छैठौं वर्षको एघारौं गाउँसभामा उपाध्यक्ष सागर मोक्तान ज्यूबाट आ.व २०७९/०८० को लागि प्रस्तुत बजेट वक्तव्य

सभाका सदस्यज्यूहरु प्रमुख प्रशासकीय अधिकृत ज्यू राष्ट्रसेवक कर्मचारीहरु

यस सम्मानित सभाका सभाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, राष्ट्रसेवक कर्मचारीहरु, सञ्चार जगत, नागरिक समाज, बुद्धिजीवि, सुरक्षाकर्मी तथा आम महाभारत गाउँपालिकावासी आदारणीय आमा, बुबा, दिदीबहिनी तथा दाजुभाईहरु यस महाभारत गाउँपालिकाको तर्फबाट विकासका लागि मार्गदर्शनको रुपमा रहने छैठौं वर्षको एघारौं गाउँसभा मार्फत आगामी आ.व. ०७९।८० को वार्षिक बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी भएको छ । सर्वप्रथम यस महत्वपूर्ण घडीमा लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि आफ्नो ज्यानको बलिदान गर्नुहुने शहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । साथै विभिन्न आन्दोलनमा घाइते भएका योद्धाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

राज्यका तीन तहको सरकार मध्ये स्थानीय तहको रुपमा रहेको यस महाभारत गाउँपालिकाको समृद्धिका लागि हामीले अझै थुप्रै क्षेत्रमा कामहरु गर्नु पर्ने छ । खासगरी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, रोजगारी जस्ता क्षेत्रमा उपलब्धी हासिल गर्न सकिरहेका छैनौं । त्यसका लागि दुरगामी दृष्टिकोण, दीर्घकालीन योजना निर्माण र गुणात्मक कार्यान्वय गर्नु पर्ने हुन्छ । ती योजनाहरु कार्यान्वयन गर्न हामीलाई पुँजीको आवश्यकता पर्दछ । तर अपेक्षा अनुरुप नेपाल सरकारबाट बजेट अनुदान प्राप्त नभएकोको कारण हामीसँग भएका असीमित अपेक्षाहरु, योजनाहरु एकै पटकमा समेट्न र बजेट व्यवस्था गर्न कठीन छ । यस सन्दर्भमा आउने दिनहरुमा प्राथमिकीकरणको आधारमा योजनाहरु समेट्दै जाने विश्वास दिलाउन चाहन्छु । महाभारत गाउँपालिकाको विकासका लागि बजेट अनुदान प्रदान गर्न सहयोग गर्नुहुने संघ तथा प्रदेश सरकारका माननीय सांसद एवं उच्च तहका अग्रणी राजनीतिक नेतृत्वप्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछु ।

विभिन्न चुनौतीका बाबजुद यस गाउँपालिकाको सार्वजनिक तथा अन्य सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय एवं, पत्रकारहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी यात्राहरुमा पनि निरन्तर सल्लाह, सुभाव तथा सहयोगको कामना गर्दछु । साथै यस महाभारत गाउँपालिकाको हरेक कार्यमा सहयोग गर्नुहुने आदारणीय गाउँपालिकावासी दिदीबहिनी तथा दाजुभाईहरुमा विशेष धन्यवाद दिन चाहान्छु ।

माननीय सभाध्यक्ष महोदय, आ.व. ०७९।८० को बजेट तर्जुमा गर्दा लिएका प्रमुख नीतिगत आधार र मुख्य मार्गदर्शन प्रस्तुत गर्न अनुमति चाहान्छु ।

१. नेपालको संविधानले निर्दिष्ट गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्बन्धी विषय तथा प्राथमिकताहरु।

२. स्थानीय सरकार संचालन ऐन , २०७४ को नीतिगत व्यवस्था र प्राथामिकताका आधारहरु

३. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को नीतिगत व्यवस्था र प्राथामिकता तथा सन्तुलनका आधारहरु ।

४. अन्तर सरकारी वित्त व्यवस्थापन ऐन ,२०७४ ले गरेको नीतिगत व्यवस्था

५. स्थानीयतहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिष्ट गरेको वार्षिक योजनातथा बजेट तर्जुमाका आधारहरु ।

६. सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम

७. सार्वजनिक खरिद नियमावली, २०६४

८. संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ बमोजिम

९. नेपाल सरकार अर्थमन्त्रालयबाट समानीकरण अनुदान र राजश्व बाँडफाटको सिलिङ सहितको मार्गदर्शन।

१०. संघीय र प्रदेश सरकारले जारी गरेको नीति कानून तथा मापदण्डहरु ।

११. संघीय सरकार र प्रदेश तहबाट प्राप्त अन्य मार्गदर्शन एवम् निर्देशिका तथा सुझावहरु ।

 १२. पन्ध्रौं योजनाले निर्दिष्ट गरेका लक्ष्य एवम् उद्देश्यहरु ।

 १३. निर्वाचनको क्रममा जनतासँग मत माग्दा व्यक्त गरेका वचन र प्रतिबद्धताहरु ।

अब, म छैठौं वर्षको एघारौं गाउँसभा मार्फत आर्थिक वर्ष ०७९।०८० का लागि सञ्चालन गरिने विषयगत शाखा तथा क्षेत्रगतभित्रका प्रमुख नीति तथा कार्यक्रमहरुमा विनियोजन गरेका बजेट प्रस्तुत गर्न चाहान्छु । यस बजेटमा गाउँ, टोल बस्तीबाट, प्रत्येक वडाहरुबाट र विभिन्न निकाय तथा क्षेत्रहरुबाट माग भए बमोजिमका बजेट यस गाउँसभाबाट चाहना हुँदा हुँदै पनि बजेटको निश्चित सीमा तथा अंक भएकाले कतिपय योजनाहरु छुट्न गएको प्रति क्षमाप्रार्थी छ ।

(क) आर्थिक विकास –

क. १ कृषि तथा पशुपालन

* कृषक समूह/ कृषि सहकारीको क्षमता अभिवृद्धि गराई कृषि कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन बजेटको व्यवस्था गरेको छु।

* प्रत्येक वडामा एक बाली उत्पादनको पकेट क्षेत्र बनाउन; “एक वडा एक उत्पादन” कार्यक्रम संचालन गर्न अवाश्यक बजेट व्यवस्था गरेको छ।

* स्थानीय स्तरमा नै गुणस्तरीय तरकारी एवम् फलफुलको बिउ तथा विरुवाको सहज उपलव्धता गराउन “एक वडा एक नर्सरी कार्यक्रम” संचालन गर्न अवश्यक बजेटको व्यवस्था गरेको छु।

* कृषि बाली बिमा कार्यक्रमलाई विषेश जोड दिएको छु।

* “स्वस्थ्य उत्पादन, स्वस्थ्य जीवन” मूल नारा लिई प्रत्येक घरलाई तरकारीमा आत्मनिर्भर हुन “एक घर एक करेसाबारी” कार्यक्रमलाई प्रभावकारी बनाउन बजेटको व्यवस्था गरेको छु ।

* प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा जोड दिन जैविक मल, भर्मिकम्पोष्ट र कम्पोष्ट मल बनाउन जोड दिएको छु।

* किसानहरूलाई स्थानीय स्तरमा नै माटो जाँच तथा विश्लेषण गर्न डिजिटल माटो परीक्षणमिनिल्याव स्थापना गर्न अवाश्यक बजेटको व्यवस्था गरेको छ ।

* कृषि पेशालाई आधुनिकीकरण, व्यवसायीकरण तथा प्रतिस्पर्धात्मक बनाउन आधुनिक कृषि यन्त्रीकरण जस्तै मिनिटिलर, मल्चिङ प्लाष्टिक, प्लाष्टिक पोखरी, थोपा सिँचाइ जस्ता प्रविधिमाअनुदानको सीमा वृद्धि गर्न बजेटको व्यवस्था गरेको छु।

* मासुमा आत्मनिर्भर हुने गरी बावा पकेट,बास्ना व्लक कार्यक्रमलाई निरन्तरता दिन अवाश्यक बजेटको व्यवस्था गरेको छु।

* पशुपंक्षी उपचार सेवालाई प्रभावकारी ढङ्गले संचालन गर्नको लागि एक गाउँ एक पशु प्राविधिकलाई निरन्तरता दिईनेछ।

* कृषकहरुलाई निर्वाहमुखी कृषि पेशाबाट व्यावसायिकता तिर अघि बढ्नको लागि गाईभैसीको गोठ सुधार कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

* कृषकहरुलाई प्रोत्साहन स्वरुप पशुपंक्षीपालन तालिमका लागि बजेटको व्यवस्था गरेको छु ।

क. २ उद्योग तथा वाणिज्य

  • युवा स्वरोजगारको वृद्धि गर्न लघुउद्यम विकास कार्यक्रम संचालन गरी उत्पादनमा वृद्धि गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

* आर्थिक विकासमा टेवा पुर्याउने व्यवसाय तथा कलकारखानाको स्थापना र संचालनमा प्रोत्साहन गर्ने कार्यक्रमहरुका लागि बजेटको व्यवस्था गरेको छु ।

* साना तथा घरेलु उद्योगिहरुलाई आकर्षण गर्न कार्यक्रमको लागि बजेटमा व्यवस्था गरेको छु ।

* स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यम प्रर्वद्धन गर्न सीपमूलक तालिम व्यवस्था गरी उत्पादन वस्तुको बजारीकरणमा जोड दिएको छु ।

क.३ पर्यटन

* आन्तरिक एंव बाह्य पर्यटक भित्रयाउन सहयोग पुग्ने खालका पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण र विकास गर्ने कार्यक्रमहरुमा बजेट राखेको छु ।

* यस गाउँपालिका क्षेत्रभित्रका विभिन्न सम्भावित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थानहरुको विस्तृत सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

*  ऐतिहासिक धार्मिक पर्टकीय क्षेत्रहरुको पुरातात्विक उत्खनन गरी संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक कार्यक्रमहरु राखेको छु ।

* विभिन्न पर्यटकीय स्थानको पूर्वाधार निर्माण गरी होमस्टे, प्राचीन संस्कृतिको अध्ययन केन्द्र, मनोरञ्जनात्मक वातावरणको विकास गर्ने कार्यक्रमहरु राखेको छु।

क. ४ सहकारी

* सहकारीसँग सहकार्य गर्ने मूल उद्देश्यका साथ यस गाउँपालिका क्षेत्रभित्र स्थापना भएका सबै सहकारी संस्थाहरुको लगत संकलन, अद्यावधिक र नवीकरण गर्ने कार्यमा विशेष जोड दिदै, उक्त सहकारीहरुलाई लागत साझेदारीमा विभिन्न कार्यक्रमहरु संचालन गर्न प्रवन्ध मिलाएको छु ।

* सहकारी माध्यमबाट स्थानीय स्रोत श्रम, साधन सीप र पूँजीको अधिकतम परिचालन गरी आर्थिक, सामाजिक रुपान्तरण गर्ने कार्यक्रमहरुलाइ जोड दिएको छ ।

*  सहकारी क्षेत्रको विकास र प्रवर्धन गर्दै सहकारीहरुको व्यवसायीकरणमा जोड दिईनेछ ।

* लक्षित वर्गका लागि सीप विकास तथा उद्यमशीलता विकास सम्बन्धी तालिमहरु संचालन गरी गरीवी र बेरोजगारी हटाउने कार्यको लागि बजेट व्यवस्था गरेको छु ।

क. ५ वित्तीय • गाउँपालिका क्षेत्रभित्र संचालित बित्तीय संस्थाहरुलाई विपन्न र पिछडिएको समुदायमा

*  परिचालन गर्न प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।

* गाउँपालिका भित्र रहेका वित्तीय संस्थाहरुको अनुगमन तथा नियमन गरी विषयगत कार्यप्रति उत्तरदायी बनाउने कुरा प्राथमिकतामा राखेको छु ।

 ६. प्रधानमन्त्री रोजगार कार्यक्रम तथा युवा स्वरोजगार कार्यक्रम

* प्रधानमन्त्री रोजगार कार्यक्रम संलग्न सम्पूर्ण श्रमिकहरुको ज्याला रकम अनिवार्य रुपमा बैंक मार्फत व्याक्तिगत खातामा मात्र भुक्तानी गर्न जोड दिएको छु ।

७. गरीवी निवारणको लागि लघु उद्यम विकास

* गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने कार्यक्रम राखेको छु।

(ख) सामाजिक विकास

(ख १) शिक्षा

  • स्थानीय आवश्यकताको सिद्धान्त अनुसार स्थानीय पाठ्यक्रम विकास गरी यथाशीघ्र विद्यालयमा कार्यान्वयन गर्न बजेटको व्यवस्था गरेको छु ।

*  गाउँपालिका स्तरीय परीक्षा सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु । आवश्यकता भन्दा कम दरबन्दी भएका विद्यालयमा गाउँ शिक्षकको व्यवस्था गर्न आवश्यक बजेटको व्यवस्था गरेको छ ।

* छात्रवृत्ति कोषको स्थापना गरी एकद्वार प्रणाली मार्फत विभिन्न किसिमका छात्रवृत्तिलाई एकीकृत रूपमा व्यवस्थित गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

  • निरन्तर शिक्षाका कार्यक्रमलाई प्राथमिकता दिन बजेटको व्यवस्था गरेको छु ।

  • माध्यमिक विद्यालयहरुमा शिक्षक कर्मचारीको ई हाजिरीको व्यवस्था गर्न बजेटको व्यवस्था गरेको छु।

(ख २) स्वास्थ्य

* कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि खोप कार्यक्रमलाई निरन्तर सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।

० दलित ज्येष्ठ नागरीक, असक्त तथा अपाङ्ग, गर्भवती तथा सुत्केरी महिलाहरुलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न बजेटको व्यवस्था गरेको छु ।

० संस्थागत सुत्केरी बढाउन तथा सुत्केरी पोषणका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

० ६० वर्ष माथिका महिला स्वयं सेविकालाई दीर्घकालीन सेवा सम्मानबाट पुरस्कृत गर्न बजेटको व्यवस्था गरेको छु ।

० विभिन्न वडाहरुमा एकीकृत स्वास्थ्य सिविर सञ्चालन गर्न बजेटको व्यवस्था मिलाइनेछ ।

० घर्तिछाप स्वास्थ्य चौकीमा सञ्चालित ल्याव सेवालाई निरन्तर दिन बजेटको व्यवस्था गरेको

ख (३) खानेपानी तथा सरसफाई

  • एक घर एक धाराको नीति अनुरुप स्वच्छ र सफा पिउने पानी उच्च प्रथामिकताका साथ कार्य अगाडि बढाउन बजेटको व्यवस्था गरेको छु। • गाउँपालिका भित्र सञ्चालित क्रमागत खानेपानीका योजनाहरुलाई यथाशीघ्र सम्पन्न गर्न बजेट व्यवस्था गरेको छु ।

ख (४) संस्कृति प्रवर्द्धन

*  गाउँपालिकाभित्र रहेको सम्पूर्ण साँस्कृति समप्रदायहरुको संरक्षण तथा संवर्द्धन गर्न कार्यक्रमहरु राखेको छु ।

*  जनजातीहरुको भेषभुषा र संस्कृतिको संरक्षण गर्न आवश्यक कार्यक्रम संचालन बजेटको व्यवस्था गरेको छु ।

*  ऐतिहासिक, पुरातात्त्विक, धार्मिक, पर्यटकीय सम्पदा, मठ मन्दिर, गुम्बा, पाटी, पौवा, सत्तल, कुवा, पधेरो, ढुङ्गेधारा, अन्तिम दाहसंस्कार गर्ने घाट जस्ता सम्पदाहरुको पुनःनिर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

ख (५) खेलकुद तथा मनोरञ्जन

* “महाभारत गाउँपालिकाका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुलनाराका साथ खेलकुद प्रतियोगितालाई निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था गरेको छु।

* गाउँ खेलकुद समितिको गठन गरी सम्पूर्ण खेलकुद गतिविधिलाई नियमन र व्यवस्थित गर्दै संस्थागत विकासमा जोड दिएको छु ।

* खेलकुद सम्बन्धी तालिम, प्रशिक्षण, प्रतियोगिता लगायतका क्रियाकलापका लागि गाउँपालिकामा गाउँ खेलकुद विकास कोषको स्थापना गर्न बजेट व्यवस्था गरेको छु ।

* युवा लक्षित कार्यक्रम तथा युवा क्षमता विकास कार्यक्रम मार्फत युवा परिचालन गर्न बजेटको व्यवस्था गरेको छु ।

* महाभारत खेलकुद समितिले खेलकुद विकास र खेलाडीको स्तरवृद्धि गर्नका लागि आवश्यकता अनुसार विभिन्न खेलहरुको तालिम र प्रशिक्षणको व्यवस्था गर्न बजेटको व्यवस्था गरेको छु।

(६) लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण

  • महिला हिंसा न्युनीकरणका लागी आवश्यक कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छ ।

  • महिला सशक्तीकरण तथा क्षमता विकास सम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरेको छु ।

  • लैङ्गिक हिंसा, मानव बेचबिखन लगायतका सचेतनामुलक कार्यक्रम संचालन गर्न बजेटको व्यवस्था गरेको छु ।

  • दलित, जनजाति तथा आदिवासीहरुको जीवनस्तरमा सुधार ल्याउन आयआर्जन र सीप विकासका कार्यक्रमलाइ निरन्तर दिन बजेटको व्यवस्था गरेको छु ।

  • बालश्रम न्यूनिकरण, बाल शोषण अन्त्य, घरेलु जोखिममा परेका बालबालिकाहरुको पुनस्थापना गर्न कार्यक्रमका लागि बजेटको व्यवस्था गरेको छु।

  • दलित, आदिवासी तथा जनजातिहरुको परम्परागत पेशालाई आधुनिकीकरण गरी जीवनयापनको आधार बनाउन लक्षित कार्यक्रम सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु ।

(ग) पुर्वाधार विकास –

(ग १) स्थानीय सडक, पुल तथा झोलुङ्गे पुल

* सडक पूर्वाधार गुरुयोजना यथाशीघ्र बनाई कार्यान्वयन गर्न बजेट व्यवस्था गरिएको छु ।

* ग्रामीण सडकहरुको स्तरोन्नती गर्दा अनिवार्य रुपमा नाली निर्माण कार्यलाई निरन्तरता दिएको छु।

* जिल्ला सदरमुकाम धुलिखेल देखि गाउँपालिका केन्द्रसम्म जोड्ने सडक कालोपत्रे गर्ने आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउन बजेटको व्यवस्था गरेको छु ।

* गाउँपालिका केन्द्र देखि वडा कार्यालय सम्म जोड्ने सडक व्यवस्थित गर्न बजेटको व्यवस्था गरेको छु ।

* यस गाउँपालिकाभित्रको मुख्य मुख्य खोलाहरुमा पक्की पुलको निर्माण गर्न बजेटको व्यवस्था गरेको छु ।

* गाउँपालिकाभित्रका सडकहरुलाई मापदण्ड अनुसारको स्तरउन्नतीको कार्यलाई निरन्तर दिएको छु ।

* सडक सञ्जाल जोड्न बाँकी सबै टोलहरुमा सडक जोड्न बजेटको व्यवस्था गरेको छु ।

(ग २) सिंचाई

*  गाउँपालिका क्षेत्रभित्र रहेका सिंचाई कुलोहरुको मर्मत संभार गरी बाहै महिना सिंचाई सुविधा पुयाउने कार्यलाई उच्च प्राथमिकतामा राखी बजेटको व्यवस्था गरेको छु।

(ग ३) भवन तथा शहरी विकास

* संघ सरकारसँग समन्वय गरी सुविधा सम्पन्न गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्यलाई निरन्तरता दिएको छु।

(ग ४) उर्जा

  • केन्द्रीय विद्युत प्रसारणको लागी विशेष जोड दिएको छु । गाउँवासीलाई सौर्य उर्जा उत्पादनलाई प्रोत्साहन गरी उज्यालो गाउँपालिका अभियान सञ्चालन गर्न बजेट व्यवस्था गरेको छु ।

गाउँपालिकावासीका लागि विद्युतीय मिटर बक्स जडानका लागि आवश्यक बजेटको व्यवस्था गरेको छु ।

(घ) वातावरण तथा विपद ब्यवस्थापन –

(घ १) वन तथा भू–संरक्षण

  • वन उपभोक्ता समितिलाई क्रियाशी बनाई सबै सामुदायिक वनको संरक्षण गर्न वृक्षरोपण कार्यलाई जोड दिएको छु ।

* जडिबुटी विकास कार्यक्रम तथा भूसंरक्षण कार्यक्रमका बजेटको व्यवस्था गरेको छु ।

  • पहिरोको जोखिम रहेको स्थानमा आवश्यक पूर्वाधार निर्माण गरी क्षतिन्यूनीकरण गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।

 (घ २) जलाधार संरक्षण

  • जलाधार संरक्षण गर्ने तथा पानी भकारी (प्लाष्टिक पोखरी) निर्माणका लागि आवश्यकयोजना संचालन गर्न वजेट व्यवस्था गरेको छु ।

(घ ३) वातावरण संरक्षण र जलवायु परिवर्तन

*  “सफा र सुन्दर महाभारत स्वच्छ र हरियाली’ भन्ने नारासहित वातावरण संरक्षणका विविध कार्यक्रमहरु संचालनलाई निरन्तरता दिएको छु ।

*  महाभारत गाउपालिकाका हरेक योजना तथा कार्यक्रमहरुमा वातावरण तथा पर्यावरण र जलवायुमैत्री पूर्वाधार विकासमा जोड दिएको छु ।

* जलवायु परिवर्तनको प्रभावबाट पर्ने असरहरुबाट बच्ने उपायका सम्बन्धमा अभिमुखीकरण कार्यक्रमहरु राखेको छ।

(घ ४) फोहरमैला तथा ढल व्यवस्थापन

*  फोहोरमैला व्यवस्थापन सम्बन्धी विविध कार्यक्रम संचालन गर्न बजेछ छुट्याएको छु ।

*  गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरुमा फोहरमैला तथा ढल व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु।

(घ ५) विपद व्यवस्थापन

  • विपद व्यवस्थापन कोषलाई निरन्तरता दिन बजेटको व्यवसथा गरेको छु

(ङ) संस्थागत विकास, सेवा प्रवाह र सुशासन

(ङ १) सामान्य सेवा

*  कर्मचारी तथा जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक तालिम तथा भ्रमणका लागि बजेटको व्यवस्था गरेको छु ।

*  राष्ट्रसेवक कर्मचारीहरुको जीवनयापनलाई सहज बनाउन खाइपाई आएको तलबमा १५ प्रतिशत वृद्धि गरेको छु ।

(ङ ३) सूचना प्रविधि तथा सञ्चार

*  गाउँपालिका र वडा कार्यालयहरुलाई सूचना मैत्री कार्यालयको रुपमा विकास गर्न बजेटको व्यवस्था गरेको छु ।

*  गाउँपालिकामा रहेका सबै सर्वजनिक सेवा प्रवाहलाई आम नागरीकमा सुसुचित बनाउन आवश्यक व्यवस्था गरेको छु ।

(ङ ५) पञ्जिकरण, सामाजिक सुरक्षा तथा स्थानीय तथ्याङ्क संकलन र अभिलेख व्यवस्थापन

* साविक गाविस हुँदा बखतदेखिका अभिलेखहरुलाई कम्प्युटराईज गरी सुरक्षित राख्न जोड दिएको छु ।

* सबै वडाहरुमा इन्टरनेट जडान गरी व्यक्तिगत घटना दर्ता अनलाईन प्रणालीबाट सुचारु गर्न बजेटको व्यवस्था गरेको छु।

(ङ ६) सुशासन प्रवर्द्धन

* सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक पुर्वाधार, ईन्टरनेट प्रणाली, सूचना प्रणालीको विकास गर्दै जनप्रतीनिधि तथा कार्यालयका कर्मचारीहरुलाई क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गरेको छु ।

  • वित्तीय व्यवस्थापनको जवाफदेहिता र क्षमतामा अभिबृद्धि गर्न लेखाङ्कन प्रणालीलाई चुस्त दुरुस्त र कम्प्युटराईजलाई निरन्तरता दिएको छु।

(ङ ७) अनुसन्धान, विकास र विविध

*  गाउँपालिकाको समग्र विकासका लागि सामाजिक संघ संस्थाहरुसँगको सहकार्यलाई जोड दिन बजेटको व्यवस्था गरेको छु ।

* उद्योग वाणिज्य संघ, स्थानीय तह कर सचेतना तथा अभिबृद्धि कार्यक्रम मार्फत कर अभियानलाई अघि बढाएको छु ।

*  बजेट तथा कार्यक्रम अब म आगामी आ.व. २०७९/०८० मा सञ्चालन गरिने प्रमुख कार्यक्रमहरू र विनियोजित बजेट विवरण प्रस्तुत गर्न अनुमति चाहान्छु ।

*  संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ९ करोड ९ लाख , सशर्त अनुदानतर्फ रु. १७ करोड १५ लाख, विशेष अनुदानतर्फ रु २ करोड ५० लाख, संघ समपूरक रु. १ करोड ६० लाख तथा राजश्व बाँडफाँडतर्फ रु. ८ करोड ८७ लाख २२ हजार अनुमानित गरी कूल रु ३९ करोड २१ लाख २२ हजार रहेको छ ।

त्यस्तै प्रदेशबाट, वित्तीय समानीकरण अनुदान अन्तर्गत रु. ७८ लाख २७ हजार, सशर्त अनुदानतर्फ रु. २ करोड ९७ लाख २६ हजार, प्रदेश सवारी रु. १ करोड ४० लाख ६८ हजार, प्रदेश विशेष रु. ७५ लाख, प्रदेश समपूरकतर्फ रु. २ करोड ५० लाख गरी कूल रु. ८ करोड ४१ लाख २१ हजार रहेको छ ।

त्यस्तै आ.व. २०७९/०८० को राजस्व आय प्रक्षेपण रु. ५७ लाख, र चालू आर्थिक वर्षको अनुमानित नगद मौजाद रु ६ करोड १५ लाख ८२ हजार रुपैया रहेको छ । आ.व. ०७९ । ०८० को कूल बजेट रु. ५४ करोड ३५ लाख २५ हजार रुपैयाँ रहेको छ जसमध्ये खर्चतर्फ संघीय सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, प्रदेश तहबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा सवारी कर, आन्तरिक आय र चालू आ.व. को मौज्दात समेत गरी जम्मा रकम रु. २६ करोड ८७ लाख ९९ हजार विनियोजन गरेको छु ।

संघबाट सशर्त अनुदानतर्फ प्राप्त रु. १७ करोड १५ लाख, संघ विशेष अनुदान २ करोड ५० लाख तथा संघ समपूरक रु.१ करोड ६० लाख तथा बाग्मती प्रदेश सरकारबाट शशर्त अनुदानतर्फ प्राप्त रु. २ करोड ९७ लाख २६ हजार, प्रदेश विशेष रु. ७५ लाख, प्रदेश समपूरकतर्फ रु. २ करोड ५० लाख रकम गरी जम्मा रु. २७ करोड ४७ लाख २६ हजार रकमलाइ तत् तत् तहबाट नै तय भइ आए बमोजिम खर्च गरिनेछ। विनियोजन गरीएको रकम मध्ये संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ गाउँपालिका तथा वडा कार्यालयको प्रोफाइल निर्माण, दिगो विकास कानूनी परामर्श सेवा, कार्यालय व्यवस्थापन सूचना प्रविधी आदि क्षेत्रको लागि रु ६ करोड ४८ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

विषय क्षेत्रगत बजेट आर्थिक विकास

वर्तमान संक्रमकालीन अवस्थालाई मध्यनजर गरी आवश्यकता अनुसार पुन कार्यपालिकाको बैठकले खर्च शिर्षक किटान गरी खर्च गर्ने गरी निम्न शिर्षकमा भैपरी आउने पुँजीगत कोष तर्फ जम्मा रु ३० लाख विनियोजन गरीएको छ ।

सम्मानित सभाका, माननीय सभाध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरु

अन्त्यमा माथि प्रस्तुत गरेको आ. व. ०७९।०८० को बजेट तयारीदेखि प्रस्तुतसम्म अहोरात्र खटी महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने गाउँपालिका अध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, विषयगत शाखाका पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा कर्मी, समाजसेवी, बुद्धिजिवी, शिक्षक नागरिक समाज, विभिन्न राजनैतिक दलका प्रतिनिधिज्यूहरु साथै यस महाभारत गाउँपालिकावासी तपाई आमा, बुबा, दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै यस आर्थिक वर्षको बजेट भाषण यही अन्त्य भएको घोषणा गर्दछु ।

सागर मोक्तान

उपाध्यक्ष महाभारत गाउँपालिका

मिति : २०७९।०३।१० धन्यवाद ।

महाभारत

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।