काभ्रे । तामाङ पत्रकार संघ काभ्रेद्वारा २८ औं तामाङ प्रसारण दिवसको अवसरमा आयोजित तामाङ विद्यार्थीसंग “सञ्चारमा तामाङ पत्रकार र तामाङ भाषाको शिक्षा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बुधबार बनेपाको हिमालय माविमा संचार क्षेत्रमा तामाङको पहुँच र वर्तमान स्थितीबारे जानकारी दिने, साथै मातृभाषामा आधारभुत तहसम्म शिक्षा लिन पाउने व्यवस्थाको जानकारी र परिस्थितीबारे जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रमका प्रमुख अतिथि तामाङ पत्रकार संघ संघीय समितिका महासचिव तिर्थमान बलले काठमाडौ उपत्यका लगायत जिल्लाहरुमा तामाङ समुदायको बढी बसोबास रहेको भएपनि तामाङ समुदायको पहिचान, हक, अधिकार, धर्म, संस्कृतिका विषयमा राज्यले विभेद गर्दै आएको बताएका छन ।
राज्यबाटै भइरहेको विभेदबारे आगामी दिनमा संचारमाध्यमबाट आफ्नो पहिचान र अस्तित्वको खोजी गर्नुपर्ने उनले बताए । दमन, उत्पीडन, अत्याचारलाई नै वैधानिक बनाउने कानुनको सिर्जनाले आफ्नो समुदाय अहिलेसम्म पछि परेको उनको भनाइ छ। तामाङ समुदायको बोली, तामाङ समुदायको इस्यु, तामाङ भाषाको समाचार प्रसारणको लागी ४४ वर्ष कुर्नुपरेको समेत उनले बताए । बलले ऐतिहासिक दिनमा उभिरहदा आफ्नो मातृभाषालाई अपमान गरे जस्तो भयो भन्दै विचमा आफ्नै मातृभाषामा मन्तव्य राखेका थिए ।

कार्यक्रममा तामाङ भाषा, संस्कृति, रितिरिवाज, र शिक्षाका सम्बन्धमा तामाङ मातृभाषा शिक्षाका अभियन्ता दर्पण व्लोनले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । अन्तरक्रिया कार्यक्रममा कक्षा ६ देखि १० सम्मका ३० जना तामाङ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
यसैगरी, तामाङ पत्रकार संघ काभ्रेले सहभागी मध्येबाट गरिब तथा जेहेन्दार, विद्याथीहरु प्रगेस तामाङ र सजिना तामाङलाई प्रोत्साहन स्वरुप नगद सहित स्टेशनरी प्रदान गरेको थियो ।
यस्तै, तामाङ पत्रकार संघ काभ्रेको समन्वयमा ३ जना विद्याथीहरु सपना तामाङ, कुसुम तामाङ, र सुमन तामाङलाई छात्रवृति स्वरुप बनेपाको चाँदनी चोकमा रहेको एलोस कम्प्युटर इन्टिच्युटमा बेसिक तालिम निःशुल्क सिक्न पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तिर्थमान बल, प्रशिक्षक दर्पण व्लोन, विद्यालयका प्रध्यानाध्यापक धुव्र प्रसाद भट्टराईलाई कार्यक्रमका सभापति अञ्जली तामाङले मायाको चिनो प्रदान गरेकी थिईन् । कार्यक्रममा, तामाङ पत्रकार संघका केन्द्रिय सचिव शिशिर दोङ, फोनिज बागमती प्रदेश ईञ्चार्ज पेमा लामा, प्रेस चौतारी नेपाल काभ्रेका अध्यक्ष भुवन रायमाझी, प्रेस सेन्टर नेपाल काभ्रेका अध्यक्ष रोजन तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संघका सचिव कृष्ण घिसिङले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष चित्र तामाङ व्लोनले राखेका थिए। कार्यक्रममा, नेपाल पत्रकार महासंघ काभ्रेका कार्यसमिति सदस्य शुकदेव थपलिया, एक्टिभ मिडिया नेपाल डटकमका संचालक मणीराम दाहाल, तामाङ चलचित्र महासंघको महासचिव नायिका सुनिता लुङ्वा, लगायतको उपस्थिती थियो ।
२०५१ साल भाद्र १ गते रेडियो नेपालमा पहिलो पटक तामाङ भाषाको समाचार प्रसारण गरेको ऐतिहासिक दिनलाई स्मरण गर्दै यो दिवस मनाउँदै आएको हो ।

















