काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले आफ्नो नगरपालिकामा स्वास्थ्य, शिक्षा र कृषिलाई महत्व दिएको बताएका छन् । नगरपालिकाले आयोजना गरेको ‘जनताको सेवामा १०० दिन’ सार्वजनिक गर्न पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा नगर प्रमुख लामाले उक्त कुरा बताएका हुन् ।
‘मैले स्वास्थ्य, शिक्षा र कृषिलाई सबैभन्दा बढी महत्व दिएको छु । सोही अनुसार नीति तथा कार्यक्रम र बजेट ल्याएको छु ।’ पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै प्रमुख लामाले भने, ‘अब नगरमा यी सबै विषयहरु अगाडि बढ्छ ।’
करार सेवाका कर्मचारीहरुलाई अरु पालिकाले सेवा करार नथपेको तर आफूले भने सबैलाई यथावत राखेको बताए । ‘हिजो दुखमा काम गराउने तर अहिल निकाल्न मिल्दैन । अहिले पहिला कै कर्मचारी यथावत राखेको छु ।’ लामाले भने, ‘कार्य सम्पादनको मुल्यांकन चाहिँ म गर्ने छु ।’
पुरानो शिक्षकलाई सुविधा सहित विदा गर्ने योजना नगरपालिकाले बनाएको उनले जानकारी दिए । ‘शिक्षालाई आमूल परिवर्तन गर्नुपर्ने छ । त्यसको लागि अब पुरानो शिक्षकहरूलाई केही सुबिधा दिनुपर्छ र विदा दिनुपर्छ ।’ उनले भने, ‘विद्यालयमा जान समेत धौ–धौ पर्ने शिक्षकहरुलाई सुबिधा सहित बिदा दिने भनेको छु । अब निवेदन दिनुहोस् सुबिधा लिएर जनुहोस भनेको छु ।’
अघिल्लो नेतृत्वले गरेको राम्रो कामलाई आफूले निरन्तरता दिएको बताउँदै प्रमुख लामाले नराम्रो कामलाई निरंतरता नदिएको बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।