सिम्लेश्वर बिल्डर्स प्रा.लि.ले तेमाल गाउँपालिकाको विरुद्ध दायर गरेको मुद्दा फैसला गाउँपालिकाको पक्षमा भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा तेमाल गाउँपालिका वडा नं. ३ स्थित चिउरी आँप बगर क्षेत्रभित्र नदिजन्य पदार्थ संकलन एवं विक्रि कार्यको निम्ति बोलपत्र आव्हान भएकोमा सिम्लेश्वर बिल्डर्स प्रा.लि.ले ठेक्का पाएको थियो ।

फैसलासँगै सिम्लेश्वर बिल्डर्स प्रा.लि.ले तेमाल गाउँपालिकलाई ८७ लाख रुपैयाँ दाखिला गर्नुपर्ने छ ।

तेमाल गाउँपालिकाले उक्त प्रालिलाई सम्झौता बमोजिम दाखिला गर्नुपर्ने रकम दाखिला नगरेपछि धरौटी रकम रोक्का गरिएकोमा प्रालिले तेमाल गाउँपालिका, कृषि विकास बैंक विरुद्ध मुद्दा दायर गरिएको थियो ।

ठेक्का प्राप्त पक्षले तेमाल गाउँपलिकालाई रु ८७ लाख ०१ हजार रकम दाखिला नगरे पछि २०७९।०४।१७ को उच्च अदालत पाटनले अल्पकिलन आदेश दिएकोमा सोलाई निरन्तरता दिनु परेन भन्ने फैसला गरेको छ ।

न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र अमृत बहादुर बस्नेतको इजलासले सो फैसला गरेको थियाे । सिम्लेयर बिल्डर्स प्रालिको पक्षमा वरिष्ठ अधिवक्ता टंकप्रसाद दुलालले, विपक्षी तेमाल गाउँपालिका पोखरी नारायणस्थान काभ्रे र तेमाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय पोखरी नारायणस्थानका वरिष्ठ अधिवक्ता रमेश कुमार गैनाली तथा विपक्षी कृषि विकास बैंक लिमिटेड शाखा कार्यालय रनपार्क काठमाण्डौको तर्फबाट अधिवक्ताद्वय गोपाल श्रेष्ठ र मदन प्रसाद फुयाँलले बहस गरेका थिए ।

फैसलामा भनिएको छ, ‘यसमा रिट निवेदक र विपक्षी तेमाल गाउँपालिका बीच भएको सम्झौताको ठेक्का अवधी समाप्त भइसकेको देखिएको र निवेदकले निवेदनमा उठाएको विषयवस्तुमा अन्तिम सुनुवाई हुँदा सम्बोधन हुने नै हुँदा माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने स्थिति नदेखिंदा मिति २०७९।०३।३१ मा भएको अल्पकालिन आदेशलाई निरन्तरता दिनु परेन । नियमानुसार पेश गर्नु ।’ फैसला यहीं साउन १७ गते भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।