नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक बर्षदेखि संघीय सरकारले सञ्चालन गर्दै आएको विद्यार्थी पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाबाट पनि बजेट विनियोजन गरेको छ । आगामी आर्थिक बर्षदेखि विद्यार्थी पोषण कार्यक्रम संचालनका लागि संघीय सरकारबाट प्राप्त अनुदानमा नगरपालिकाबाट शतप्रतिशत थपगरी दिवा खाजा कार्यक्रमलाई प्रभावकारी र पोषणयुक्त तवरले पर्याप्त बनाईने नगर प्रमुख कुनसाङ लामाले बताए ।
यस्तै नीति तथा कार्यक्रममा स्थानीय पाठ्यक्रम निर्माण गर्ने, कक्षा १ देखि ५ सम्म क्रमश अंग्रेजी माध्यमबाट पढाईको व्यवस्थापन गर्ने, नगर भित्र कम्तीमा एउटा अगुवा विद्यालय स्थापना गर्दै वार्षिक सिकाई मेलाको आयोजना गर्ने र आमन्त्रित विज्ञ अतिथि शिक्षकको सुरुवात गरिने उल्लेख छ ।
यस्तै खाद्यवस्तु, फलफूल, तरकारी तथा पशुजन्य उत्पादनको लागत घटाउन कृषक सहयोग कार्यक्रम लागू गरिनेछ।कृषि उत्पादन र उत्पादकत्व बढाउन माटो उपचारको लागि माटो मिनि ल्याव तथा गुणस्तरीय भेटेरिनरी ल्याव स्थापना र सञ्चालन गर्ने, घुम्ती बाली उपचार शिविर, माटो परीक्षण शिविर जस्ता कार्यक्रमहरु सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै संघीय सरकारको सहयोगमा सम्भाव्यता अध्ययन गरी विशेष क्षेत्र विशेष बाली कार्यक्रम सञ्चालन गर्ने, एक वडा एक नमुना कृषि तथा पशु फर्म कार्यक्रम सञ्चालन गर्ने तथा रासायनिक मलको आपूर्तिलाई सुनिश्चित गर्न कृषि सहकारीसँगको समन्वयमा मल बैंकको स्थापना गर्ने नीति तथा कार्यक्रम नमोबुद्धले सार्वजनिक गरेको छ ।
यसैगरी, स्थिर पुँजी पाँच लाखसम्म भएका लघु उद्यमहरुलाई नगरपालिकामा व्यवसाय दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण रुपमा छुट गर्ने साथै महिला उद्यमीको मात्र स्वामित्व रहने गरी उद्योग वा फर्म दर्ता गराएमा त्यस्तो उद्योग वा फर्म नगरपालिकामा दर्ता गर्दा कानुन बमोजिम लाग्ने दस्तुर वा शुल्कमा पूर्ण छुट दिइने तथा स्थानीय उत्पादनहरुको संकलन गरि बजारको मुख्य भाग वा मार्गहरुमा बिक्री केन्द्र नमोबुद्ध उपहार घर मार्फत बिक्री वितरणको व्यवस्था गर्ने नगर प्रमुख लामाले बताए । यस्तै आगामी वर्ष नमोबुद्ध भ्रमण वर्षको रुपमा मनाउन आवश्यक तयारी गर्ने, नमोबुद्ध नगरपालकिाको वडा नंवर ९ स्थित दाप्चा नगर अस्पतालको व्यवस्थापकीय तथा भौतिक सुधार गरी १५ शैयामा बढोत्तरी गर्ने, प्रादेशिक अस्पतालको रुपमा रहेको मेथिनकोट अस्पताललाई नमोबुद्ध अस्पतालको रुपमा नामाकरण गरि शैया बढोत्तरी गर्न आवश्यक पहल गर्ने, मोतिविन्दु भएका व्यक्तिहरुलाई उपचार तथा सामाग्री वितरणको लागि आवश्यक बजेटको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विरामीहरुको स्वास्थ्य उपचारको लागि अस्पताल सम्मको पहुँच सुनिश्चित गर्न थप एम्बुलेन्स व्यवस्था गर्नुका साथै आकस्मिक विरामी, सुत्केरी, वेसहारा विरामीहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा नीतिलाई निरन्तरता दिइने नगर प्रमुख लामाले बताए ।
यस्तै ‘फोहर जसले उत्पादन गर्दछ व्यवस्थापनको मूल्य उसैले तिर्नुपर्दछ, लिदैन म फोहोर, घरमै बनाउँछु यसलाई मोहोर’ भन्ने सिद्धान्त र फोहोरबाट मोहर बनाउने नीतिलाई अवलम्बन गर्दै नगर क्षेत्रमा उत्सर्जन हुने फोहरमैलालाई व्यवस्थित ढंगले व्यवस्थापन गर्ने, नगरको मुख्य–मुख्य चोकहरुमा निःशुल्क वाई–फाई नेटको व्यवस्था गर्ने नीति नमोबुद्धले लिएको छ । यसैगरी नगरपालिकाका आम नगरवासी र नगरपालिका बीच सूचना आदान प्रदानमा सहजता ल्याउन एवं नगरवासीका गुनासाहरुलाई समयमै सम्बोधन र भेटघाटको लागि समेत सहजता एवं सरलता ल्याउन तथा सेवा प्रवाहमा सुधार ल्याउन हेलो नमोबुद्ध मोबाइल एप्स र हेलो मेयर कक्ष स्थापना गरी संचालनमा ल्याइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
नगरसभामा प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले चालु आर्थिक बर्ष २०७८/७९ को अहिलेसम्मका प्रगति विवरण पेश गरेका थिए । हालसम्म ६५ प्रतिशत भन्दा बढी प्रगति भएको र कतिपय योजना सम्पन्न हुने क्रममा रहेको, कतिपय योजना सम्पन्न भएर भुक्तानीको प्रक्रियामा रहेकाले आर्थिक बर्षको अन्त्यसम्म ८० प्रतिशत भन्दा बढी प्रगति हासिल हुने पौडेलले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















