काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले ‘बीउ बैंक, श्रम बैंक र भूमि बैंक’ स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा समावेश भएको उक्त प्रस्ताव ११ औं नगरसभाले पारित गरेपछि ३ वटा बैंक स्थापना हुने भएको हो ।
नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि बीउ बैंक स्थापना गर्न लागेको नगर प्रमुख टोकबहादुर वाइबाले जानकारी दिए । बीउ बैंक स्थापना र सञ्चालनका लागि १० लाख रुपैयाँ बजेटको समेत व्यवस्था गरिएको नगर प्रमुख वाइबाले जानकारी दिए ।
त्यसैगरि बढ्दो श्रमिकको माग धान्न नगरपालिकाले श्रम बैंक स्थापना गर्न लागेको बताउँदै वाइबाले श्रम बैंकले रोजगारको व्यवास्थापन हुनुका साथै श्रमिकको माग समेत धान्न सजिलो हुनेमा विश्वास व्यक्त गरे । अहिले खेती गर्न समेत श्रमिकको अभाव भैरहेका बेला श्रम बैंक मार्फत त्यो माग पुरा गर्न नगरपालिकाले खोजेको उनले बताए । यसको लागि पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको बताएको छ ।
त्यस्तै नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० मा ‘भूमि बैंक’ पनि स्थापना गर्ने भएको छ । भुमि बैंकका लागि भने नगरपालिकाले बजेट विनियोजन गरेको छैन । यसको लागि विस्तृत अध्ययन गरेपछि मात्र अगाडि बढाउने नगर प्रमुख वाइबाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























