काभ्रे जिल्लाभरिका सहकारीका प्रमुखहरुलाई धुलिखेलमा तालिम दिएको छ । जिल्ला सहकारी संघ, काभ्रेको आयोजनामा विहीबारदेखि उक्त तालिम दिएको हो ।

तालिममा सहकारीको प्रबन्धक र सिइओहरुको सहभागी रहेको छ । जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माका अनुसार तालिममा काभ्रेपलाञ्चोक जिल्ला सहकारीको हव हो र यसले समग्र नेपालको नेतृत्व गर्छ भन्ने सन्देश दिन, वित्तिय व्यवस्थापन, सहकारी मार्फत उद्यमशिलताको विकास गर्दै ऋण लगानी र असुलीको विधी बारे सिकाउन र सहकारी विज्ञहरुद्वारा सहकारीको महत्वलाई उजागर गराउन यो तालिमको आयोजना गरिएको हो ।

तालिमको कोअपरेटिभ मेनेजर्स क्लब, काभ्रेको व्यवस्थापनमा भएको आयोजकले बताएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले श्रम सहकारीको प्रावधानले मिनी ठेकेदार जन्माउने बताएका छन् । श्रम सहकारीको अवधारणा ठेकेदार प्रवृत्तिमा आएकोले यो अभियान विपरित हुने उनको भनाई छ ।

बजेटले श्रम सहकारीमार्फत १० करोड सम्मको ठेक्का लिन पाउने व्यवस्थाले सहकारी अभियानलाई नै पछि धकेल्न सक्ने संकेत उनले गरे । सहकारीले सदस्यबीच सहकार्य गरी उनीहरुकै आर्थिक, सामाजिक उत्थानका लागि काम गर्ने भन्दै उनले भने – ‘सदस्यले ज्यालामा काम गर्दैन श्रमको माध्यमबाट आर्थिक स्तर माथि उकास्छन् । तर श्रम, ज्याला र ठेक्कामा काम गर्ने सहकारी कस्तो हुन्छन् ? उनले प्रश्न गरे । त्यस्ता संस्था मिनी ठेकेदार मात्रै हुन् ।’

दुई दिने गोष्ठीको पहिलो दिनमा प्रभावकारी वित्तीय संरचनाको विषयमा विषय विज्ञ कुवेर निरौलाले प्रस्तुतिकरण गर्ने, राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भूमिका विषयमा डा. देवराज रोकाले, प्रभावकारी ऋण असुली विषयमा प्रकाश पोखरेलले र सहकारीमा मोबाइल बैंकिङ विषयमा सन्जय महासेठले प्रस्तुति गरेको थियो ।

जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक डि.बी. बस्नेत, नेफ्स्कुनका अध्यक्ष परितोष पौड्याल, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्री तिमल्सिना, राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे, बागमती प्रोस्कुनका अध्यक्ष उद्धव सापकोटा, जिल्ला सहकारी संघ, काभ्रेका सल्लाहकारहरु टिकाबल्लभ सापकोटा, विनोद पराजुली, मुकुन्दप्रसाद दाहाल, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष जितेन्द्र नकर्मी, जिल्ला बहुउद्देश्यीय सहकारी संघ, काभ्रेका अध्यक्ष विधान जोशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा काभ्रेका १३ स्थानीय तहका सहकारीका व्यवस्थापक सहभागी भएका छन् । कार्यक्रममा ज्ञानेन्द्र दाहालले काभ्रेको सहकारीको विकासको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस्तै विषयविज्ञ कुवेर निरौलाले सहकारीमा वित्तिय व्यवस्थापको बारेमा प्रशिक्षण दिएका थिए । त्यस्तै राष्ट्रिय अर्थतन्त्र निर्माणमा सहकारीको भुमिकाको बिषयमा डा. देवराज रोका र प्रभावकारी ऋण असुलीका बारेमा प्रकाश पोखरेलले कक्षा लिएका थिए । तालिमका जिल्ला भरिका १ सय २९ जना सहभागी रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।