काभ्रे जिल्लाको रोशी सरकारले बाल कक्षा शिक्षक अनिता लामालाई ‘बेस्ट इसिडि टिचर’ अवार्ड प्रदान गरेको छ । वडा नं. ३ भदौरेमा रहेको सरस्वती प्राथमिक विद्यालयका बाल कक्षा शिक्षक लामालाई गाउँपालिका अध्यक्ष डिबी लामाले मंगलबार ‘बेस्ट इ.सि.डि. टिचर’ अवार्ड प्रदान गरेको हो ।

रोशी गाउँपालिका भरिको ७० जना बाल कक्षा शिक्षकहरु मध्येमा उनी उत्कृष्ट बाल कक्षा शिक्षक घोषणा भएको थियो । शिक्षक लामाले बालबालिकाको सिकाई उपलब्धि, कक्षा कोठा व्यवस्थापन, अभिभावक शिक्षा कार्यक्रम तथा घुम्ती वैठक सञ्चालनमा आफ्नो जिम्मेवारी उत्कृष्ट रुपमा प्रदर्शन गरेकी थिइन् ।

‘घर बलियो जगले राष्ट्र बलियो प्रारम्भिक बाल विकासले’ भन्ने मूल नारालाई आत्म सात गर्दै रोशी गाउँपालिकाको सहयोगमा नाङशाल एशोसियसन नेपालद्वारा सञ्चालन गरेको प्रारम्भिक साक्षरता र गणित कार्यक्रमले तोकिएको न्यूनतम मापदण्ड अनुरुप पनि उत्कृष्ट भएकाले अवार्ड हात पार्न सफल भएको कार्यक्रमका सहजकर्ता सिर्जना तामाङले जानकारी दिए ।

वर्षौ देखि न्यून पारिश्रमिकमा काम गर्दै आएका बाल कक्षा शिक्षकको मासिक तलव सरकारको निर्देशन बमोजिम रोशी गाउँपालिकाले थप गरी हाल मासिक १५ हजार पुगेको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लामाले बाल कक्षा शिक्षकको मेहनत, गुनासो र आवश्यकताको कदर गर्दै पालिकाले सहर्ष स्वीकार्दै कार्यन्वयन गरेकोमा बालकक्षा शिक्षकहरुलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा बाल कक्षा शिक्षक विना लामाले अन्य पालिकामा आफूहरु जस्ता शिक्षकहरु आफ्नो माग पूरा गर्न आन्दोलन गरिरहँदा रोशी गाउँपालिकाले सहजै रुपमा बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गरे । आगामी दिनमा पनि शिक्षा शाखा मार्फत आफूहरुले पूरा गर्नु पर्ने जिम्मेवारी खुसीका साथ पूरा गर्ने बाल कक्षा शिक्षक लामाले प्रतिबद्धता जनाए ।

कार्यक्रमा शिक्षा शाखा प्रमुख राम लामाको समेत उपस्थिति थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।