बनेपा । मलेसियाको राजधानी क्वालालम्पुरमा तेस्रो म्युजिक भिडियो अवार्ड हुने भएको छ । कार्यक्रमको आयोजना नेपालको संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट र मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडी मलेसियाले असारको पहिलो सातामा संयुक्त आयोजना गर्न लागेको हो ।

यसअघि दुबईमा दुई अवार्डको संस्करण सम्पन्न भइसकेकोमा यसवर्ष मलेसियाको क्वालालाम्पुरमा अवार्ड गर्न लागिएको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडीका निर्देशक विक्रमजंग शाहले बताए ।

मलेसियामा अवार्डको व्यवस्थापनको जिम्मेवारी शाह र जयराम तिमिल्सिनाले सम्हालेका छन् । शाहले यसपटक भिन्न तरिकाले अवार्ड आयोजना गर्ने पत्रकार सम्मेलनमा जनाएका छन् ।

शाहले पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार आधुनिक, लोक, पप, लोकदोहोरी, फिल्म समुह र आदिवासी तथा जनजाती गीत विधामा अवार्ड प्रदान गरिनेछ । कार्यक्रममा लामो समयदेखि नेपाली म्युजिक भिडियो क्षेत्रमा योगदान पु¥याउँदै आएका एक जनालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दिइने बताइएको छ ।

‘नेपाली म्युजिक भिडियो अवार्ड २०१८’ को लागि परेको आवेदनबाट उत्कृष्ट पाँचको मनोनयन समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

मलेसियामा आयोजना हुन लागेको ‘तेश्रो नेपाली म्यूजिक भिडियो अवार्ड’को लागि नोमिनेशन सार्वजनिक गरिएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै आयोजकले नोमिनेशन सार्वजनिक गर्दै हरेक विधाका उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीलाई प्रमाणपत्र पनि वितरण गरेको छ । ‘तेश्रो म्यूजिक भिडियो अवार्ड’मा आधुनिक, पप, लोक, राष्ट्रिय भावनाले ओतप्रोत र फिल्मी गीतहरुको विधा समावेश गरिएको छ ।

मलेसियाको एसकेएस ब्राइट भेन्चर एसडीएन बीएचडीसँगको सहकार्यमा संगिक्षा फिल्म्स्ले यो अवार्ड आयोजना गर्न लागेको हो । जुन १६ मा यो अवार्ड मलेसियामा आयोजना हुनेछ । संगिक्षा फिल्म्स्का अध्यक्ष मनोज केसीले यसपटक मलेसियामा अवार्ड विशेष हुने बताए । यो बर्षको अवार्डका लागि विभिन्न विधामा नोमिनेशनमा पर्न सफल गीत र कलाकर्मीको नाम सार्वजनिक भैसकेको छ ।

काठमाण्डौमा सम्पन्न पत्रकार सम्मेलनमा ३२ विधामा आयोजना हुन लागेको अवार्डको बारेमा जानकारी दिइएको थियो । अवार्ड जुन महिनाको १५, १६ र १७ तारिखमध्ये एक दिन हुने आयोजकले बताइएको छ ।

अवार्डको लागि मलेसियामा रहेका शाहले निकट भविष्यमा नै जापान र कोरियामा समेत यस्ता कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले त्यसको गृहकार्य भैरहेको बताउँदै केहि दिनमा नै शाह जापान र कोरिया भ्रमणमा निस्कन लागेको बताए । कलाकारिता क्षेत्रको विकास र कलकारहरुको सम्मानको लागि यस्तो कार्यक्रम गर्न लागिएको शाहले बताए ।