मकवानपुरको पूर्वी क्षेत्र वागमती गाउँपालिका वडा नम्बर ३ स्थित घट्टा डाँडामा विद्युत सेवा बिस्तार भएको छ । उक्त गाउँमा बागमती गाउपालिका अध्यक्ष सर्केस घलान (मधु)ले स्वीच दबाएर बिजुली बत्तीको उद्घाटन गरेका हुन् ।

विगत लामो समयदेखि सोलार र टुकी बत्तीमा निर्भर रहेको बस्तीमा बिजुली बत्तीको उज्यालो सेवा पुगेपछि वडा नम्बर ३ को तीनभंगले, माझीटोल, घट्टदमार, सल्यानी, चिरुवा र जरायोटारबासीले अध्याँरोबाट मुक्ति पाएको वडाध्यक्ष बल बहादुर पाख्रिनले जानकारी दिए ।

सो गाउँलाई सहिदहरुको गाउँको रुपमा समेत परिचित छ । यो गाउँमा विजुली बत्ति बाल्न पाउँदा आफूहरु खुशी भएको गाउँपालिका अध्यक्ष घ्लानले बताए । ‘दश वर्षे जनयुद्धका क्रममा राम बहादुर भोलन (सम्तेन), मान बहादुर पाख्रिन (मौसम), बट्टु माया पाख्रिन (अन्जु), गणेश पाख्रिन (चट्याङ) र छविलाल बिक (अर्जुन) लगायत पाँच जना युवाले ज्यान गुमाएको गाउँमा बिजुली बत्ति पु¥याउन पाउँदा हामी खुशी छौं ।’ गाउँपालिका अध्यक्ष घ्लानले भने, ‘स्थानीय सरकार आएपछि पालिकाको पहल बत्ति बाल्न सफल भएका हौं ।’

करिब पाँच सय १९ धुरी रहेको वडामा गत वर्ष दुई सय ३५ धुरी र हाल एकसय ३९ धुरी गरी कुल तीनसय ७४ धुरीमा बत्तीको सेवा पुगेको र बाँकी टोल बस्तीका धुरीहरुमा पनि विस्तार भइरहेको वडा अध्यक्ष पाख्रिनले बताए ।

उद्घाटन कार्यक्रममा बागमती गाउपलिका प्रशासकीय प्रमुख दिलीपकुमार श्रेष्ठ, लेखा अधिकृत झम्क घलान, विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्र फापरबारी फ्युज शाखा इन्चार्ज माधव थापा, बागमती कार्यपालिका सदस्य भगवती माझी, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय सदस्य दिल दोर्जे पाख्रिन, नेकपा माओवादी केन्द्र बागमती गाउपालिका पार्टी कमिटी अध्यक्ष अरुण बल, सदस्य सुनिल बज्यु, वाइसीएल बागमती प्रदेश कमिटी सदस्य विष्णु नेगी, बागमती गाउँपालिका वाइसीएल अध्यक्ष मुक्ति लामा, वडापालिका सदस्य वीर बहादुर थिङ, सहिद परिवार हिमाल बिक लगायतको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।