अञ्जली तामाङ
२०७२ साल बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट क्षतिग्रस्त काभ्रे जिल्लाको धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँमा रहेको श्री सेतीदेवी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । विद्यालयको नवनिर्मित भवनको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले एक समारोहका बीच आज (सोमबार) उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । २०७२ को विनाशकारी भुकम्पका कारण क्षतिपुगेका विद्यालयको पुननिर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै ब्याञ्जुले अब सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा जोड दिने बताए ।

धुलिखेल नगरपालिकाले उच्च शिक्षा अन्तर्गत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी वासिन्दालाई पुर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्याथीका लागि क्याम्पस र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाको व्यवस्था गरेको नगर प्रमुख ब्याञ्जुले जानकारी दिए ।

नेपाल सरकार र एसियाली विकास बेंकको अर्थिक सहयोगमा ६ करोड ६ लाख १९ हजार ३ सय २२ रुपैयाँ लागतमा २२ कोठा सहित तीन तल्ले विद्यालय भवन निर्माण भएको छ । विद्यालयमा पुस्तकालय, म्युजिक कक्षा, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला र प्राथमिक उपचार कक्ष, बगैंजा तथा व्यवस्थित र आकर्षक कक्षाकोठा छन । यस्तै छात्र, छात्रा, अपांगता भएका व्यक्ति तथा कर्मचारीका लागि छुट्टा छुट्टै शौचालय निर्माण गरिएको छ ।

विं सं. २०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा बाल विकासदेखी कक्षा १२ सम्म अध्यापन भइरहेको प्रधानाध्यापक धनबहादुर विष्टले जानकारी दिए । विद्यालयमा अहिले ४ सय ११ जना विद्यार्थी छन् । यसअघि विद्यालय भवन नहुँदा विद्यार्थी टहरामा बसेर पढ्न बाध्य थिए । विद्यालय भवनको शिलान्यास २०७७ मंसिर ५ गते गरिएको थियो ।

भवन उद्घाटन कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपाने, ३ नम्बर वडा अध्यक्ष गणेश आचार्य, धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख भोज कुमार ठकुरी, नेकपा एमाले नगर सचिव विष्णु धिताल काभ्रेली लगायतको उपस्थिती रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।