मल कारखाना स्थापना गर्न वागमती प्रदेश सरकार र काठमाडौं विश्वविद्यालय बीच बिस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का लागि संझौता भएको छ । हेटौँडामा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी मन्त्री बसुन्धारा हुमागाईं र केयु बीच रसायनिक मलको कारखानाको डिपीआर तयार गर्न सम्झदारी भएको हो ।
डिपीआर गर्न मन्त्रालयले केयुलाई २० लाख रूपैयाँ यो आर्थिक वर्षमा प्रदान गर्नेछ । मन्त्रालयले थप ३० लाख रूपैयाँ प्रदान गर्नेछ । केयुले मल कारखानाको क्षमता, लागत, प्रविधि, कारखाना राख्ने ठाउँ सहितको अध्ययन गर्नेछ ।
सम्झदारी कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाई, कृषि तथा पशुपंक्षी विकास राज्य मन्त्री तामाङ, सचिव डाक्टर शरण कुमार पाण्डे लगायतका अधिकारीहरू सहभागी थियो ।
केयुको तर्फबाट उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख प्राध्यापक डाक्टर विराज सिं थापा, प्राज्ञिक औद्योगिक संयोजक डाक्टर राम लामा, वातावरण ईन्जिनियर लक्ष्मण लामा रहेका थिए ।
कृषि तथा पशुपंक्षी मन्त्री हुमागाईंले मन्त्री भए लगत्तै नेपालमै रसायनिक मल कारखाना खोल्ने भनाई राख्दै आएका थिए । मन्त्री हुमागाईकै पहल र समन्वयमा यस अघि मल कारखाना खोल्ने बारे हेटौंडामै छलफल भएको थियो ।
केयुसंगको सम्झदारीले कृषि मन्त्री हुमागाईंको योजनाले सार्थकता पाएको छ । केयुले एक वर्षभित्र मल कारखानाको बिस्तृत प्रतिवेदन बागमती प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई बुझाउने हाइड्रोजन ल्याब प्रमुख थापाले बताए । २०८१ सालभित्र अध्ययन पुरा हुनेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























