-
देवकुमार माेक्तान, अधिवक्ता
आफ्नाे नागरिकलाई नागरिकता दिनु कुनै पनि मुलुककाे परम दायित्व नै हाे र सबै मुलुकमा त्यस्ताे प्रावधान हुन्छ नै । तर विदेशीलाई नागरिकता दिने विषयमा ती सबै सचेत र सजग हुन्छन् । नेपालमा पनि यस्ताे व्यवस्था छ । ऐतिहासिक क्रममा विभिन्न संविधान र ऐन कानूनमा साे सम्बन्धमा नियमन हुँदै आएकाे हाे । नागरिकता खासगरी जन्म, वंशज, वैवाहित अंगीकृत, अंगीकृत र सम्मानका आधारमा दिइन्छ ।
तर नेपालमा विशेषत: दक्षिणमुखी शक्तिहरुले विगतदेखि नै भारतीय मूलका नागरिकहरुलाई नागरिकता दिने बहानामा संविधान र ऐनकाे तर्जुमा र संशाेधनहरु गर्दै आएका हुन् । राजनैतिक परिवर्तनका विभिन्न संघारहरुमा राजनैतिक तरलता र संक्रमणकाे माैका छाेपी सत्ताकाे जाेड घटाउकाे खेलका क्रममा भारतीय पक्षले यहाँका गुलामहरुलाई काबुमा राखेर नागरिकता वितरण सम्बन्धमा लचिलाे व्यवस्था गर्न सफल भएकाे देखिन्छ ।
हिजाे संसदकाे बहमतले नागरिकता संशाेधन विधेयकलाई पारित गर्नु पनि विगतदेखिकै निरन्तरता हाे । याे भरखर विकसित परिघटना हाेइन । नेपालका मधेशवादी दलका नेताहरुले नागरिकताकाे विषयमा चर्काे आवाज उठाउँदै आएकाे देखिएता पनि तिनकाे स्वरभित्र भारतीय मनशाय र स्वार्थ लुकेकाे पाइन्छ । तिनले मधेशका निरीह जनताकाे लागि त्याे आवाज उठाएकाे पाइँदैन । यस सम्बन्धमा मुख्य नाेट गर्नुपर्ने चुराे कुरा के हाे भने विगतदेखि नागरिकताका सम्बन्धमा लचिलाे व्यवस्था गर्दै आएता पनि अझै पनि सक्कली नेपाली मधेशी जनताहरुले नागरिकता पाएकाे अवस्था छैन । नगन्य रूपमा वितरण भएकाे छ । पटक पटककाे नागरिकता वितरणमा लाखाैं भारतीय मूलका मानिसहरुलाई नागरिकता बाँड्ने काम भएकाे छ । अहिलेकाे घटना पनि भारतीय नागरिकलाई नागरिकता बाँड्ने एउटा थप नयाँ संस्करण बाहेक केही हाेइन । याे विधेयक नेपालकाे भन्दा पनि भारतकाे आवश्यकताकाे कारण ल्याइएकाे र पारित गरिएकाे हाे ।
हामीलाई थाहा छ, भारतले नेपाललाई जहिले पनि गुलाम बनाउन चाहन्छ । कुनै एक समय त नेपाललाई पनि सिक्कमीकररण गर्न चाहन्थ्याे भारत । कालक्रममा त्याे सम्भव देखेन हाेला उसले । यसपछि नेपालमा उसले एकपछि अर्काे असमान सन्धी सम्झाैताहरु लाद्ने काम अगाडि बढायाे । नेपाल र भारत बीचकाे सीमालाई खुल्ला राखियाे ता कि उसका कराेडाैं जनता नेपालमा सजिलै घुस्न सकियाेस् । भारतले नेपालकाे भाैगाेलिक सीमा अतिक्रमण गरी हाम्राे सार्भाैमसत्तामाथि चुनाैति मात्र दिएकाे छैन, उसले सत्तामा आन्तरिक हस्तक्षेप गरी कठपुतली सरकार निरन्तर बनाउन सफल भैरहेकाे छ ।
भारतले गलत सन्धी र अन्य घातक हस्तक्षेप गर्न नेपालका गुलामहरुलाई भेटघाट गर्न कहिले यहाँ आफैं आउने र कहिले तिनलाई उतै भ्रमणमा निम्ताे दिन्छन् । यहाँका गुलामहरु दस हात उफ्रेर भ्रमणमा जान्छन् र देशघाती विषयहरुमा भित्रभित्र सहमति र ल्याप्चे लाएर आउँछन् ।
अस्ति मात्र एउटा स्वघाेषित राजनेताले अकस्मात भारतकाे भ्रमण गर्नु र हिजाे राष्ट्रघाती नागरिकता विधेयक बहुमतले पारित गरिनु याे केवल संयाेग मात्र हुन सक्दैन । अब विश्व रंगमञ्चमा नेपाल एक रणनैतिक महत्वकाे भुगाेल हुँदै गरेकाे परिस्थितिमा भारतीय मूलका नागरिकलाई व्यापक नागरिकता वितरण गरी बहुमत भारतीयद्वारा नेपालकाे सत्ता कब्जा गर्ने या जनमत संग्रहकाे मञ्चन गरी आफुमा गाभ्ने भन्ने रणनीतिमा भारत रहेकाे प्रष्ट छ ।
पछिल्लाे परिस्थिति र गतिविधिले नेपाललाई फिजी बनाई आफ्नाे अनुकूलकाे भारतीय मूलका नागरिकद्वारा नेपालकाे सत्ता कब्जा गर्ने र आफ्नाे नीहित स्वार्थ सिध्द गर्न भारत सफल भएकाे र नेपाल तीब्रत्तर रुपमा फिजिकरणकाे दिशामा अगाडि बढेकाे देखिन्छ । दु:खकाे कुरा, नेपाललाई फिजिकरण गर्ने कार्यमा नेपालका कम्युनिष्ट नामधारीहरु प्रतिस्पर्धात्मक रुपमा अगाडि बढ्ने संकेत देखिन्छ ।
यसैले सचेत र देशभक्त नेपालीहरु यी देशी दलालहरुका विरुध्द उभिन ढिला गर्न हुँदैन भन्ने मुलुककाे आजकाे आवश्यकता देखिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















