काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० चण्डेनीमण्डनमा स्वास्थ्यचौकीको नयाँ भवन बन्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मंगलबार शिलान्यास गरेसँग उक्त स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको हो ।
२०७२ साल बैशाख १२ गतेको भुकम्प र त्यस यताको पराकम्पले पहिलेको स्वास्थ्य चौकी भवन क्षति ग्रस्त बनेको थियो ।
२ करोड ८२ लाख ६५ हजार १२१ रूपैयाँ लागतमा निर्माण हुन लागेको उक्त स्वास्थ्य चौकी भवन बढीमा १८ महिनाभित्र निर्माण पुरा भैसक्ने वडाध्यक्ष बिष्णुमणि नेपालले जानकारी जानकारी दिए ।
स्वास्थ्य चौकी निर्माणपछि वडाबासीलाई स्वास्थ्य सेवा प्राप्त गर्न थप सहयोग हुने वडा सदस्य एवं नगर कार्यपालिका सदस्य गिता नेपालले बताईन् ।
निर्माण कम्पनी कम्पनीका प्रमुख राजेश गौतमले सबैको सहयोग मिल्यो भने २०७९ असारसम्म बुझाईसक्ने प्रतिबद्धता जनाए । अहिलेसम्म आफ्नो कम्पनीले म्याद थप गरेर काम नगरेको स्मरण गराउँदै यो स्वास्थ्य चौकी भवन पनि तोकिएको भन्दा अघि नै सकाउने बताए ।
काभ्रे जिल्लामा नेपाल सरकारबाट ११ वटा र भारत सरकारको आर्थिक सहयोगमा १२ वटा निर्माण भैरहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन) काभ्रेका प्रमुख सन्तोष निरौलाले जानकारी दिए । समयमै यो स्वास्थ्य चौकी निर्माण सम्पन्न हुनेमा आफु विश्वस्त रहेको उनको भनाई छ ।
कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, कांग्रेस काभ्रेका उपसभापति अच्युत पौडेल, पूर्व गृह सचिब एवं प्रधानमन्त्री शेर बहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन नेपाल लगायतले भवनको गुणस्तरीयताका लागि चनाखो हुन आग्रह गरेका थिए ।
हालको स्वास्थ्य चौकी रहेको कटहरेचौरमै नयाँ भवन निर्माण सुरू गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















