काभ्रे जिल्लाको भुम्लु गाउँपालिकाको आर्थिक बर्ष २०७९।०८० को बजेट ८९ करोड ९७ लाख १६ हजार ८ सय १५ रहेको छ । गत असार १० गते अध्यक्ष प्रेमबहादुर भुजेलले गाउँसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष जितेन्द्रमान तामाङले प्रस्तुग गरेको बजेट मंगलबार सर्वसम्मत रुपमा पारित गरेको छ ।
भुम्लु गाउँपालिकाले नीति तथा कार्यक्रममै कृषिलाई विशेष सम्बोधन गर्ने योजना अनुसार किसानलाई अनुदानको व्यवस्था गरेको छ । जसअनुसार रैथाने बाली फापरलाई प्रोत्साहित गर्नका लागि प्रति पाथी ३० रुपैयाँ अनुदान दिने र कोदो प्रति पाथि लागि २५ रुपैयाँ र दूधमा प्रति लिटरको १ रुपैयाँ अनुदान दिने, गाउँपालिका कृषि अनुसन्धान तथा सिकाइ केन्द्र स्थापना गर्न बजेटको व्यवस्था गरेको छ । त्यसको लागि गाउँपालिकाले ६५ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ ।
मुख्यतः उत्पादनको बृद्धि गरेर आयातलाई घटाएर कृषिमा आत्मनिर्भर बनाउँदै निर्यातको नीति लिनका लागि किसानलाई अनुदानको व्यवस्था गरेको अध्यक्ष भुजेलले बताए । त्यस्तै ‘एक–वडा, एक– कृषि उपज संकलन केन्द्र स्थापनाका लागि २४ लाख रकम विनियोजित गरिएको छ ।
गाउँपालिकाले कृषिमा ३ करोड ४३ लाख ७० हजार, पशु सेवामा २ करोड २० लाख ७० हजार, शिक्षामा ४ करोड ७२ लाख ८७ हजार ५ सय १५, पूर्वाधार विकासमा ११ करोड ८० लाख, स्वास्थ्यमा ३ करोड ७२ लाख ८७ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा २१ करोड ७३ लाख ३९ हजार ३ सय, वडा कार्यालय तर्फ १४ करोड ९१ लाख ८० हजार, संघीय ससर्त चालु तर्फ २० करोड २९ लाख, संघीय शसर्त पुँजिगत १ करोड २ लाख, प्रदेश सशर्त चालुमा २ करोड ५५ लाख ९२ हजार, प्रदेश बिशेष अनुदान अन्र्तगत आयोजनामा एक करोड ५ लाख र प्रदेश समपुरक अनुदान अन्र्तगतका आयोजना २ करोड ५० लाख रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।























