काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबादुर वाइबाले आर्थिक वर्ष २०७९।०८० मा कृषि र पर्यटनलाई प्राथमिकता राख्ने बताएका छन् । नगरपालिकाको ११ औँ अधिवेशनमा नगरप्रमुख वाईबाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् ।
‘देउपुर र मण्डनः कृषि र पर्यटन’ भन्ने नारालाई सार्थक दिने गरी नगरप्रमुख वाइबाले सभामा नीति र कार्यक्रम प्रस्तुत गरेका छन् ।
नगर सभामा नगरप्रमुख वाईबाले आर्थिक विकास तर्फ पहिलो नम्बरमा कृषि तथा पशुपालनलाई जोड दिएका छन् । यो शीर्षकमा १७ वटा कृषि तथा पशुपालनका बुँदा छन् । जहाँ एकीकृत कृषी विकास योजना तयार गर्नेदेखि कोल्ड स्टोर निर्माणसम्मको नीति रहेको छ ।
पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने, रैथाने बालीको संरक्षणको लागि बिउ बैंक स्थापना गर्ने, बाली र पशुपंक्षी बिमालाई थप ब्यापक बनाउन ५० प्रतिशत अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन तर्फ ९ वटा बुँदामा नीति र कार्यक्रम समावेश गरिएको छ । नगरभित्रको मुख्य पर्यटकीय क्षेत्रहरुमा इको पार्क, फन पार्क, पदमार्ग, जिपल्याण्ड, साइक्लिङ रुट, भाषिक तथा सांस्कृतिक संग्रहालय बनाउने भनिएको छ ।
कृषि पर्यटन, गाउँ पर्यटन, सांस्कृतिक र धार्मिक पर्यटन एवं होमस्टेको विकास गरिने नगरप्रमुख वाइबाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ । सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन सहितको साहसिक खेल पर्यटनको गतब्य बनाइनेछ ।
नगरपालिकाको पर्यटकीय सम्भब्यतालाई उजागर गर्न तथा पर्यटन प्रवद्र्धन गर्न मुख्य मुख्य पर्यटकीय स्थानहरुको विद्यूतीय एवं सञ्चार माध्यमबाट प्रचारप्रसार गरिने भनिएको छ । नगरकोटमा हिमालयन साइक्लिङ्ग रुट, सहित बृहत इको पर्यटन पार्क निर्माण गरिने बताइएको छ ।
नगर प्रमुख वाइबाले प्रस्तुत गरेका नीति तथा कार्यक्रम अध्ययनका लागि नगर सभाका सदस्यहरुलाई दिइएको छ । अर्को बैठक असार १५ गते बस्नेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























