बागमती प्रदेशमा शनिबार (भोलि) देखि ‘प्रथम प्रदेश खेलकुद प्रतियोगिता’ शुरु हुँदैछ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री रत्न ढकालले प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएका छन् । आफू मन्त्री हुनसाथ प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको बारेमा योजना बनाए बमोजिम प्रतियोगिता हुन लागेको मन्त्री ढकालले बताए ।

प्रदेश राजधानी हेटौंडामा शनिबार बृहत रुपमा खेलको उद्घाटन गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार हेटौंडाको क्याम्पाचौरमा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुती, विद्यार्थीहरुद्धारा ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, विभिन्न झाँकी तथा साँस्कृतिक कार्यक्रमहरुका साथ प्रतियोगिताको उद्घाटन गरिने छ ।

मकवानपुर, चितवन, काभ्रे, काठमाडौं र सिन्धुपाल्चोक जिल्लामा विभिन्न खेलको प्रतियोगिता गराइने योजना रहेको छ । आयोजकका अनुसार मकवानपुरमा २९ गते आइतबारबाट पुरुष फुटबल, व्याडम्निटन र चैत्र ५ गतेबाट तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखी भलिबल र क्रिकेट खेल सुरु हुने छ ।

सिन्धुपाल्चोकमा भने चैत्र ७ गतेबाट कराँते खेल हुनेछ भने काठमाडौंमा चैत्र ६ गतेदेखी एथलेटिक्स प्रतियोगिता हुने जनाइएको छ । त्यस्तै, काभ्रेमा भने चैत्र ७ गतेदेखी महिला फुटबल र ९ गतेदेखी बक्सिङ खेल प्रतियोगिता हुने छ ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रकम खर्च हुने अनुमान गरेको छ । विभिन्न खेलमा करिब २ हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउनेछन् । खेलको समापन कार्यक्रम १२ गते शनिबार काभ्रेको धुलिखेलमा हुनेछ ।

Comments

comments