काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौंलागाईं जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्यकर्मीको टोली सहित टोल–टोलमा पुग्ने भएको छ । ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ को एक समोरोहका बीच अध्यक्ष चौंलागाईंले उद्घाटन गरेसँगै जेष्ठ नागरिकको स्वास्थ्य सेवा प्रदान गर्न अब टोल–टोलमै पुग्ने भएको हो ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९।८० को नीति तथा कार्यक्रम र बजेटमा जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रमको व्यवस्था गरेको थियो ।
‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौंलागाईंले हरेक नागरिकले सहज ढंगले स्वास्थ्य सेवा पाउनु उसको अधिकार भएको बताए । ‘हरेक नागरिकले सहज ढंगले स्वास्थ्य सेवा पाउनु उसको अधिकार हो । यसको व्यवस्था सरकारले गर्नुपर्छ ।’ उनले भने, ‘यहीं मर्मलाई आत्मसात गर्दै विशेष गरि जेष्ठ नागरिकहरुलाई टोल–टोलमै स्वास्थ्य सेवा प्रदान गर्न हामी आएका छौं । आगामी दिनहरुमा यो कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आम जनताको माझमा आउने योजना छ ।’

यस कार्यक्रम अन्तर्गत विभिन्न टोलमा गाउँघर क्लिनिक सञ्चालन गर्ने बताउँदै उनले गाउँघर क्लिनिकसम्म आउन नसक्ने अशक्त नागरिकहरुको हकमा भने घर–घरमै स्वास्थ्य सेवा प्रदान गरिने उनले बताए ।
यो कार्यक्रम अन्तर्गत हरेक वडामा ३ देखि ५ वटा टोलमा गाउँघर क्लिनिक सञ्चालन गर्ने र जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए । ‘क्लिनिकसम्म आउन नसकिने अति अशक्त जेष्ठ नागरिक र शारीरिक अशक्त नागरिकको घरमै पुगेर उपचार सेवा प्रदान गरिनेछ ।’ प्रमुख घिसिङले बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महानदास लामा, नेकपा (माओवादी केन्द्र) चौँरीदेउराली गाउँपालिकाको अध्यक्ष तेज पन्त, वडा नम्बर ३ का अध्यक्ष चित्र प्रसाद गौतम, स्वास्थ्य शाखाको संयोजक तेज बहादुर घिसिङ र हेल्थ असिस्टेन्ट कर्म लामा, धुसेनी शिवालय अस्पतालका डाक्टर अस्बिन केसी, पोखरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो । कार्यक्रम वडा नम्बर ५ को अध्यक्ष कृष्ण प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
















