अञ्जली तामाङ
काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाले किसानहरुलाई दूध बोक्ने क्यान वितरण गरेको छ । दूधको गुणस्तरीयता बढाउने उद्देश्यले किसानहरुलाई नगरपपालिकाले ७० प्रतिशत अनुदानमा सो क्यान वितरण गरिएको हो ।

किसानहरुलाई क्यान वितरण गर्दै नगरप्रमुख टोकबहादुर वाइबाले दूधको गुणस्तीय सुधारमा क्यान पनि एउटा महत्वपूर्ण रहेको बताउँदै मण्डनदेउपुरलाई कृषिमा आत्मनिर्भर बनाउन किसानसँग नगर सधैं साथमा रहेको बताए ।

किसानको समस्याले भावुक बनाउँछ

मेयर वाईबाले किसानको पीडाले आफु पनि बेला–बेलामा भावुक हुने गरेको बताए । ‘मलाई तपाईहरुको समस्याले बेला बेला भावुक बनाउँछ । खेती लगाउने बेला मल छैन् । मैले त के सोचेको थिए भने एक वर्षमा नगरपालिकाले विनियोजन गर्ने बजेटबाट मल कारखाना खोल्न पुग्छ भने जनप्रतिनिधि र कर्मचारीको समेत तलब भत्ताले मल कारखाना खोल्नौ भन्ने थियो ।’ नगरप्रमुख वाइबाले भने, ‘तर पैसा नपुग्ने रहेछ । संघ सरकारले चाहाने हो भने सक्छ । अहिले हामी पनि तपाई किसान जस्तै हो । मलको कुरा स्थानीय तहले समाधान गर्न नसक्दो रहेछ ।’

मेयर वाईबाले नगरपालिकाले दिएकाको सबै अनुदानको सामाग्री पनि किसानहरुकै करबाट खरिद गरि वितरण गरेको बताउँदै यसलाई सहि ढंगले प्रयोग गर्न आग्रह गरे ।

‘नगरपालिकाले दिएको अनुदानको सामग्री पनि तपाईहरुले नै तिरेको करबाट हो । यसलाई तपाईहरुले सहि सदुपयोग गर्नुहोस् । हामीले कृषिमा गाई, पाडी, ट्याक्टर वितरण गरेका गरेका छौँ । यसलाई तपाईहरुले दुरुपयोग गर्ने छुट छैन् ।’ उनले भने, ‘हामी कृषिमा आधुनिकरण गर्न चाहान्छाै‌ँ । त्यसमा तपाईहरुको साथ र सहयोगको अपरिहार्य छ । कृषिलाई आत्मनिर्भर बनाउन सकेनौँ भने हाम्रो मुलुक कहिल्यै आर्थिक रुपमा सबल हुँदैन ।’

उनले आफ्नो नगरपालिका कान्छो नगरपालिका भएकोले सबै संरचनाहरु नयाँ बनाउँदा सेवा प्रवाहमा केही समस्या आएको तर अब सबै संरचना निर्माण अन्तिम चरणमा पुगेकोले काम गर्न सहज हुने विश्वास व्यक्त गरे ।

‘हामी जिल्लाको सबैभन्दा कान्छो नगरपालिका । हामीले सबै जसो संरचाना नयाँ निर्माण गर्नु परेको छ । त्यसकारण हामीले जुन मण्डन र देउपुर, कृषि र पर्यटन भन्ने नारा लिएको छौँ, त्यो अनुसार काम गर्न नसकेको सत्य कुरा हो । अब अस्पताल बनिसकेको छ । प्रशासनीक भवन अन्तिम चरणमा पुगेको छ । अब भने हामीलाई किसानको क्षेत्रमा काम गर्न सहज हुने छ ।’ वाइबाले भने ।

यसैबीच उपप्रमुख विष्णुमणी नेपालले दूधको गुणस्तीयतामा ख्याल गर्न किसानहरुलाई आग्रह गरे । ‘हामीले उत्पादन त गरेका छौँ । तर त्यो दूध बजारसम्म पुर्याउँदा कत्तिको गुणस्तरीय छ भन्ने कुरामा किसान स्वयम् ढुक्क हुनुहुन्छ ।’ उप्रमुख नेपालले भने, ‘उपभोक्तालाई गुणस्तीय दूध खुवाउन आवश्यक छ । यसमा सबैभन्दा ठूलो भुमिका किसानहरुको रहन्छ । गुणस्तीय भयो भने बिक्री वितरणमा पनि सहज हुन्छ । उपप्रमुख नेपालले भन्नुभयो ।’

उपप्रमुख नेपालले नगरपालिकाले लिएको नीति किसानको हितमा रहेको दाबी गर्दै यो नीतिले किसानलाई धेरै सहजता हुने बताए ।

चालु आर्थिक वर्षका लागि नगरपालिकाले श्रम बैंक, बीउ बैंक र भूमि बैंक सञ्चालन गर्ने नीति लिएको बताउँदै उनले यस मार्फत किसानलाई कयौँ कुरामा सजिलो हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा ३२ लाख ७६ हजार रुपैयाँ लागतमा ४२ सय वटा दूध क्यान वितरण गरिएको नगरपालिकाको पशुपंक्षी शाखाका प्रमुख ध्रुब पराजुलीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्र रहेका कृषक समूह, दूग्ध उत्पादक कृषि सहकारी र बहुउद्देश्यीय सहकारी मार्फत किसानका लागि क्यान वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डाक्टर लोकबहादुर लोप्चन, वडा नं. १ देखि १२ नम्बर वडाका वडाध्यक्ष तथा नगर कार्यपालिकाका सदस्य, कर्मचारी र लाभग्राही कृषक तथा सहकारी संस्थाका प्रतिनिधिहरु सहभागि भएका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।