काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा सञ्चालन भएको तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना अन्तर्गत पहिलो चरणको काम सकिए पछि प्रतिनिधिसभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)को नेतृत्वमा अनुगमन भएको छ । पहिलो चरण अन्तर्गत मुहानको सबै काम सकिएको र मुहान देखि मुख्य ट्याङकी रहेको ठाउँबेलडाँडामा पानी खसाल्ने काम सम्पन्न भएपछि सांसद तामाङले अनुगमन गरेका हुन् ।

सांसद तामाङले मुहानको प्रशोधन केन्द्र देखि याङवेल स्थित मुख्य ट्याङकीको अवलोकन गर्दै शुद्ध खानेपानी पिउने तेमालबासी जनताको इच्छा चाँडै पुरा हुनेमा आफु विश्वस्त रहेको बताए ।
‘बाढीपछि मुहान क्षेत्रको हेर्दा पुग्दा म निकै निराश भएको थिए । तर आज लगभग पुरानै अवस्थामा मुहान देख्न पाइयो । सुनकोशीको पानी प्रशोधन भएर याङवेल डाँडामा समेत खसेको प्रत्यक्ष देख्न पाउँदा निकै खुशी लागेको छ ।’ तामाङले भने, ‘ अब छिट्टै तेमालका सबै नागरिकको घर घरमा पानी पुग्नेछ भन्ने विश्वास लिएको छु । त्यसका लागि मैले गर्नु पर्ने पहल गर्न प्रतिबद्ध छु ।’

खानेपानी तथा ढल ब्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियिर रामेश्वर घिमिरले निर्माण कम्पनीलाई यहि चैत महिनासम्मको मात्रै म्याद रहेको जानकारी दिए । ‘पछिल्लो समय काम निकै रफ्तारमा भइरहेको छ । यही गतिमा काम निरन्तर भइरह्यो भने हामीले यहि वर्षको चैत महिनाभित्र पानी वितरणको काम सकिसक्छौँ ।’ घिमिरेले भने, ‘त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्न आवश्यक छ ।’

यसैबीच संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले आयोजनाको कामलाई जतिसक्दो छिटो सकाएर काकाकुल अवस्थामा रहेको तेमालमा शुद्ध पानी वितरण गर्न आफुहरु पनि लागिपरेको बताए । ‘पहिलो चरणको काम सकिएपछि धेरै नै आश पलाएको छ । अब पाइप लाइन बिछ्याउने काम मात्रै बाँकी छ । यसलाई पनि छिटो भन्दा छिटो सकाएर घर घरमा पानी पुर्‍याउन हामी जुटिरहेका छौँ ।’

निर्माण कम्पनीको बसन्त चन्दले उपभोक्ता समितिले गर्नुपर्ने १० प्रतिशत बापतको काम अघि बढाए आफुहरुको काम लगभग अन्तिम चरणमा पुगेको बताए । ‘हामीले गर्नुपर्ने काम लगभग अन्तिम चरणमा पुगेको छ । अब धेरै काम उपभोक्ता समितिले गर्नुपर्ने मात्रै छ ।’ चन्दले भने, ‘यदि उपभोक्ता समितिले आफ्नो दायित्व अनुसारको काम गर्ने हो भने यसै वर्षको चैत महिनाभित्र आयोजनाको सबै सकिएन्छ । घर घरमा पानी पुग्छ ।’

आयोजना अन्तर्गत २३ वटा ट्याङकी मध्ये ११ वटामा अबको एक हप्ता भित्र पानी संकलन गर्न मिल्ने चन्द्राले जानकारी दिए ।

तेमाल बृहत सुख्खा क्षेत्र खानेपानी आयोजनाको मुहान गत असार १, साउन १७, १८ र १९ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएको थियो । निकै मेहेनतपछि मुहानलाई पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम अहिले धमाधम भइरहेको छ । प्रशोधन केन्द्रबाट मुख्य ट्याङकीसम्मको पाइपमा सफल परीक्षण समेत भइसकेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।