काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले आफ्नो गाउँपालिका भित्र आत्मनिर्भर र शिपमुलक शिक्षामा जोड दिएको बताएका छन् । शुक्रबार काभ्रेको चौंरीदेउराली गाउँपालिका वडा नं. ६, कातिकेदेउरालीमा रहेको श्री प्रभा माविको नवनिर्मित भवन उद्घाटन, अभिभावक भेला तथा चौथो साधारणसभा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले उक्त कुरा बताएका हुन् ।
गाउँपालिका भित्रका विभिन्न विद्यालयहरुमा कृषि, भेटेनरी र विज्ञान विषय पठनपाठन गर्दै आएको बताउँदै सो शिक्षा प्रति गाउँपालिका भित्रकै विद्यार्थीहरुको आकर्षण कम रहेकोमा चिन्ता व्यक्त गरे । ‘गाउँपालिकाले आत्मनिर्भर र शिपमुलक शिक्षामा हामीले जोड दिएका छौ । विभिन्न विद्यालयहरुमा कृषि, भेटेनरी र विज्ञान शिक्षालाई प्राथमिकता दिएका छौं ।’ अध्यक्ष गौतमले भने, ‘हामीले पैसा तिरिदिन्छौ पढ्न आउनु होला भन्दा पनि गाउँपालिका भित्रको विद्यार्थीहरु कम रहेका छन् । विभिन्न जिल्लाको विद्यार्थीहरुको आकर्षण देखिन्छ ।’
गुणस्तरीय शिक्षामा गाउँपालिकाले जोड दिएको समेत उनले बताए । ‘अब गाउँपालिकामा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि साधन स्रोतको अभाव छैन ।’ उनले भने, ‘अब गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक छ । गाउँपालिका भरिका विद्यार्थी पढ्ने वातावरण बनाउन आबश्यक छ ।’
एक अर्को प्रसंगमा अध्यक्ष गौतमले प्रभा मावि गाउँपालिका भित्रका विद्यालयहरुको नेता विद्यालय रहेको चर्चा गर्दै हिजोको प्रभा र आजको प्रभा निक्कै फरक रहेको बताए । ‘हामी पढ्ने बेला भुइमा बसेर पढ्यौं । अहिले पूरै परिवर्तन भएको छ ।’ उनले भने, ‘अब शहरका विद्यार्थीहरु समेत यहाँ पढ्न आउने वातावरण बनाउन गाउँपालिका प्रतिबद्ध छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















