जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतमले चुनावको बेला जनतासँग गरेको प्रतिबद्धता नभुल्न सुझाव दिएका छन् । बुधबार धुलिखेलमा जिसस काभ्रेले आयोजना गरेको ‘निवर्तमान जनप्रतिनिधिको सम्मान तथा नवनिर्वाचित जनप्रनिधिलाई शुभकामना कार्यक्रम’मा बोल्दै प्रमुख गौतमले उक्त सुझाव दिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आ–आफ्नो पार्टीले जारी गरेको प्रतिबद्धता पत्र एकचोटी पढ्न नवनिर्वाचित जनप्रतिनिधिलाई आग्रह समेत गर्दै जनतासामु गरेको प्रतिबद्धता पूरा गर्न समेत अनुरोध गरे ।
‘निर्वाचनका बेला हामी दलको प्रतिनिधि बनेर प्रतिस्पर्धा गर्यांै । तर विजयी भएपछि दलभन्दा माठि उठेर जनताको साझा प्रतिनिधि बन्नुपर्छ । काभ्रेको समृद्धीका लागि सबैको हात्तेमालो आवश्यक छ ।’ गौतमले भने, ‘मैले समन्वय गर्ने काममा कसैलाई नजिक र कसैलाई टाढाको ब्यवहार अबलम्बन गरिने छैन् । साथै निर्वाचनको बेला जारी गरेको प्रतिबद्धता पत्र एकपटक पढ्नुहोस्, जनता सामु गरेको सबै बाचा पूरा गर्नुहोस् ।’
सो क्रममा उनले इतिहासमा यस्तो जिम्मेवारी बिरलै पाइने भएकाले आफुले पाएको जिम्मेवारी कुशलता पूर्वक बहन गरी सम्झना योग्य बनाउने कि बदनाम कमाउने भन्ने प्रश्न समेत गरे ।
‘यो जिम्मेवारीलाई राम्रो काम गरेर सबैले सधै सम्झना योग्य बनाउने की नराम्रो काम गरेर बदनाम कमाउने भन्ने कुरा तपाई हामीले सोच्ने कुरा हो । जसरी जनताले जिताएर पठाउनुभएको छ । यसलाई कुशलता पूर्वक बहन गरौँ ।’ प्रमुख गौतमले थपे ।
कार्यक्रममा वर्तमान र पूर्व जनप्रतिनिधिहरुको सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।















