अञ्जली तामाङ
जिल्ला समन्वय समिति, काभ्रेले स्थानीय तहका वर्तमान र पूर्व जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । मंगलबार धुलिखेलमा ‘संघीय कार्यान्वयन पछि निर्वाचित पहिलो जनप्रतिनिधि र वर्तमान निर्वाचित जनप्रनिधिहरुलाई शुभकामना तथा सम्मान कार्यक्रम’ को आयोजना गर्दै उनीहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख दिपककुमार गौतमले जिल्लाका १३ वटै पालिकाका निवर्तमान र वर्तमान जनप्रतिनिधीहरुलाई एकैसाथ सम्मान गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले जिल्लाका सम्पुर्ण जनप्रतिनिधीहरुसंग समन्वय गर्दै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्दै निर्वाचनमा जनतासँग गरेको प्रतिबद्धताको स्मरण गर्न अनुरोध गरे । कभ्रेली जनताले निर्वाचित जनप्रतिनिधिप्रति ठूलो अपेक्षा गरेको र त्यो कुनै पनि हालतमा पूरा गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख उद्धव केसीले निर्वाचित सबैलाई सफल कार्यकालको शुभकामना दिदै आफूलाई जस्तै वर्तमान प्रमुखलाई पनि सहयोग गर्न निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे ।

कार्यक्रममा स्थानीय तह निर्वाचन २०७९ लाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै जिल्ला प्रशासन कार्यालय प्रमुख हुमकला पाण्डे, जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशी, जिल्ला अदालतका न्यायधिश तथा जिल्ला निर्वाचन अधिकृत मोहनराज भट्टराई र नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनालाई समेत जिल्ला समन्वय समिति काभ्रेले सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख रिमबहादुर तामाङको समेत सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।