होमेन्द्र रानामगर
काभ्रे जिल्लाको महाभारत गाउँ पालिकाको धेरै ठाउँमा मध्य बर्षायामको बेलामा पनि पर्याप्त मात्रामा वर्षा नहुँदा रोपाईं गर्न नपाएपछि किसानहरु चिन्तित बनेका छन् । पालिकाको बनखु, घर्तिछाप र गोकुले लगायतका किसानहरु व्यग्र वर्षाको पर्खाईमा रहेका छन् ।
असार को १५ गते देखि निस्कृय रहेको मौसमको असर महाभारत गापामा पनि परेको छ भने त्यसको प्रत्यक्ष मारमा यहाँका किसानहरु परेको छ । मुठ्ठी खाएर मुरी उब्जाउने बेला पर्याप्त मात्रामा बर्षा नहँुदा किसानहरु थप चिन्तित बनेका छन् ।
दिन भरी आकाश हेर्दै दिन व्यतीत गर्न बाध्य छन् याहाँका कृषकहरु । बिगतको बर्षहरुमा असारको अन्तिमसम्म अधिकांस ठाउँहरुमा लगभग रोपाई सकिन्थ्यो भने यो पटक धेरै ठाउँमा रोपाई भएकै छैन । ‘असारको दिन असार जस्तो नभएर चैत जस्तो भएको छ दिनभरी टन्टलापुर घाम लाग्छ, एक गाबा धानको बिउ पनि रोप्न पाएनौं ।’ दुखेसो पोख्दै कृषक टेक बहादुर मगर भने, ‘बर्षात भए पनि खण्डवृष्टी हुने गरेको छ एउटै ठाउँमा पनि एक ठाउँ पानी पर्ने अर्को त्यहीँ ठाउँमा पानी पर्दैन । हामी चिन्तित छौं ।’
भएको धानको ब्याड पनि पहेँलो हुदै
झण्डै जेष्ठको सुरुवात तिरै राखेको धानको बिउ लगभग २५ देखि ३५ दिन भित्रमा रोप्न योग्य हुन्छ तर यहाँका धानको बिउ लगभग दुई महिना भैसक्यो अधिकांश ठाउँमा धानको बिउ रोप्ने अवधि सकिएको स्थानीय कृषकहरु बताउछन् । अब पानी नै परे पनि समयमै धानको बिउ रोप्न नपाउँदा त्यसले राम्रो आम्दानी दिन सकिदैन यस कारण पनि कृषकहरु थप चिन्तित छन् ।
रोपेको खेत पनि चिरा चिरा पर्दै
असारको सुरुमै पानी परेकोले केही किसानहरुले असारको १७।१८ तिरै रोपाई सकाएको थियो तर उक्त खेतहरुमा पनि पर्याप्त पानी नहुँदा खेतहरु पानीको अभावले चिरा–चिरा पर्ने धजा–धजा पर्न थालेको छ । पर्याप्त मात्रामा पानी नपर्दा यस अघि बढेको पानीको मुलहरु पनि सुकेको छ । गैह्रा, खोल्सी र खोलानालाहरुमा पनि पानीको मुहान सुकेका कारण कृषकहरुले रोपाई भैसकेको खेतमा पनि पानीको अभाव हुदा किसानलाई थप चिन्तित बनाएको छ ।
स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रिय सरकारले यो प्रति गम्भिर हुुपर्नेमा किसानहरुको माग रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















