काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले ५९ करोड ११ लाख ३९ हजार बजेट ल्याएको छ । शुक्रबार गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष भगवान अधिकारीले नीति तथा कार्यक्रम सँगै अनुमानित बजेट सिलिङ समेत प्रस्तुत गरेका थिए । जसमा ५९ करोड ११ लाख ३९ हजार कुल बजेटमा ३१ करोड ५ लाख चालु खर्च तथा २८ करोड ६ लाख ३९ हजार पुँजिगत खर्च रहने जनाएको छ ।
जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौंडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौंडा सडकको दुर्लुङखोला च्याम्राङबेसी खण्डमा सुरुङमार्गको अध्ययन जस्ता विषय पनि अध्यक्ष अधिकारीले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरेका छन् ।
नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, सडक तथा सुशासनलाई प्राथमिकतामा राखेको पाइएको छ । कोभिड महामारीले थिलथिलिएको अर्थतन्त्र चलाएमान बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ । पिछडिएको तथा विकट क्षेत्रका सेवाग्राहीलाई सेवा प्रदान गर्न पहिलो प्राथमिकता सबै वडामा पालिका प्रमुख उपप्रमुख सहितको अन्तरसंवाद मार्फत गुनासो सुनिने व्यवस्था मिलाइने भनिएको छ ।
उत्पन्न हुन सक्ने विपद जोखिम न्युनिकरणलाई विशेष ध्यान दिइएको कार्यक्रममा फोहर व्यवस्थापनको योजना पनि अघि सारिएको छ । छुट योजना सहितको कार्यक्रममा कर असुलीलाई विशेष ध्यान दिइएको छ भने पालिका भित्रका सार्वजानिक क्षेत्रहरुको पहिचान गरि संरक्षण तथा व्यवस्थापन गरिने उल्लेख छ ।
पालिकाको अधिकार क्षेत्रमा रहेको न्याय प्रदान गर्ने कार्यलाई सहज बनाइने । श्रम, सिप र उत्पादनसँग जोडिने शिक्षा मात्र देशको सम्बृद्धिमा योगदान दिन सक्ने भएकोले शिक्षालाई सिप, सिपलाई श्रम, श्रमलाई रोजगार, रोजगारलाई आय, आयालाई पूँजी, पूँजीलाई लगानी, लगानीलाई प्रविधि र प्रविधिलाई सम्बृद्धि सँग जोडिने भनिएको छ । पालिकाले एक वडा एक खेल मैदानको नीति अघि सारेको छ ।
अन्तर पुस्ता सिप हस्तान्तरण, घुम्ती शिक्षक कार्यक्रम,सुत्केरी आमा पोषिलो खाना कार्यक्रम सँगै एम्बुलेन्सलाई सहज बनाइने तथा भाडादर पुनरावलोकन गरिने उल्लेख छ । ६० वर्ष पुरा गरेका सामुदायीक महिला स्वास्थ्य सवयम्सेविकाहरुलाई दिर्घ सेवा सम्मान सहित विदाइको कार्यक्रम, तथा अध्यक्षसँग बालबालिका कार्यक्रम अन्तर्गत ट्यालेन्ट हन्ट कार्यक्रम गरिने उल्लेख छ ।
अभिभावक विहिन बालबालिकाहरुका लागि मासिक २ हजार भत्ता प्रदान गरिने । प्रत्येक वर्ष उच्च शिक्षा अध्ययनरत एक जना मेधावी विद्यार्थीका लागि ५० हजार छात्राबृत्ति तथा पालिका भित्रको विद्यालयमा अध्ययन गरी एमविविएस अध्ययन गर्ने विद्यार्थीलाई वार्षिक २ लाख प्रदान गर्ने भनिएको छ ।
सडक कालोपत्रे बनाउने कार्यको शुरुवात गर्ने, भू उपयोग नीति निर्माण र कार्यान्वयन गर्ने, पालिका काठको पोल मुक्त बनाउने, लड्कुखोला तथा च्याल्टीखोलामा विद्युत उत्पादनको सम्भाव्यता अध्ययन गर्ने, एकघर एक धारा कार्यक्रमलाई प्रभावकारी बनाउने, पर्यटकीय स्थलहरुको सूचिकरण तथा विकास बेथानचोक नारायणस्थानसम्म केबुलकार संचालन सम्भाव्यता अध्ययन लगायतका कार्यक्रम समाबेश गरिएको छ ।
यसैबीच ढुर्खक च्याम्राङबेसी खण्डमा भूगोलको कठिनाइका कारण दुर्लुङखोला च्याम्राङबेसी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने उल्लेख छ । कृषि तर्फ एक वडा एक उत्पादनलाई जोड दिइने र जग्गा बाँझो नराख्ने नीति लिइने भनिएको छ । कृषि औजारको उपलब्धता सँगै माटो परीक्षण कार्ड, फार्म टु फाइबर, फाइबर टु फेबरिक, फेबरिक टु फेसनको व्यवस्था मिलाइने उल्लेख छ । कृषक सम्मान, कृषि ऋणका लागि पहल, भण्डारण स्थल निर्माण, मौलिक उत्पादनको ब्रान्डिङ, नगदेबालीका लागि क्षेत्र निर्धारण, हाट बजार संचालन तथा होमस्टे होटलका लागि नियमन सहित प्रभावकारी संचालन गरिने उल्लेख छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























