रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामाको आमा–बुबा प्रति समर्पित तामाङ भाषाको म्युजिक भिडियो ‘आपा–आमा’ यूट्युब मार्फत सार्वजनिक भएको छ । विहीबार एक कार्यक्रमका बीच बौद्ध धर्म गुरु तथा चर्चित गायिका आनी छोइङ डोल्मोले उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

बुबा–आमा प्रतिको प्रेमलाई यथार्थमा उतारेर गाउँपालिका अध्यक्ष लामाले लेखेका गीतको उक्त म्युजिक भिडियो चन्द्रदेव मोक्तान प्रतिष्ठानले निर्माण गरिएको हो । राजनीतिज्ञ तथा समाजसेवी स्वर्गीय चन्द्रदेव मोक्तानको नाममा स्थापना गरेको उक्त प्रतिष्ठानको पहिलो प्रस्तुतीको रुपमा यो म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

बुबा–आमा प्रतिको गहिरो प्रेम र आमाबुबाले आफ्ना सन्तान प्रति गरेको प्रेमलाई यहाँ यथार्थमा चित्रण गरिएको छ । लेकबेसी गर्दा आफ्ना बच्चालाई डोकोमा बोकेर स्याहारेको र आमाबुबाले सधैं आफ्ना छोराछोरीलाई सदमार्ग मात्र देखाउने गरेको म्युजिक भिडियोमा देखाएको छ ।

आफ्नो जीवनको वास्तविक घट्नामा आधारीत लामाको उक्त म्युजिक भिडियोमा आमा–बुबालाई साक्षत भगवान हो भन्ने कुरा पुष्टि हुने गरि प्रस्तुत गरिएको छ । म्युजिक भिडियोको मुख्य पात्रको रुपमा तामाङ चलचित्र संघका अध्यक्ष, तामाङ चलचित्रका महानायक तथा स्वर्गीय चन्द्रदेव मोक्तानका माइलो छोरा कुमार मोक्तानले अभिनय गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेकी अनि छोइङ डोल्माले मान्छे वास्त्रले ‘हेन्डसम’ नभई आमा–बुबा प्रति सम्मान गर्ने मान्छे मात्र ‘हेन्डसम’ लागेको बताईन् । आमा बुबालाई अगाध प्रेम गर्ने अध्यक्ष डिवी लामा आफूलाई साँच्चै ‘हेन्डसम’ लागेको उनले प्रष्ट पारिन् ।

आमाबुबालाई खुशी होइन माया दिउँ

म्युजिक भिडियोकोबारेमा प्रकाश पार्दै अध्यक्ष लामाले आफ्नो बुबाको शब्द सापटी लिएर नै यो गीत रचेको बताए । आफ्नो जन्मदिनको उपलक्ष्यमा असहयहरुलाई सहयोग गर्दै आएका लामाले बुबा र आमाको नाममा एउटा संस्था मार्फत सेवा गर्ने उद्देश्यले प्रतिष्ठानको स्थापना गरेको जानकारी दिए ।

‘पारिवारिक एकता र बुबा–आमालाई जिवित राख्ने उद्देश्य हामीले यो प्रतिष्ठान स्थापना गरेका हौं ।’ उनले भने, ‘बुबाको शब्दहरुको सापटी लिएर नै रचेको गीत हो यो ।’

बुबा आमा आफ्नो साथीको रुपमा रहेको बताउँदै लामाले आफ्ना बुबालाई असल राजनितीज्ञ र समाजसेवीको रुपमा स्मरण गरे । बुबाको पाँचौ स्मृतिमा आफूलाई आमाले डोकोमा राखेर लेकबेसी गरेर धेरै कष्ट बोहोरेको स्मरण गरे ।

कार्यक्रममा लामाले आफ्नो साक्षत भगवान आफ्नो आमा र बुबालाई मानेको बताए । ‘धर्मलाई म धेरै सम्मान गर्छु । बिश्वास पनि गर्छु ।’ उनले भने, ‘तर मेरो साक्षत भगवान मेरो आमा र बुबालाई मान्छु । त्यसैले जे गर्नु छ जिउँदो रहँदै आमा बुबालाई माया दिउँ ।’

त्यसैगरी आफ्ना बुबालाई स्मरण गर्दै नायक कुमार मोक्तानले आपा आमालाई माया गरौं भन्ने सन्देशका साथ म्युजिक भिडियो निर्माण भएको चर्चा गरे । ‘आपा आमा बिशेश नाम हो । आपा आमालाई माया गरौं ।’ नायक मोक्तानले भने, ‘यसको मतलब आमा बुबालाई कसैले माया गर्दैन भन्ने होइन । ट्राफिक नियम हुँदाहुँदै पनि कहिलेकाही हामी उल्लंघन गर्न पुग्छौं । यो म्युजिक भिडियो सचेत गराउन मात्र हो ।’

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी भुपेन्द्रबहादुर क्षेत्री, रोशी–७ का वडा अध्यक्ष पोष्टराज गौतम लगायतले मन्तव्य राखेका थिए ।

सो अवसरमा गाउँपालिका अध्यक्ष लामाले प्रतिष्ठानको तर्फबाट मंगल जनविजय माविमा इन्जीनियरीङ विषय लिएर अध्ययन गर्ने २ जना विद्यार्थीलाई पूर्ण छात्रबृत्तिको व्यवस्था गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

भिडियो हेर्नुहोस्ः

Comments

comments