काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले पालिका अस्पतालमा ज्येष्ठ नागरिकहरूको स्वास्थ्य उपचार पूर्णरुपमा निःशुल्क गर्ने बताएका छन् । गाउँपालिका र वान हर्ट वल्र्डवाइडको साझेदारीमा निर्माण भएको चौरीदेउराली–६, कात्तिके देउराली स्वास्थ्य चौकीमा निर्माण गरिएको बर्थिङ सेन्टर भवनको उद्घाटन गर्दै अध्यक्ष चौंलागाईंले उक्त कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौंलागाईंले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर योजना र बजेट निर्माण गरेको बताउँदै सुत्केरी महिलाहरूको लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्था गरिएको बताए । ‘स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । गाउँपालिका भित्रका वर्थिङ सेन्टरमा सुत्केरी हुन आउँदा एम्बुलेन्स निःशुल्क व्यवस्था गरेको छ ।’ उनले भने, ‘गर्भवती महिलाको रगत लगायतका अन्य जाँचहरूको प्याकेज प्रोग्राम निःशुल्क छ । क्याल्सियम पनि निःशुल्क वितरण गर्ने नीति लिएको छ ।’
ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई घरमै पुगेर स्वास्थ्य जाँच गर्दै आएको बताउँदै उनले ज्येष्ठ नागरिकलाई पालिका अस्पतालमा पूर्ण रूपमा निःशुल्क उपचार गर्ने बताए ।
स्वास्थ्य सेवालाई गुणस्तर र प्रभावकारी बनाउन आफूहरू लागिरहेको बताउँदै अध्यक्ष चौंलागाईंले महिला तथा बालबालिकाको स्वास्थ्यलाई आफूहरूले गम्भीर रूपमा लिएको समेत बताए ।
त्यसैगरि वान हर्ट वल्र्डवाइडका कार्यकारी निर्देशक सूर्य भट्टले नेपालको ग्रामीण क्षेत्रमा आमा र बच्चाको स्वास्थ्यमा सुधार गरी बाल मृत्युदर र मातृ मृत्युदर घटाउनका लागि आफ्नो संस्थाले वर्थिङ सेन्टर निर्माणमा गाउँपालिकालाई सहयोग गरेको बताए ।
कार्यक्रममा चौंरीदेउराली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले गाउँपालिकामा ५ वटा वर्थिङ सेन्टरहरू रहेको बताउँदै सबै वर्थिङ सेन्टरमा दक्ष जनशक्तिको व्यवस्था गरी वर्थिङ सेन्टर सञ्चालनमा रहेको बताए ।
वान हर्ट वल्ड वाइड र गाउँपालिकाको साझेदारीमा स्वास्थ्य भवन निर्माण, दक्ष प्रसूतिकर्मी तालिम सञ्चालन, औषधी, औजार उपकरणहरू वितरण, सोसँग सम्बन्धित अन्य तालिमहरू सञ्चालन गर्दै आएको छ ।
कार्यक्रममा गिभ फर एसियाका डा. सुरेश तामाङ, गाउँपालिकाका निवर्तमान पालिका उपाध्यक्ष तारा चौंलागाईं, वडा नं ६ का वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष किशोर राज गिरी, वडा सचिव रोज कुमार शर्मालगायतका सहभागी थिए । कार्यक्रममा भवन निर्माणको आय व्यय विवरण स्वास्थ्य चौकी प्रमुख गङ्गालक्ष्मी रञ्जितकार र स्वास्थ्य चौकीले प्रदान गर्ने सम्पूर्ण सेवाको वारेमा अ.न.मि. सिता लामाले जानकारी दिएका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।