पर्यटन व्यवसायलाई टेवा पु¥याउने उद्देश्यले काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा तीन दिने ‘ट्रेकिङ गाइड’ तालिम सम्पन्न भएको छ । वडा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत तालिम गत बुधबार, विहिबार र शुक्रबार सञ्चालन गरेको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले पर्यटन क्षेत्रमा पेशा व्यवसाय गर्नेहरुको लागि तालिम फलदयी रहेको बताए । पर्यटन क्षेत्रमा तेमाल गाउँपालिकाले लिएको नीति तथा कार्यक्रमलाई समेत टेवा पुग्ने बताउँदै उपाध्यक्ष थोकरले यस्ता तालिमहरुलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन आवश्यकता रहेकोमा जोड दिए । ‘तेमाल गाउँपालिकाको समग्र विकासको महत्वपूर्ण पाटो पर्यटन भएकोले अबका दिनहरुमा पर्यटन विकासको लागि काम अगाडि बढाउने छौं ।’ थोकरले भने, ‘धार्मिक तथा साँस्कृतिक पर्यटनको प्रचुर मात्राको सम्भावना भएकोले आन्तरिक या बाह्य पर्यटकहरुलाई सहि ढंगले यहाँकोबारेमा भन्न सकिएन भने पर्यटन विकासमा नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले ‘ट्रेकिङ गाइड’ तालिमले यो समस्यालाई आउन दिनेछैन भन्नेमा म विश्वस्त छु ।’

कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष प्रेमबहादुर लामाले आफ्नो वडा भित्र पर्यटन क्षेत्रलाई पेशा व्यवसाय बनाउँदै आएका स्थानीयको संख्या धेरै भएकोले ‘ट्रेकिङ गाइड’ तालिमको आयोजना गरिएको बताए ।

प्रमुख आतित्थ्यतामा समापन कार्यक्रमको दिन सहभागी ६० जनालाई प्रमाण प्रत्र वितरण गरिएको थियो ।

‘यस वडाका वासिन्दाहरुको पेशा नै ट्रेकिङ पेशा हो । म आफै पनि पनि ट्रेकिङ गाइड नै हो ।’ अध्यक्ष लामाले भने, ‘त्यसकारण वडामा धेरै भन्दा धेरै ट्रेकिङ गाइडहरु उत्पादन गरि व्यवसायीक ट्रेकिङ गाइड बन्न सफल होस् भन्ने उदेश्यले यो तालिमको आयोजना गरिएको हो ।’

आर्थिक आत्मनिर्भर हुन समेत टेवा पुग्नेमा विश्वास गर्दै अध्यक्ष लामाले तालिम लिई सकेपछि व्यवबहारमा लागु गर्न तालिममा सहभागीहरुलाई अनुरोध गरे ।

किप नेपालको अध्यक्ष देवीप्रसाद पन्त, तारा जोशीले तालिममा सहजीकरण गरेका थिए । कार्यक्रममा टानको पूर्व महासचिव सरिता लामा, यूकेबाट आएको लान वाल, ट्रेकिङ व्यवसायी पाल्साङ मोक्तान सहयोगी तामाङ रिमठिमा अध्यक्ष अम्बर तामाङ लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।