानीमा वाँकी रहेको र रु. ३ अर्ब ८७ करोड ७२ लाख ८६ हजार कूल सम्पति र्पुयाउन संस्था सफल भएको र पाँचौ त्रिवर्षीय व्यवसायिक योजना अनुसार आ.व।.२०८१।८२ सम्ममा एक लाख पाँच हजारलाई प्रतिस्पर्धी सेवा प्रदान गरी रु. १० अर्ब १२ करोड ५१ लाख कारोबार गर्ने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत केवि लामाले जानकारी दिए ।

कार्य सम्पादनमा अब्बल

संस्थाले वित्तीय कारोबार लगायत सदस्य सुरक्षण कार्यक्रम, लघुवित्त कार्यक्रम, लघु जीवन विमा, पशु विमा, बाली विमा, विपे्रषण, ज्ञानमा आधारित विशेष कृषि कार्यक्रम, स्थानीय तहको सहकार्यमा व्याज अनुदान, सहुलियत ऋण, सामाजिक तथा सामुदायिक कार्यक्रमका साथै सदस्यहरुलाई अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैकिङ्ग, ट्वावलेट बैकिङ्ग, एटिएम सेवा, बैंक र संस्था बिच फण्ड ट्रान्सफर सेवा लगायतका कार्यहरु गर्दै आएकोछ ।

साथै राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट सहकारी पुरस्कार, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार, उत्कृष्ट व्यवस्थापक पुरस्कार, उत्कृष्ट करदाता सम्मान, अन्तर्राष्ट्रिय स्तरमा CUMI Award , ACCESS Silver Brand, कोभिड १९ को महामारीमा उत्कृष्ट सदस्य सम्मान २०७८, संस्थाका प्रमुख कार्यकारी अधिकृत के.बि.लामा International Credit Union Outstanding Executive Award 2021 बाट सम्मानित हुन सफल भएको कार्यक्रममा जानकारी गराईएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले स्वागत मन्तव्यद्वारा उपस्थितिहरुलाई स्वागत गरेका थिए भने संस्थाका सचिव रामशरण भण्डारीले संचालन गरेका थिए । कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका सदस्यहरु रामशण घिमिरे, ज्ञान बहादुर तामाङ र उद्धव सापकोटा, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को महासचिव एवं नेफ्स्कूनको संचालक जिबसराज खड्का, जिल्ला सहकारी संघ काभे्रका अध्यक्ष दिलिप शर्मा, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रिराज तिमल्सिना लगायतले विन्धवासिनी साकोसका उपलब्धीका बारेमा खुलेर प्रशंसा गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।